काठमाडौँ — आगामी माघ १६ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर’ ले सोमबार मोसन पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका मुख्य कलाकारहरू प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालालाई प्रस्तुत गरिएको छ ।
विजय बस्यालले डिजाइन गरेको पोस्टरले फिल्मको कथा र चरित्रलाई चित्रण गराउने प्रयास रहेको निर्देशक राजन भुसालले बताए ।
सार्वजनिक पोस्टरले ‘एक्टर’ पात्रको भावनात्मक सम्बन्धमा केन्द्रित रहेको छनक दिएको छ । जहाँ अभिनेता खड्काको चरित्र चोटग्रस्त अनुहारमा प्रस्तुत छन् । यसअघि पनि ‘एक्टर’ बाट
खड्काको विभिन्न चरित्र तस्बिर सार्वजनिक गरिएको थियो । यसै फिल्मबाट अभिनेता कोइराला एक दशकपछि नेपाली फिल्ममा ‘कमब्याक’ गर्दै छन् भने रायमाझीले ‘डेब्यु’ गर्दै छिन् । उनी अभिनेता दिलीप रायमाझीकी छोरी हुन् । यस फिल्मको पटकथा निर्देशन भुसालले आकाश बरालसँग मिलेर तयार पारेका हुन् । ‘एक्टर’ लाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठको रहेको छ । संगीत हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीले दिएका छन् ।
