मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ अस्कर दौडबाट बाहिर
काठमाडौँ — ‘द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्स’ (अस्कर)ले अन्तर्राष्ट्रिय फिचर विधामा ‘सर्टलिस्ट’मा परेका १५ फिल्मको सूची सार्वजनिक गरेको छ । यो वर्ष नेपालबाट सिफारिस भएको मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ भने अस्करको दौडबाट बाहिरिएको छ ।
यो फिल्म बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको प्रमुख विधातर्फ छनोट हुने पहिलो नेपाली फिल्म हो । त्यस्तै भारतबाट अस्करका लागि सिफारिस भएको किरण राव निर्देशित फिल्म ‘लापत्ता लेडिज्’पनि ‘सर्टलिस्ट’मा परेन । यी हुन् अन्तर्राष्ट्रिय फिचर फिल्मको विधामा ‘सर्टलिस्ट’मा परेका १५ वटा फिल्म ।
आइएम स्टिल हेयर (ब्राजिल)
राजनीतिक जीवनीमा आधारित यो फिल्मलाई वाल्टर सालेसले निर्देशन गरेका छन् । यो फिल्म मार्केलो रुबेंस पैइभाको २०१५मा प्रकाशित पुस्तक ‘आइन्दो इस्टो आकी’मा आधारित छ । यो फिल्मले १९७१ को ब्राजिलको सैनिक शासनकालको घटनाबारे बताउँछ । फिल्ममा फर्नान्डा टोरेसले एउनीस पैइभाको भूमिका निभाएकी छन्, जो बेपत्ता पतिको खोजीमा हुन्छिन् ।
फिल्मले भेनेजिया अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रिमियर हुँदा निकै प्रशंसा प्राप्त गर्यो । फिल्ममा अभिनेत्री फर्नान्डा टोरेसको अभिनयले निकै तारिफ पायो । ब्राजिलमा ७ नोभेम्बर २०२४ मा रिलिज भएको यो फिल्मको बक्स अफिस कलेक्सन १०.१ मिलियन डलरको थियो ।
युनिभर्सल ल्यांग्वेज (क्यानडा)
फिल्म ‘युनिभर्सल ल्यांग्वेज’ सन् २०२४ को क्यानडियन कमेडी–ड्रामा हो । जसलाई म्याथ्यु र्यांकिनले निर्देशन गरेका छन् । फिल्मले तीन अनौठा कथाहरूलाई जोड्छ । यो फिल्मको प्रिमियर २०२४ को ७७औं क्यान्स फिल्म फेस्टभलमा १८ मेमा भएको थियो । यसलाई ४९औं टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि प्रदर्शन गरिएको थियो । फिल्मले क्यान्स फिल्म महोत्सवमा अडियन्स अवार्ड र मेलबर्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि उत्कृष्ट अवार्ड जित्यो ।
वेभ्स (चेक रिपब्लिक)
‘वेभ्स’०२४ को ऐतिहासिक थ्रिलर ड्रामा फिल्म हो । यसलाई जिरी मादीले निर्देशन गरेका छन् । यो फिल्म प्राग स्प्रिंग र त्यसपछिको चेकोस्लोवाकिया अतिक्रमणको समयमा सेट गरिएको छ । यो फिल्मको विश्व प्रिमियर ‘कार्लोवी भेरी इन्टरनेसनल फिल्म फेस्टिभल’मा भएको थियो । फिल्मले फेस्टिभलमा अडियन्स अवार्ड जितेको थियो । फिल्मको कथा चेकोस्लोवाक रेडियोको इन्टरनेसनल लाइफ सम्पादकीय कार्यालयमा आधारित छ ।
द गर्ल विथ द निडल (डेनमार्क)
यो फिल्म सन् ०२४ को ऐतिहासिक साइकोलजिकल फिल्म हो । यसको निर्देशन म्याग्नस भोन होर्नले गरेका छन् । यो फिल्म डेनमार्ककी सिरियल किलर डगमार ओवरबायको वास्तविक घटनामा आधारित छ । जसले गरिब आमाहरूबाट बच्चाहरूलाई अपनाउन ल्याउने र हत्या गर्ने काम गरिन् ।
फिल्मको कथा सन् १९२१ मा डेनमार्कमा घटेको घटनामा आधारित छ । यो फिल्मको प्रिमियर २०२४ को क्यान्स फिल्म फेस्टिभलमा भएको थियो ।
इमिलिया पेरेज (फ्रान्स)
इमिलिया पेरेज एक फ्रेन्च कमेडी फिल्म हो । जसको लेखन र निर्देशन जाक्स आडियार्डले गरेका हुन् । यो फिल्म २०१८ मा प्रकाशित बोरिस राजोनको ‘इकुट’ उपन्यासमा आधारित छ । एक शक्तिशाली नेताले लिङ्ग परिवर्तन गर्नका लागि आफ्नो वकिललाई मद्दत गर्न आग्रह गर्छन् । यही कथामा फिल्म केन्द्रित छ । फिल्ममा जोई साल्डान्या, कार्ला सोफिया गास्कोन, सेलेना गोमेज, एड्रियाना पाज, मार्क इवानिर र एड्गर रामिरेज प्रमुख भूमिकामा छन् ।
फिल्म १८ मे २०२४ मा क्यान फिल्म महोत्सवमा प्रिमियर भएको थियो । यो फिल्म २१ अगस्ट, २०२४ मा रिलिज गरिएको थियो । फिल्मले सकारात्मक समीक्षाहरू प्राप्त गरेको थियो ।
द सिड अफ द सेक्रेड फिग (जर्मनी)
यो फिल्म एक राजनीतिक थ्रिलर फिल्म हो । जसलाई इरानी निर्देशक मोहम्मद रासुलोफले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा एक इन्भेस्टिगेटिङ जजको कथा छ । जो तेहरानको क्रान्तिकारी अदालतमा काम गर्दै छन् । फिल्ममा वास्तविक इरानी विरोधका दृश्यहरू पनि समावेश छ । जसलाई इरानी सरकारद्वारा बलपूर्वक दमन गरिएको थियो । फिल्मको कथाले जज र उनको परिवारको अनिश्चितता र तनावलाई चित्रण गर्छ । यो फिल्म २४ मे २०२४ मा क्यान्स फिल्म फेस्टिवलमा प्रिमियर भएको थियो ।
टच (आइसल्यान्ड)
‘टच’ २०२४ को रोमान्टिक ड्रामा फिल्म हो । यसलाई बाल्टासार कोर्माकुरले निर्देशन गरेका छन् । यो फिल्म ओलाफुर जोहान ओलाफसनको २०२२ मा प्रकाशित उपन्यासमा आधारित छ । फिल्ममा क्रिस्टोफर नामक एक आइसल्यान्डेली युवकको प्रेमकथा छ । जो लन्डन स्कुल अफ इकोनोमिक्समा पढ्नका लागि जान्छन् । त्यहाँ उनले जापानी रेस्टुरेन्टका मालिक ताकाहाशी र उनकी छोरी मिकोसँग भेट्छन् र प्रेम सम्बन्ध गाँस्छन् । कथामा ५० वर्षपछि क्रिस्टोफर आइसल्यान्ड फर्किन्छन् र आफ्नो पुरानो प्रेम मिकोको खोजीमा निस्कन्छन् ।
निक्याप (आयरल्यान्ड)
