पोस्टरमा ‘लाज शरणम्’

पुस २०, २०८१

कान्तिपुर संवाददाता

'Laj Sharanam' on the poster

काठमाडौँ — टेलिसिरिज ‘सक्किगोनी’ को कलाकार टिमले नै निर्माण गरेको फिल्म ‘लाज शरणम्’ को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले सार्वजनिक गरेका तीन पोस्टरमा फिल्मका मुख्य कलाकार अटाएका छन् ।

एक पोस्टरमा कफिनभित्र हरिश निरौला (कक्रोज), विजय बराल, सागर लम्साल (बले) र अर्जुन घिमिरे (पाँडे) छन् । यसलाई मृत्युपछि मान्छेको मनोभावनालाई परिकल्पना गरिएको छ भने अर्को पोस्टरमा हातमा तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन् ।

उसको तराजुमा यार्चा र सुनको बिस्कुट जोखिरहेको देखिन्छ । अगाडि हिमाल र त्यसको काखमा बस्ती छ । यो पोस्टरले सम्पत्तिको लोभ र बाध्यतामा मान्छे कसरी मृत्युसम्म पुगिरहेको छ भन्ने बुझ्न सकिन्छ । सार्वजनिक गरिएको तेस्रो पोस्टरमा भने कलाकारद्वय हरिश र विजय छन् । हरिशको ढाडमा बसेर विजयले मान्छेको हड्डीको शंख फुकिरहेको देखिन्छ । 

गम्भीर विषयलाई रमाइलो तरिकाले भन्न खोजिएको ‘लाज शरणम्’ का पोस्टरले छनक दिन्छन् । तर, प्रस्ट रूपमा कथा भने खुलाइएको छैन । पोस्टरले सिनेमाप्रतिको कौतुहलता बढाइदिएको छ । प्रतीक्षितमध्येमा पर्ने ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ देखि प्रदर्शनमा आउँदै छ । फिल्मलाई कुमार कट्टेल (जिग्री ब्रो) ले निर्देशन गरेका हुन् । फिल्म निर्देशनमा यो नै उनको पहिलो पनि हो ।

'Laj Sharanam' on the poster

विजय, हरि र सागरसहित फिल्ममा मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बू, अर्जुन घिमिरे (पाँडे), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ । फिल्मलाई सुदीप बरालले खिचेका हुन् ।

कान्तिपुर

Link copied successfully