'पूर्णबहादुरको सारङ्गी' हलबाट उतार्ने निर्माताको निर्णय

मंसिर २२, २०८१

कान्तिपुर संवाददाता

Producer's decision to remove 'Poorna Bahadur Ko Sarangi' from the theaters

काठमाडौँ — फिल्म 'पूर्ण बहादुरको सारङ्गी'लाई निर्माण टिमले हलबाट उतार्ने निर्णय गरेको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले फिल्मलाई हलबाट उतार्ने निर्णय गरेको शनिबार विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

बिहीबारबाट क्यूएफएक्स हलहरूले फिल्म 'पुष्पा-२' लाई  अधिकांश शो दिएको थियो । आफ्नो फिल्मको शो हाउसफूल भए पनि प्राथमिकतामा नराखेको भन्दै फिल्मलाई हलबाट उतारिएको निर्माता विनोद पौडेलले बताए । 'अहिले भने हामी कात्तिक १५, १६ र १७ गते जुन अवस्थामा थियौं, ठीक त्यही अवस्थामा आइपुगेका छौं । पूर्णबहादुरको सारङ्गीलाई कर्नरिङ गरेपछि विद्रोह गर्ने अवस्थामा पुग्न बाध्य भएका छौं,' विज्ञप्तिमा लेखिएको छ, 'अब २४ सोमबार फिल्म हलहरूमा चल्ने छैन ।'

यो फिल्मले नेपालमा मात्रै अहिलेसम्म ४८ करोड रुपैयाँको व्यापार गरेको छ । नेपाली फिल्मका लागि यो नयाँ इतिहास हो । फिल्म हलमा रिलिज भएको ३७ दिन भयो । फिल्मको ५१ दिन मनाउने निर्माण टिमको सपना पनि अधुरै भएको छ‌ । 'नेपालमा फिल्मले ५० करोड व्यापार गरेर नयाँ इतिहास रच्ने सपना थियो । पूरा भएन,' निर्माता पौडेलले भने ।

कान्तिपुर

Link copied successfully