श्याम बेनेगल : समानान्तर फिल्मका प्रणेता

पुस ११, २०८१

कान्तिपुर संवाददाता

Shyam Benegal: Pioneer of parallel films

काठमाडौँ — उनीहरू को हुन् ? लामो यात्रा तय गरेर भारतबाट फ्रान्ससम्म किन पुगे ? कसैलाई हेक्का थिएन ! कसैलाई चासो पनि थिएन ! तर, जब स्मिता पाटिल र शबाना आजमी दक्षिण भारतीय सारीमा सजिएर फ्रेन्च रिभरियातिर हिँड्न थाले तब सबैको ध्यान तानियो ।

त्यो बिहान विश्व सिनेमाले उनीहरूलाई हेरेर भन्यो,'कान्स आइपुगे, देसीहरू' । यो सन् १९७६ को कुरा हो । श्याम बेनेगलको फिल्म 'निशान्त' त्यतिबेला प्रतिष्ठित फिल्म फेस्टिभल कान्समा छानिएको थियो । 'अंकुर'मार्फत भारतीय सिनेमा उद्योगमा समानान्तर (फरक/नयाँ) धारको बीउ रोपेका बेनेगलका लागि यो कान्सजस्तो अन्तर्राष्ट्रिय महोत्सवमा महत्त्वपूर्ण घडी थियो । त्यतिबेला फिल्म महोत्सव खास अर्थमा महोत्सव नै हुन्थ्यो, त्यहाँ कुनै फेसन परेड हुन्थेन । 

तर, आफूहरूसँग फिल्म प्रचारको अरु कुनै उपाय नरहेपछि निर्देशक बेनेगलले दुई अभिनेत्रीहरूलाई सारीको पहिरनमा परेड गर्न लगाएका थिए । 'म चाहन्छु तिमीहरू दुवैले एकदमै राम्रो साउथ इन्डियन सारी लगाउनु । बिहानको ८ बजेदेखि त्यही सारीमा हिँड्न थाल्नु,'बेनेगलले त्यतिबेला भनेका कुरा शबानाले एक अन्तर्वार्तामा हालै भनेकी थिइन् । समुन्द्रको छेउमा सबैजना 'बिचवेयर'मा देखिन्थे, तर स्मिता र शबाना शिल्क सारीमा ! जब-जब मानिसहरूको ध्यान उनीहरूतिर तानिन्थ्यो, दुई भन्ने गर्थे,'हाम्रो फिल्म निशान्त फलानो समयमा फलानो समयमा प्रदर्शन हुँदैछ । हेर्न आउनु है' । उनीहरूले यसरी हिँडेरै फिल्मको प्रचार गरे, हलमा दर्शकको अभाव भएन । 

समानान्तर फिल्मका प्रणेता बेनेगलको विज्ञापन गर्ने यो शैली निकै असमान्य देखिन्थ्यो । अहिले पनि स्मिता र शबाना निर्देशक बेनेगलको यो अद्वितीय विज्ञापन शैलीको सम्झना गर्छन् । बेनेगल कुनै बेला विज्ञापन संस्थामा कपिराइटरको काम गर्थे । त्यहीँ काम गर्दा नै बेनेगलले फिल्मप्रति आफ्नो झुकाव बुझे र फिल्म निर्माणमा लागे ।

तेलंगानामा जन्मिएका बेनेगलको हुर्काइ नै फिल्मकै वरपर थियो । उनका पिता स्टिल फोटोग्राफर थिए, पछि लघु फिल्म पनि बनाए । वरिष्ठ फिल्मकर्मी गुरु दत्त उनका काकाका छोरा ! हैदराबादको ओसमानिया युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका बेनेगल, गुरु दत्तको सहायक भएर काम गर्ने सोचसहित मुम्बई पुगे । तर, सहायक भएर काम गरेनन् । आफ्नै आइडियाहरूमाथि फिल्म बनाए । 

बेनेगलले जातीय संघर्ष, महिला मुद्दा, समुदायका बहुआयाम, वर्गीय खाडल उठाउँदै महत्त्वपूर्ण मुद्दाहरूमा फिल्म बनाए । रियलिज्म र सोसल कमेन्ट्री विधाहरूमा फिल्म बनाएका उनका फिल्मले सन् १९७० र १९८० को दशकबीचमा भारतमा समानान्तर फिल्म अभियान सुरु गरेको हो । त्यतिबेला कतिले बेनेगललाई मध्यमार्गी फिल्मकर्मीका रूपमा चर्चा गर्थे । तर, उनलाई यो शब्द कहिल्यै मन परेन । आफ्नो फिल्मलाई फरक धारको भन्न उनी रुचाउँथे । ‍थुप्रै राष्ट्रिय अवार्डहरू उचालेका बेनेगले निशान्त र अंकुरसँगै 'भूमिका', 'जुनून', 'आरोहन', 'नेताजी सुवासचन्द्र बोस: द फर्गटन हिरो','मन्थन'लगायतका फिल्महरूनिर्देशन गरे ।

बलिउडका अहिलेका स्थापित अनुहारहरूलाई यीनै फिल्महरूबाट निर्देशक बेनेगलले ब्रेक दिएका हुन् । 'अंकुर'बाट शबाना र अनन्त नागलाई उनले विश्वमा चिनाए । 'अंकुर', 'निशान्त', 'मन्थन' र 'भूमिका'जस्ता फिल्मले नै भारतमा नयाँ फिल्ममेकिङको युग सुरु गरेको थियो । ७० को दशकमा बेनेगलले नै शबाना, स्मिता पाटिल, नसिरुद्दीन शाह, ओम पुरी, नीना गुप्तालगायतका कलाकारहरू भारतीय फिल्म उद्योगमा दिएको थियो । भारतमा नयाँ फिल्म निर्माणको धार सुरु गरेका उनै बेनेगल ९० वर्षको उमेरमा पुस ८ मा यो संसारबाट बिदा भए । 

कान्तिपुर

Link copied successfully