कथाले सिक्वेल मागेपछि बन्यो 'फेरि रेशम फिलिली'

पुस १, २०८१

कान्तिपुर संवाददाता

After the story asked for a sequel, it became 'Pheri Resham Filili'.

काठमाडौँ — 'रेशम फिलिली'को सिक्वेल 'फेरि रेशम फिलिली'को प्रदर्शन तय भएको छ । निरोज महर्जनको निर्देशनमा बनेको फिल्म फागुन १४ देखि प्रदर्शनमा आउने भएको हो ।

निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो । करिब ९ वर्षअघि यो फिल्म भुकम्पको मारमा परेको थियो । प्रदर्शनको भोलिपल्टै भुकम्प आएपछि करिब ६ महिना 'रेशम फिलिली'को प्रदर्शनमा असर पुगेको थियो ।

पुन:प्रदर्शन गर्दा पनि फिल्मले अपेक्षा गरेजस्तो दर्शक पाएको थिएन । तर, फिल्मको कथाले नै सिक्वेलको माग गरेकाले आफूहरूले 'फेरि रेशम फिलिली' निर्माण गरेको निर्मातासमेत रहेका कलाकार विनयको दाबी छ । 'फिल्मको कथाले नै सिक्वेल मागेकाले निर्माण गर्‍यौं । यो फिल्म मेरो ह्रदय निकटको फिल्म पनि हो,' विनयले भने । 

फिल्ममा उनीसँगै अभिनेत्री सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायतको अभिनय छ । फिल्ममा अभिनेत्री मेनुका प्रधान भने दोहोरिएकी छैनन् । 

कार्यकारी निर्मातामा सुरज बम ठकुरी रहेको फिल्ममा सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन, सुरेन्द्र पौडेलको सम्पादन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत छ ।

कान्तिपुर संवाददाता

Link copied successfully