रूल तोड्दै 'पुष्पा २: द रूल'

पुस २१, २०८१

कान्तिपुर संवाददाता

Breaking the rules 'Pushpa 2: The Rule'

काठमाडौँ — अल्लु अर्जुन र रश्मिका मंदाना अभिनीत 'पुष्पा २: द रुल'ले प्रदर्शनको ३२ औं दिनमा रेकर्डमाथि रेकर्ड थपिरहेको छ । तेलुगुमात्रै होइन हिन्दी डब फिल्मले 'पुष्पा २' प्रदर्शनको एक महिनालाई नै ब्लकबस्टर महिना सावित गर्‍यो । 

प्रदर्शनको चौथो हप्ता पनि पहिलो साताको झैं आक्रमक व्यापार फिल्मले गरिरहेको भारतीय संचारमाध्यमले उल्लेख गरेको छ । हालै निर्माण टिमले फिल्मको हिन्दी डबले कमाएको रकम सार्वजनिक गरेको छ । निर्माण टिमका अनुसार यो फिल्मले प्रदर्शनको ३१ औं दिनमा हिन्दी डबमार्फत भारतभरी भारतीय ७ सय ८५ करोड बढीको व्यापार गरेको छ । फिल्मले चाँडै ८ सय करोडको रेकर्ड बनाउने अनुमान निर्माण टिमले लगाइसकेको छ । 

यो नै पहिलो पटक हिन्दीमा डब गरिएको कुनै फिल्मले बनाएको व्यापारिक रेकर्ड हो । हरेक भाषाका भर्सनमा 'पुष्पा २'ले अहिलेसम्म १२ सय करोडभन्दा बढीको व्यापारको रेकर्ड बनाइसकेको छ । फिल्ममा अल्लुले पुष्पराजाको भूमिकामा अभिनय गरेका छन् भने अभिनेत्री रश्मिका उनकी पत्नीको भूमिकामा देखिएकी छन् ।

यो फिल्म यो पटक व्यापारमात्रै होइन अन्य कारणले पनि चर्चामा रह्‍यो । त्यो हो अभिनेता अल्लु अर्जुन जोडिएको विवाद ! फिल्मको प्रिमियरमा भएको भागदौडमा रेवथी नामको ३५ वर्षीया महिला मारिइन् भने उनको ८ वर्षको छोरा घाइते भए । यही कारणले प्रमुख अभिनेता अर्जुनलाई हिरासतमा पनि राखिएको थियो । डिसेम्बर १४ मा हिरासतबाट छुटेका उनलाई प्रहरीले तारिखमा हाजिर हुन आदेश पनि दिएका छन् ।

जे होस्, बक्स अफिस रिपोर्ट हेर्दा निर्माण टिमले व्यापारको आफ्नै नियम (रुल) बनाए झैं देखिन्छ । जुन रुललाई हरेक दिन 'पुष्पा २'ले तोडिरहेछ । संसारभरबाट यो फिल्मले १७ सय करोड बढीको व्यापार गरिसकेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully