दक्षिण अस्ट्रेलियामा सत्य–स्वरूप साँझ

पुस १२, २०८१

कान्तिपुर संवाददाता

A true-to-life evening in South Australia

अस्ट्रेलिया — अस्ट्रेलियाका विभिन्न सहरमा आयोजना हुने सांगीतिक यात्रामा निस्किएका गायकद्वय सत्यराज तथा स्वरूपराज आचार्यले दक्षिण अस्ट्रेलियामा पनि सांगितिक प्रस्तुति दिने भएका छन् । कार्यक्रमका लागि दुई गायक दक्षिण अस्ट्रेलियाको एडिलेड आइपुगेका छन् । 

उनीहरूले अस्ट्रेलियाका सिड्नी, ब्रिसबन, गोल्डकोस्टलगायतका सहरमा आफ्नो सांगीतिक प्रस्तुति दिइसकेका छन् । उनीहरूको मेलोडी र सदावहार संगीतलाई यहाँका दर्शकले मन पराएका छन् । कार्यक्रमकै सिलसिलामा उनीहरूले दक्षिण अस्ट्रेलियामा भोलि शनिबार प्रस्तुति दिने भएका हुन् ।

अन्तर्राष्ट्रिय कलाकार समाजले आयोजना गरेको कार्यक्रम स्थानीय उडभिलस्थित टाउनहलमा आयोजना गरिनेछ । आयोजक संस्थाका अध्यक्ष मिलन दहालका अनुसार स्व. भजनशिरोमणि भक्तराज आचार्यको सम्मानमा हुन लागेको यस कार्यक्रममा उल्लेख्य संख्यामा दर्शक सहभागी हुने बताए ।

शुक्रबार बिहान एडिलेड आइपुगेका उनीहरूले विदेशमा नेपाली संगीत र कलाकारलाई दिएको माया अविश्वनीय रहेको बताए । आफूलाई अस्ट्रेलियाका दर्शक तथा स्रोतासँग फरक किसिमको सम्बन्ध र लगाव भएकाले अस्ट्रेलियामा आयोजना हुने कार्यक्रम विशेष हुने सुनाए । सांगीतिक कार्यक्रममा गायकद्वयले आफ्ना नयाँ, पुराना गीतका साथै आफ्ना बुवा भजनशिरोमणि भक्तराज आचार्यका गीतसमेत दर्शकलाई सुनाउनेछन् । 

कान्तिपुर

Link copied successfully