काठमाडौँ — कर्मा ब्यान्ड र कुटुम्बले 'एकै स्वरमा कीर्तिपुर' शीर्षकमा एकसाथ कन्सर्ट गरेका छन् । शनिबार कीर्तिपुरस्थित ल्याबोरेटरी विद्यालयको प्रांगणमा आयोजित कन्सर्टमा ११ हजार ८ सय २२ जना उपस्थित रहेको आयोजक संस्था आदि ग्रुप र एएसक्युले जनाएको छ ।
६ बजेबाट सुरु भएको कन्सर्टमा कुटुम्बले करिब १ घण्टा प्रस्तुति दिएको थियो । त्यस्तै कीर्तिपुरमै जन्मेको ब्यान्ड कर्माले भने करिब डेढ घण्टा प्रस्तुति दियो । कार्यक्रमको सुरुआत कुटुम्बले गरेको थियो । कन्सर्टमा कीर्तिपुरकै करिब ५ सय स्थानीय कलाकार पनि सहभागी थिए । कर्मा र कुटुम्बले करिव ५ गीतमा एकसाथ प्रस्तुति दिएको थियो । कर्मा र कुटुम्बको यो पहिलो सहकार्य हो ।
'हुक्का मेरो डल्ले डल्ले' गाउँदै कर्माले आफ्नो प्रस्तुति सुरु गरेको थियो । एक दशक निष्क्रिय रहेको ब्यान्डले जब यो गीतसहित मञ्च उक्ल्यो, दर्शकले ताली र चर्को स्वरले 'कर्मा'को स्वागत गर्यो । 'हुक्का मेरो'को प्रस्तुतिपछि दर्शकको उर्जा देखेर ब्यान्डका भोकलिस्ट सुरेन्द्रमान सिंहले सोधे,'रमाइलो भइरहेको छ नि?' । त्यसपछि कर्माले लगातार चर्चित गीतहरु पस्किरह्यो ।
'कहाँ होला घरबार', 'मौनता', 'छैन मैले', 'को हौ तिमी', 'यानीमाया', 'सुपारीदाना', 'नयाँ सपना'लगायतका ११ गीतलाई ब्यान्डले प्रस्तुत गर्यो । यो ब्यान्ड अब फेरि भक्तपुर र पूर्वको दमक र इटहरीमा कन्सर्ट गर्ने तयारीमा छ ।
