बढ्दैछ नेपाली फिल्म निर्माणको लहर

मंसिर २४, २०८१

समर्पण श्री

The wave of Nepali film production is increasing

काठमाडौँ — पछिल्लो समय नेपाली फिल्महरू लगातार सफल भइरहेपछि फिल्मकर्मीहरू उत्साहित देखिएका छन् । अहिले धमाधम नयाँ फिल्म घोषणा हुने र बन्ने क्रम पनि अघि बढेको छ । नियमित फिल्म बनाइरहेका मेकरसँगै पुराना मेकरहरूको कमब्याक र नयाँहरूको उपस्थिति पनि बाक्लो देखिन थालेको छ ।

प्रायः म्युजिक भिडियोहरू निर्माण गरिरहेका सरोज वलीले केही दिनअघि फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माणको घोषणा गरे । वलीको यो पहिलो फिल्म हुनेछ । अगाडिदेखि नै फिल्म बनाउने योजना बुने पनि उनका लागि यो उपयुक्त समय लाग्यो । कारण, दर्शकहरूले हरेक विधाका फिल्मलाई स्वागत गरिरहेका छन् । झन् सरोज पौडेल निर्देशित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’सम्म आइपुग्दा उनको हुटहुटी बढ्यो । ‘पछिल्ला फिल्महरूले दर्शकको साथ पाइरहेको देख्दा राम्रो कथा पस्किन सक्यो भने सफल हुने विश्वास भयो, त्यसकारण उत्साह पनि बढ्यो,’ वलीले भने ।

गत जेठमा निर्देशक दिनेश रातउको फिल्म ‘पुजार सार्की’ले १० करोडमाथिको व्यापार गर्यो । त्यसअघि र त्यसयता फिल्मको व्यापार देख्दा उनलाई पनि थप हौसला मिलेको छ । नियमित फिल्म बनाइरहेका राउतको नयाँ फिल्म ‘महाभोज’ आगामी माघबाट फ्लोरमा जाँदैछ । अघिल्ला फिल्म निर्माण गर्दा कथावस्तु राम्रै भए पनि चल्छ कि चल्दैन भन्ने डर भइरहन्थ्यो उनमा । तर अहिले त्यो डर नरहेको दिनेश बताउँछन् । ‘विगतमा जति राम्रो बनाउने कोसिस गरे पनि दर्शकले फिल्म हेर्दैनन् भन्ने मनस्थिति हुन्थ्यो । अहिले राम्रो फिल्म बनाए चल्छ भन्ने विश्वास बढेको छ,’ उनले भने ।

लामो समयपछि निर्देशक तुलसी घिमिरे पनि फिल्म ‘पहाड’मार्फत डेब्यू गर्दैछन् । उनी पनि चाँडै फ्लोरमा जाने तयारीमा छन् ।वैशाखयता हेर्ने हो भने अधिकांश फिल्मले सुखद व्यापार गरेका छन् । वैशाखमा प्रदर्शन भएको ‘बोक्सीको घर’देखि ‘पूजार सार्की,’ ‘फर्की फर्की’, ‘घरज्वाइँ’, ‘मनसरा’, डिग्री माइला’, ‘गाउँ आएको बाटो’, ‘खुस्मा’ हुँदै ‘शाम्बाला’ लगायत कुनै पनि फिल्मले व्यापारमा निराश भने बनाएनन् । केहीले लगानी सुरक्षित गरे त केहीले राम्रो व्यापार गरे ।

दसैँयता हेर्ने हो भने ‘बेहुली फ्रम मेघौली,’ ‘ज्वाइँसाब’, छक्का पञ्जा ५’ र ‘१२ गाउँ’सम्म आइपुग्दा अनपेक्षित व्यापारकै कारण फिल्म क्षेत्रमा रौनक थप्यो । यसबीचमा ‘सानो संसार’ र ‘आँखा’को व्यापार कमजोर देखियो । १५ कात्तिकबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले त धेरै रेकर्ड नयाँ बनायो । फिल्मले अहिलेसम्म नेपालमा मात्रै ४८ करोडभन्दा माथिको व्यापार गरेको छ ।

