सपुतले ‘गलबन्दी’ लगायत गीत गाएका थिए, उनलाई स्थानीय कलाकारले साथ दिएका थिए
बागलुङ — बागलुङ नगरपालिका–१४ बलेवाको ‘द क्लिफ’ मा मंगलबार ‘न्यु इयर इभ’ कार्यक्रम भएको छ । कार्यक्रममा गायक प्रकाश सपुतको प्रस्तुति थियो । सपुतले आफ्नो ‘गलबन्दी च्यातियो’ गीत गाउँदा सयौं दर्शकले साथ दिएका थिए ।
उनले आफ्ना अन्य चर्चित गीतहरू ‘फूलमाया’, ‘कुरा बुझ्नुपर्छ’ लगायत गाएका थिए ।
कार्यक्रममा फायर डान्ससहित अन्य स्थानीय कलाकारको प्रस्तुतिसमेत थियो । द क्लिफका अध्यक्ष राजु कार्कीले साँझ ६ बजे सुरु भएको कार्यक्रम राति १२ बजे नयाँ वर्षको स्वागत गरेर मात्र समापन गरिएको बताए । द क्लिफ बन्जीजम्पजस्ता साहसिक खेलका लागि प्रख्यात छ । कालीगण्डकी नदीमाथि बनेको बन्जीले पर्वत सदरमुकाम कुश्मा बजार र बागलुङको बलेवा पर्यटकीय गन्तव्य बनेको छ ।
यहाँ तीन दिनदेखि सडक खाना महोत्सव पनि आयोजना गरिएको छ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान पर्वतले आयोजना गरेको महोत्सवमा सहभागीको भीड लागेको थियो । बन्जी छेवैको सडकमा आयोजित महोत्सवमा लोकदोहोरीका कलाकारहरू पनि सहभागी भएको प्रतिष्ठानकी अध्यक्ष पूजा शर्माले बताइन् ।
