काठमाडौँ — १२ औं संस्करणको 'नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव'मा 'रेम्यान्ट्स'ले नेपाली पानारोमा अवार्ड जितेको छ । धनराज बार्कोटे निर्देशित यो फिल्मले पानारोमा जित्दा 'देवी' वृत्तचित्रले उत्कृष्ट महिला निर्देशकको अवार्ड उचाल्यो ।
बिहीबार सम्पन्न महोत्सवमा वृत्तचित्रका सिनिमेटोग्राफर विष्णु कल्पितले यो अवार्ड उचाले । 'देवी'लाई सुविना श्रेष्ठले निर्देशन गरेकी हुन् । 'ब्ल्याक रेन इन माई आइज'ले उत्कृष्ट लुघ वृत्तचित्र अवार्ड जित्यो । सर्ट फिक्सनजतर्फ 'द फस्ट फिल्म'ले अवार्ड जित्यो । विजेताहरुलाई प्रतिनिधिसभा सांसद् ठाकुर गैरे, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, आयोजक नेपाल मानवअधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीलगायतले अवार्ड वितरण गरेका हुन् ।
त्यस्तै महोत्सवमा 'ह्वेर वी युज्ड टु स्लिप वाई'ले उत्कृष्ट डकुमेन्ट्री अवार्ड जित्यो । कान्स विजेता पायल कपाडिया निर्देशित 'अल वी इम्याजिन एज लाइट'ले फिचर फिक्सनतर्फको अवार्ड जित्यो । सामाजिक अधिकार नारासहित मंसिर २४ गतेदेखि नेपाल चलचित्र बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित यो महोत्सवमा ५३ फिल्म प्रदर्शन गरिएको थियो ।
भारतका चर्चित फिल्मीकर्मी निलोतपल मजुम्दरले चार दिनको वर्कसप सञ्चालन गरेको यो महोत्सवमा नेपाल, बंगलादेश, भारत, पाकिस्तानलगायत देशका युवा फिल्ममेकर सहभागी थिए । महोत्सवमा कान्स, बर्लिनलगायत विश्वका प्रतिष्ठित फेस्टिभलहरुमा अवार्ड जितिसकेका वृत्तचित्र तथा फिल्महरु देखाइएको थियो ।