त्यतिमात्र हैन, हिन्दी फिल्महरूसँग भिड्न कठिन भइरहेका बेला यो फिल्मले भने बलिउडका आशालाग्दा फिल्म ‘सिंगम अगेन’ र ‘भुल भुलैया ३’लाई नेपालमा निकै पछि पार्यो । त्यसपछि प्रदर्शनमा आएका ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’को व्यापार पनि निराशाजनक भएन । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीका अनुसार सुखद माहोलकै कारण एक महिनायता १० वटाभन्दा बढी फिल्म दर्ता भइसकेका छन् । यो क्रम अझै बढ्ने आकलन उनको छ ।

दिनेश अहिले फिल्ममा राम्रो व्यवसाय हुने रहेछ भनेर लगानी गर्नेहरू थपिएको बताउँछन् । ‘वैशाखयता हेर्ने हो भने हर प्रकारका फिल्म चलेका छन् । हरर जस्तो लाग्ने ‘बोक्सीको घर’ होस् वा कमेडी विधाको ‘छक्का पञ्जा ५’ वा एक्सन फिल्म ‘१२ गाउँ’ देखि सामाजिक कथानक फिल्म ‘पूर्णबहादुरको सारंगी,’ उनी भन्छन्, ‘यसैकारण हरेक मेकरलाई आफ्नो विधा अनुसारको फिल्म बनाउने आँट आयो ।’

राम्रो कथा भन्न सकियो भने जुनसुकै विधाको फिल्म पनि चल्छ भन्ने उदाहरण अहिले देखिएको उनी बताउँछन् । ‘पहिला जुन विधाको फिल्म चल्यो, उही विधामा फिल्म बनाउने लहर चल्थ्यो । अहिले सबै विधाका फिल्म चलेका छन् । यो खुसीको कुरा हो,’ उनी भन्छन् । 

धमाधम बनिरहेछन् फिल्म 

अहिले धमाधम फिल्महरू सुटिङ भइरहँदा फिल्मकर्मीहरू पनि व्यस्त छन् । केही फिल्महरू हालैमात्र छायांकन सकाएर फर्किएका छन् त केही सुटिङमै छन् । केही जाने तयारीमा छन् । सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ अहिले छायांकनमै छ । सशान कँडेल निर्देशित फिल्म ‘होस्टल ३’, कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’, अरुण लामा निर्देशित फिल्म ‘डोरी’, खिलबहादुर निर्देशित फिल्म ‘रिमै’, लोकेश बज्राचार्य निर्देशित फिल्म ‘विमान’, सुयोग गुरुङ निर्देशित फिल्म ‘जेरी अन टप’, कृषा चौलागाईं निर्देशित फिल्म ‘पीताम्बर’, र प्रकाश सपूत निर्देशित फिल्म ‘वसन्त’ अहिले फ्लोरमै छन् । रोज महर्जन निर्देशित ‘फेरि रेशम फिलिली’, दीप गुरुङ निर्देशित ‘जून–किरी’ लगायतका फिल्म केही दिनअघिमात्र प्याकअप भए । 

सौरभ चौधरी निर्देशित फिल्म ‘कर्मा’ आउने साताबाट छायांकनमा जाँदैछ । माघमा पनि थुप्रै फिल्म छायांकनमा जानेछन् । राउत निर्देशित ‘महाभोज’, अर्जु सुवेदी निर्देशित ‘सोल्टिनी’, लक्ष्मण सुनार निर्देशित ‘परालको आगो’, ‘कल्ली’, मिलन तामाङ निर्देशित ‘माइतीघर’ र दीपेन्द्र के खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ माघबाट फ्लोरमा जाने तयारीमा छन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully