पारिवारिक द्वन्द्वमा आधारित गुरुङ फिल्म ‘मुख्या’ 

पुस ३, २०८१

आश गुरुङ

Gurung film 'Mukhya' based on family conflict

लमजुङ — नातिको पुटपुटे (गुरुङ समुदायमा जेठो छोराको हर्षबढाइँ गर्न गरिने क्रियाकलाप) का लागि बेलायतबाट छोराबुहारी आउँछन् । आधुनिक संस्कारकी बुहारीलाई पौराणिक परम्परा र संस्कार खासै मन पर्दैन । पैसा भएपछि सबथोक हुन्छ भन्ने मान्यता राख्छन् ।

हजुरबा पुरानो संस्कार संस्कृतिबाट नातिको पुटपुटे गर्न खोज्छन् । कुरा नमिलेपछि द्वन्द्व सिर्जना हुन्छ । यसपछिको विकराल कथा गुरुङ फिल्म ‘मुख्या’ हेर्न पाइनेछ । यसका लागि भने माघ महिनासम्म कुर्नुपर्ने हुन्छ ।

सामन्ती व्यवस्थामा गाउँ समाजको नेतृत्व गर्ने नाइके अर्थात आदारणीय व्यक्ति हुन् ‘मुख्या’ । मुख्यालाई मुखिया पनि भनिन्छ । गुरुङ गाउँमा मुख्याको चलन बहुदलपछि हट्यो । तर, तिनका रजगज भने केही गाउँहरुमा अझै चल्दै आएको छ ।

मुख्या अर्थात हजुरबा, तिनमा घमण्ड छ, उनी सम्पत्ति भन्दा ठूलो केही होइन भन्ठान्छ । फिल्मका निर्देशक प्रितम गुरुङका अनुसार फिल्मको कथावस्तु गाउँका मुख्या वरपर घुमेको छ । ‘फिल्ममा हामीले मुख्याको चरित्र देखाउन खोजेका छौं । घमण्डका कारण पारिवारिक र सामाजिक विखण्डनलाई देख्न खोजेका छौं,’ उनले भने ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका ६, भीरपुस्तुन, बाहुनडाँडा र दिङदिङमा छायांकन गरिएको यो फिल्मको अहिले सम्पादन सकेर डबिङको कार्य भइरहेको छ । २०५२ सालमा निर्माण गरिएको पहिलो गुरुङ फिल्म पातें (माहिली) का लेखक तथा अभिनेता प्रितमले ५०औं फिल्मको रुपमा फिल्म ‘मुख्या’ निर्माण गरेका हुन् ।

Gurung film 'Mukhya' based on family conflictगुरुङ समुदाय र पारिवारिक कथा बोकेको यस फिल्ममा विष्णु गुरुङ, टीकाराम घले, सविना गुरुङ, रिया गुरुङ, रेशम गुरुङ, सुमन गुरुङ, दिनेश गुरुङलगायतको अभिनय छ । फिल्ममा गुरुङ फिल्म एसोसिएशन नेपाल (जिफान) का अध्यक्ष राजेश गुरुङ अतिथि कलाकारमा छन् ।

यो फिल्ममा लमजुङका विष्णु ५ वर्षपछि पुनः गुरुङ फिल्ममा फर्किएका हुन् । यसअघि उनले प्रितमकै लेखन निर्देशनमा निर्माण गरिएको गुरुङ फिल्म ‘मनकाशी’ मा अभिनय गरेका थिए । पछिल्लो फिल्म म्ले क्यु (विर्साउने पानी) पछि रिया ७ वर्षपछि अभिनयमा फर्किएकी छन् । पोखराकी सविना पनि ७ वर्षपछि अभिनयमा फर्किएकी हुन् ।

माओत्से गुरुङ निर्देशित 'दयारानी' फिल्मका कलाकार समेत रहेका विष्णु यसअघिका आफ्नै फिल्मजस्तै ‘मुख्या’ लाई पनि दर्शकले रुचाउने ढुक्क छन् । ‘मैले अभिनय गरेको यसअघिका सवैजसो फिल्मले सफलता हात पारेको छ । मुख्याले पनि दर्शकको मन अवश्य जित्नेछ’ उनले भने ।

फिल्ममा गणेश गुरुङ र देव गुरुङले गीत लेखेका छन् । गीतमा दिपक गुरुङ र राकेश गुरुङले संगीत भरेका छन् । गीतमा दिपक गुरुङ, विमला गुरुङ, दुर्गा गुरुङ र एलिना गुरुङले आवाज दिएका छन् । सन्तोषी गुरुङ कोरियोग्राफर छन् । फिल्मलाई खेम थापाले छायांकन गरेका छन् । फिल्मलाई मेक थापामगरले सम्पादन गरेका छन् ।

रोधी डिजिटलले निर्माण गरेको यो फिल्म गत कार्तिक १ गतेदेखि १५ गतेसम्म छायांकन गरिएको थियो । आगामी माघ महिनाको अन्तिम साता प्रदर्शनमा ल्याउने तयारी गरिएको निर्माणपक्षले जानकारी दिएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully