ओपेनहाइमर निर्देशक क्रिस्टोफर नोलानलाई नाइटहुड सम्मान, बने 'सर' क्रिस्टोफर नोलान

पुस ४, २०८१

कान्तिपुर संवाददाता

Oppenheimer honors director Christopher Nolan with a knighthood, becoming 'Sir' Christopher Nolan

काठमाडौँ — प्रख्यात निर्देशक क्रिस्टोफर नोलान र उनकी पत्नी एवं निर्माता एमा थमसलाई फिल्म क्षेत्रमा उनीहरूको योगदानका लागि ‘ब्रिटिस नाइटहुड’ र ‘डेमहुड’ उपाधि दिइएको छ । बेलायत सरकारको यो प्रतिष्ठित सम्मानपछि नोलानको नामको अगाडि अब ‘सर’ उपाधि जोडिने भएको छ भने थमसको नामको अगाडी 'डेम' लेखिनेछ ।

बुधबार बकिंङ्महम प्यालेसमा आयोजित समारोहमा राजा चार्ल्स तृतीयले नोलान दम्पतीलाई बेलायती परम्पराअनुसार 'डबिङ' लगायत रीतिरिवाजपश्चात मेडल हस्तान्तरण गरेका थिए । नोलानले ‘परमाणु बमका पिता’ भनिने जे रोबर्ट ओपेनहाइमरको जीवनमा आधारित ‘ओपेनहाइमर’ फिल्म बनाएर गत वर्ष अस्कार अवार्ड जितेका थिए । ओपेनहाइमरले सर्वोत्कृष्ट फिल्म र सर्वोत्कृष्ट निर्देशकसहित सातवटा विधामा अस्कार अवार्ड प्राप्त गरेको थियो ।

ब्रिटिस नाइटहुड सम्मान पाएकोमा निर्देशक नोलानले आभार प्रकट गरेका छन् । राजा चार्ल्ससँग भेट्न पाउँदा असाध्यै रमाइलो लागेको पनि उनले बताएका छन् । यो सम्मान बेलायती सम्राटले विभिन्न क्षेत्रमा कृयाशील व्यक्तिहरूलाई व्यक्तिगत रूपमै प्रदान गर्दै आएका छन् । पछिल्लो समय क्यान्सर रोगको उपचार गराइरहेका राजा चार्ल्स शाही कार्यक्रमहरूमा उपस्थित हुँदैन थिए । नोलान दम्पतीलाई सम्मानित गर्ने समारोहमा भने उनी शाही पोसाकमा आएका थिए । उनले नोलान दम्पतीको कामको प्रशंसा गरेका थिए ।

नोलानले ‘इन्टरस्टेलर’, ‘द डार्क नाइट’, ‘इन्सेप्सन’, ‘डनकर्क’, ‘मेमेन्टो’, ‘इन्सोम्निया’ जस्ता बहुचर्चित फिल्म निर्देशन गरेका छन् । फिल्ममा 'नन-लिनियर' शैलीमा कथा प्रस्तुत गर्ने र सकेसम्म कम्प्युटर जेनेरेटेड इमेजहरू नराख्ने उनको प्रवृत्ति छ । बेलायतको राजधानी लन्डनमा जन्मिएका नोलानले सन् १९९७ मा एमा थमससँग विवाह गरेका थिए । त्यसयता दुईले फिल्म निर्माणमासमेत अटुट सहकार्य गर्दै आएका छन् ।

यसअघि संगीतकार इल्टन जोन, जीव विज्ञानका इतिहासकार एवं सञ्चारकर्मी डेभिड एटनबरो, धावक मो फराह, अभिनेता प्याट्रिक स्टेवार्ट, बिटल्सका पल म्याकर्ट्नी, अभिनेत्री एन्जेलिना जोलीलगायतलाई बेलायतको राजसंस्थाले नाइटहुड र डेमहुड अवार्डबाट सम्मान गरेको थियो ।      

कान्तिपुर संवाददाता

Link copied successfully