‘निक्याप’ एक कमेडी ड्रामा हो । यसको लेखन र निर्देशन रिच पेपियाटले गरेका हुन् । फिल्मले उत्तरी आयरल्यान्डका एक आयरिश हिप–हप समूह निक्यापको उदयलाई चित्रण गर्छ । यसमा उक्त समूहका सदस्यहरूले आफैं अभिनय गरेका छन् । कथामा, लियम ओ हन्नाइध र नायस ओ कायराल्लाइन २०१० को दशकको अन्त्यमा बेलफास्टमा बसोबास गर्छन् । उनीहरूले आयरिश भाषा सिकेका हुन्छन् । एक दिन लियमले जेजे डोचार्टाइसँग मिलेर आयरिश भाषामा हिप–हप समूह सुरु गर्छन् । यो समूहले आफ्नो संगीतमार्फत राजनीतिक सन्देश र आयरिश भाषालाई प्रोत्साहन गर्छ । जसले गर्दा उनीहरू विवादमा पर्छन् र रिपब्लिकन समूहबाट धम्की खान्छन् । फिल्मले आयरिश सांस्कृतिक संघर्ष, भाषिक पहिचान र युवा वर्गको राजनीतिक चेतनालाई उजागर गर्छ ।
वर्मिग्लियो (इटाली)
वर्मिग्लियो (२०२४) इटालियन ड्रामा फिल्म हो । जसको निर्देशन, लेखन र सहउत्पादन माउरा डेलपेरोले गरेकी हुन् । यो फिल्म ८१औं भेनेसिया अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रिमियर भएको थियो । यो फिल्म १९४४को वर्मिग्लियो गाउँको कथामा आधारित छ, जहाँ एक पलायन भएको सैनिक, पिएट्रोको स्थानीय शिक्षकको परिवारमा पुग्छन् । उनी शिक्षकको जेठी छोरीसँग प्रेममा पर्छन् । यो सम्बन्धले सबैको जीवनमा गहिरो असर पार्दछ ।
फ्लो (लात्भिया)
‘फ्लो’ एक एनिमेटेड फ्यान्टासी फिल्म हो । यसलाई गिन्ट्स जिलबालोडिसले निर्देशन गरेका छन् । यो फिल्ममा कुनै संवाद छैन । फिल्मले ०२४ को क्यान्स फिल्म महोत्सवमा प्रिमियर हुँदा धेरै वाहवाही पाएको थियो । फिल्मले युरोपियन फिल्म अवार्ड्स, न्युयोर्क फिल्म क्रिटिक्स सर्कल अवार्ड्स र लस एन्जलस फिल्म क्रिटिक्स एसोसिएसन अवार्ड्ससमेत प्राप्त गर्यो ।
फिल्म एक बिरालोको यात्रामाथि आधारित छ । जसलाई कुकुरको झुन्डले पछ्याउँछ र विभिन्न साहसिक घटनाहरूमा बिरालो संलग्न हुन्छ । फिल्मले जीवन र मृत्यु, मित्रता र अस्तित्वको विषयमा गहिरो दर्शन भन्छ ।
आर्मन्ड (नर्वे)
‘आर्मन्ड’ नर्वेजियन निर्देशक हाफ्डन उल्मान टोन्डेल निर्देशित थ्रिलर ड्रामा फिल्म हो । यो उल्मानको पहिलो फिचर फिल्म हो । फिल्मलाई ०२४ को क्यान्स फिल्म महोत्सवमा विश्व प्रिमियर गरिएको थियो । यसले उत्कृष्ट पहिलो फिचर फिल्मको अवार्ड पनि जित्यो । यो फिल्म नर्वेमा २७ सेप्टेम्बर २०२४ मा रिलिज भएको थियो ।
यो फिल्ममा ६ वर्षका केटाहरू बीचको विवादबारे छ । विवादपछि अभिभावक र विद्यालयका कर्मचारीलाई समाधानका लागि बोलाइन्छ । यो फिल्मले मानसिक तथा भावनात्मक द्वन्द्व र सामाजिक परिप्रेक्ष्यका विषयहरूलाई सम्बोधन गर्दछ ।
फ्रम ग्राउन्ड जिरो (प्यालेस्टाइन)
‘फ्रम ग्राउन्ड जिरो’ एक एन्थोलोजी फिल्म हो । जसमा २२ जना फिलिस्तिनी निर्देशकहरूले निर्देशन गरेका २२ छोटो फिल्महरू छन् । यी फिल्महरूले गाजा क्षेत्रको वर्तमान अवस्थाबारे, इजरायल–हामास युद्धको बीचमा मानिसहरूको संघर्ष र अनुभवलाई समेटेका छन् । फिल्ममा वृत्तचित्र, कथा, एनिमेसन र प्रायोगिक फिल्महरू समावेश छन् ।
फिल्मलाई गाजा क्षेत्रका विभिन्न स्थानमा २०२३ को अन्त्यतिर छायांकन गरिएको थियो । यसलाई विश्व प्रिमियर ५ जुलाई २०२४ मा ५औं अमन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा गरिएको थियो । यो फिल्म २०२४ को ४९औं टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सव र १७ औं टोरन्टो फिलिस्तिनी फिल्म महोत्सवमा पनि प्रदर्शन गरिएको थियो ।
दाहोमे (सेनेगल)
‘दाहोमे’ एक डकुमेन्ट्री फिल्म हो । जसलाई मति दिओपले निर्देशन गरेका छन् । यो फिल्म ऐतिहासिक शाही कलाकृतिहरूका बारेमा छ । जुन दाहोमे राज्य (आजको बेनिन) बाट फ्रान्समा लिइएका थिए र पछि फ्रान्सले ती कलाकृतिहरू बेनिनलाई फिर्ता गरे । फिल्मले यस घटनाको पुनरावलोकन गर्दै, कलाकृतिहरूको पुनःप्राप्तिका बारेमा भन्छ ।
फिल्मको प्रमुख पात्र बनाइएको मूर्तिहरूको आवाज माकन्जी ओरसेलले लेखेका हुन् । यसको विश्व प्रिमियर बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवको मुख्य प्रतिस्पर्धा वर्गमा १८ फेब्रुअरी ०२४ मा भएको थियो, जहाँ यसले गोल्डन बेयर पुरस्कार जितेको हो ।
हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज (थाइल्यान्ड)
यो थाई कमेडी–ड्रामा फिल्म हो । यो फिल्म पट बुननितिपतद्वारा निर्देशित र थोड्सापोन थिप्टिन्नाकोर्न र पट बुननितिपतद्वारा लेखिएको हो । यसमा पुथिपंग असरतानाकुल र उषा सिमखुमको अभिनय छ । यो फिल्म थोड्सापोनको अनुभवबाट प्रेरित हो । उनले आफ्नो हजुरआमाको हेरचाह गर्दा आफूले देखेका घटनाहरूलाई आधार बनाएर पटककथा लेखेका थिए । फिल्मको निर्माण २०२० मा सुरु भएको थियो । फिल्मलाई ०२४ अप्रिल ४ मा थाइल्यान्डमा रिलिज गरिएको थियो । फिल्मले ७८.३ मिलियन डलरको विश्वव्यापी व्यापार गरेको छ । फिल्ममा पारिवारिक सम्बन्ध, जेनरेसन र भिन्न सांस्कृतिक दृष्टिकोणहरूको खोजी गरिएको छ ।
सन्तोष (बेलायत)
‘सन्तोष’ एक ०२४ को हिन्दी–क्राइम ड्रामा फिल्म हो । जसको लेखन र निर्देशन सन्ध्या सुरीले गरेकी छन् । यो फिल्म संयुक्त अधिराज्य, भारत, जर्मनी र फ्रान्सको अन्तर्राष्ट्रिय सहउत्पादन हो । फिल्मको कथामा २८ वर्षीया विधवा सन्तोष सैनी (शाहाना गोस्वामीद्वारा अभिनीत) को संघर्ष देखाइएको छ, जसले मरेका पतिको काम सम्हाल्छिन् । उनले एक युवतीको हत्याको अनुसन्धान गर्नुपर्ने हुन्छ ।
फिल्मको मुख्य छायांकन ०२३ को अगस्ट–अक्टोबर महिनामा भारतको लखनऊ र वरपर भएको थियो । फिल्ममा एक विधवा महिलाको संघर्ष र समाजमा महिलाको स्थान र हत्याको जाँचलाई मार्मिक तरिकाले प्रस्तुत गरिएको छ ।
