काठमाडौँ — दक्षिण भारतीय फिल्म स्टार अल्लू अर्जुन हैदराबादस्थित एक प्रहरी चौकी पुगेका छन् । एक सिनेमा घरमा हालै उनको फिल्म पुष्पा-२ को प्रदर्शनका क्रममा मच्चिएको भागदौडमा एक महिलाको मृत्यु भएको थियो । उक्त प्रकरणमा अर्जुनविरुद्ध उजुरी दर्ता भएको थियो ।
डिसेम्बर ४ मा पुष्पा-२ को रिलिजपूर्व हैदराबादको सन्ध्या थिएटरमा फिल्मको स्क्रिनिङ राखिएको थियो । फिल्म हेर्नका लागि दर्शकले पहिले नै टिकट काटेर हलमा पुगेका थिए । अल्लू अर्जुनसहित फिल्मको टिम उक्त हलमा अचानक पुगेपछि त्यहाँ भागदौड मच्चिएको थियो ।
भागदौडका क्रममा एक महिलाको मृत्यु भएपछि अल्लू अर्जुनसहित अन्य केही व्यक्तिविरुद्ध पनि प्रहरीमा उजुरी परेको थियो । भागदौडमा एम रेवाथी नाम गरेकी महिलाको मृत्यु भएको थियो । अर्जुनले उक्त महिलाको परिवारलाई २५ लाख रुपैयाँ सहयोग गर्नेसमेत घोषणा गरिसकेका छन् ।
