काठमाडौँ — अल्लू अर्जुन अभिनित दक्षिण भारतीय फिल्म 'पुष्पा२: द रूल'ले उत्कृष्ट ओपनिङ गरेको छ । फिल्मले भारतमा १ सय ७५ करोड रुपैयाँभन्दा बढी कमाएको छ । यो बलिउड फिल्मको इतिहासमै पहिलो रेकर्ड हो ।
पुष्पा-२ फिल्मले शाहरुख खानको 'जवान'लाई पछि पार्दै पहिलो दिनको सबैभन्दा बढी संकलन गर्ने फिल्मको सूचीमा रेकर्ड बनाएको हो । फिल्मलाई विश्वभर १० हजारभन्दा बढी स्क्रिनमा प्रदर्शन गरिएको छ ।
नेपालमा पनि यो फिल्मले राम्रो व्यापार गरिरहेको छ । फिल्मले क्यूएफएक्स हलहरूमा बिहान ६ बजेदेखि राति १२ बजेसम्म शो पाएको छ । फिल्मले पहिलो दिन नेपालमा ४ करोडभन्दा माथिको व्यापार गरेको अनुमान छ । सबै हलहरूमा अकुपेन्सी भरिएको छ ।
‘पुष्पा-२’ प्रदर्शन भएपछि नेपालका फिल्महरू भने भटाभट हलबाट उतारिन थालेका छन् । सर्वाधिक कमाइ गरेको ‘पूर्णबहादुरको सारङ्गी’को पनि शो संख्या खुम्चिएको छ । फिल्मका निर्माता विनोद पौडेलका अनुसार ‘पुष्पा-२’ आउनुअघि फिल्मले १ सय ३० भन्दा बढी शो पाइरहेको थियो । तर बिहीबारबाट फिल्म ३१ शोमा खुम्चिएको छ ।
त्यसैगरी ‘तेलभिसा’ पनि निकै कम शोमा खुम्चिएको छ । ‘ह्रस्वदीर्घ’ त हलबाटै उतारिएको छ ।
'पुष्पा-२: द रूल' फिल्म ‘पुष्पा’को सिक्वेल हो ।
