प्रमोदसँगै झुम्यो खाम्दिम्बे

पुस १९, २०८१

आनन्द गौतम

Khamdimbe swooned with joy

ताप्लेजुङ — अंग्रेजी नयाँ वर्षको अवसर पारेर सदरमुकाम फुङलिङबाट पाँचथरको गणेशचोक हुँदै करिब पाँच घण्टामा यात्रा गरेर गायक प्रमोद खरेल जब खाम्दिम्बे बजार पुगे, उनकै गीतमा रम्न सयौंको संख्यामा दर्शक जम्मा भए । काबेली नदीनजिकै रहेको बजारमा आयोजित कार्यक्रममा पाँचथर र तेह्रथुमबाट समेत दर्शक आएका थिए । 

‘आई लभ यु ताप्लेजुङ, नाच्न सबै जना रेडी हो ?’ भन्दै मञ्च चढेका प्रमोदले ‘हंगामा भो’, ‘झुमा झुम्कावाली’, ‘मेरो दिल छ पोखरामा’ लगायतका दर्जनभन्दा बढी गीत गाए । गीत गाउने क्रममा उनले ताप्लेजुङका पर्यटकीय क्षेत्रको प्रचार बढाउनुपर्नेमा जोड दिए ।

प्रमोदको प्रस्तुति पूरै हेरेका सिरिजंघा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानले भने, ‘म पहिलेदेखि नै उनको फ्यान हुँ । उमेर बढ्दै जाँदा पनि उनमा जोसजाँगर उस्तै रहेछ ।’ कार्यक्रममा कुशल थलङ, दीपा सुहाङ, प्रीतिका बेघालगायतका कलाकारले गीत गाएका थिए । 

खाम्दिम्बेमा स्थानीय युवाले हरेक वर्ष पुसमा संघीय मेला लगाउँदै आएका छन् । त्यही सन्दर्भमा सांगीतिक कार्यक्रम पनि आयोजना गरेर कलाकारलाई निमन्त्रणा गरिएको हो । नेपालमा संघीयता आएको खुसियालीमा स्थानीयले रकम संकलन गरेर मेला लगाउने गरेको आयोजक समितिका अध्यक्ष उमेश अधिकारीले बताए ।

‘यसका दुई वटा फाइदा छन् । एकातिर गाउँको बजार चलायमान हुन्छ, लाखौंको कारोबार हुन्छ,’ उनले भने, ‘अर्कातिर कञ्चनजंघा हिमाल जाने मार्ग भएकाले यहाँको प्रचारप्रसार पनि हुन्छ ।’ मेलाका लागि देश–विदेशबाट सहयोग प्राप्त हुने गरेको उनले जानकारी दिए । पाँचथरको याङवरक गाउँपालिकासँग जोडिएकाले दुवै जिल्लालाई मेलाले लाभ पुर्‍याउने उनको भनाइ छ । 

तीन दिनसम्म चल्ने मेलामा भलिबल प्रतियोगिता पनि गराइन्छ । ‘व्यवस्थापन निकै चुनौतीपूर्ण भए पनि १६ वर्षदेखि निरन्तर कार्यक्रम भइरहनु नै महत्त्वपूर्ण छ । हजारौं दर्शक भेला हुने मेलामा झैझगडा पनि अहिलेसम्म भएको छैन,’ आयोजक समितिका सल्लाहकार रक्की थेबेले भने । 

अलैंची, अम्रिसोलगायतका कृषि उपजको संकलन केन्द्रका रूपमा रहेको खाम्दिम्बे बजार फुङलिङ नगरपालिका र दोभानपछिको जिल्लाको तेस्रो ठूलो व्यापारिक केन्द्र हो । यहाँ मेला लगाउन गाउँपालिकाले पनि सहयोग दिने गरेको पालिका अध्यक्ष चौहानले बताए ।

जिल्लाका अन्य क्षेत्रमा खाम्दिम्बेमै जसरी मेला लगाउने गरिएको छ । पुस पहिलो साता मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकाको पुसे मेलामा गायक राजु लामा, तेल्लोकको सिरिजंघा मेलामा राजेशपायल राई, सिनामको चासोक तङनाम मेलामा छेवाङ लामालगायतका कलाकारले प्रस्तुति दिएका थिए । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully