काठमाडौँ — लोकप्रिय ब्यान्ड कन्दराले अंग्रेजी नयाँ वर्षको अवसरमा संसारका विभिन्न देशहरुमा प्रस्तुति दिने तयारी थालेको छ । त्यसअन्तर्गत ब्यान्डको पहिलो यात्रा बेलायतको लन्डनस्थित द ओटुबाट सुरु हुने जनाइएको छ ।
युरोपका विभिन्न सहरबाट स्रोताहरु आफूलाई मन परेका संगीत सर्जकलाई प्रत्यक्ष हेर्न, सुन्न आउने स्थान हो, ओटु । लेड जेप्लिन, एल्टन जोन, लिंकिन पार्क, प्रिन्स, सानिया ट्वैन, म्याडोना, डेभिडोलगायत विश्वचर्चित भारतीय संगीतकार एआर रहमानले समेत प्रस्तुति दिएको यो ठाउँमा यसअघि नेपाली गायक सज्जनराज वैद्य गुन्जिएका थिए । ब्यान्डका हिसाबले कन्दरा नै पहिलो रहेको विवेकको दाबी छ ।
'नयाँ वर्षमा कुनै पनि संगीत सर्जकका लागि ड्रिम भेन्यू ओटुबाट हाम्रो अन्तर्राष्ट्रिय सांगीतिक टुर गर्न पाउनु खुसीको कुरा हो । बेलायतमा कन्दराकै पहिलो कन्सर्ट ओटुबाट सुरु हुन लागेकोले हामी कन्दराका सबै साथीहरु उत्साहित छौं,'विवेकले भने । विवेकका अनुसार बेलायतपछि ब्यान्डले दुबई, कतार र हङकङमा कन्सर्ट गर्नेछ ।
अंग्रेजी नयाँ वर्षकै छेकोमा यो ब्यान्डले 'द सङ अफ होप' बोलको गीत सार्वजनिक गर्दैछ । यसअघि ब्यान्डले 'विचरा म' बोलको गीत सार्वजनिक गरेको थियो । गत कात्तिक २४ गते ठमेलस्थित एलओडी क्लबमा ब्याण्डले 'पहिला घरदेश अनि परदेश' थिममा सांगीतिक प्रस्तुति दिएको थियो ।
ब्यान्डका ड्रमर सुनिल थापाले 'द सङ अफ होप'को शब्द तथा संगीत तयार पारेका हुन् । गीतलाई आशा र प्रेरणा दिने सन्देशका रूपमा प्रस्तुत गर्न लागिएको ब्यान्डको दाबी छ । मेलोडी र मिठासले भरिएको अर्थपूर्ण गीत गाउने कन्दराले आफ्नो स्थापनाको तीन दशकलाई विशेष उत्सवका रुपमा मनाउने घोषणासहित गण्डकी, कोशी र वाग्मती प्रदेशमा सफलताका साथ कन्सर्ट प्रस्तुत गरिसकेको छ ।
ब्यान्डमा विवेकसँगै ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन्। सुनिल थापा ब्याण्डका स्थापना कालदेखिका सदस्य हुन् ।
