काठमाडौँ — नेपाल र चाइनाबीच फिल्म निर्माण, प्रवर्द्धन र बजारीकरणको सहकार्य लक्ष्य लिँदै नेपालमा पहिलो पटक 'चाइना फिल्म डे' आयोजना हुँदैछ । काठमाडौंको छायाँ सेन्टरमा अवस्थित क्यूएफएक्समा आगामी पुस २५ (जनवरी ९) मा दुई देशबीच सांस्कृतिक आदान प्रदानका लागि यो कार्यक्रम आयोजना हुन लागेको हो ।
चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न हुने कार्यक्रममा चाइनाका तीन चर्चित फिल्म देखाइनेछ । 'हर स्टोरी' देखाउँदै सुरु हुने 'चाइना फिल्म डे'कोमा 'जीफर ग्याप' र युडी झाङको मिडसमर्स भ्वाइस पनि देखाइँदैछ ।
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, प्राविधिकहरूको उपस्थिति रहनेछ । ‘चाइना फिल्म डे'ले २०२५ र त्यसपछिका दिनहरूमा नेपाल–चीन सांस्कृतिक कूटनीति र चलचित्र सहकार्यलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले गरेको छ ।
