किन गरे विक्रान्त मेस्सीले संन्यासको घोषणा ?

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

Why did Vikrant Messi announce his retirement?

काठमाडौँ — 'टुवेल्थ फेल' अभिनेता विक्रान्त मेस्सीले अभिनयबाट संन्यास लिने घोषणा गरेसँगै बलिउड तरंगित बनेको छ । सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत मेस्सीले संन्यास लिने संकेतसहितको सन्देश दिने कुरा लेखेसँगै अहिले बलिउडमा उनको संन्यासलाई लिएर चर्चा चुलिएको छ । 

पहिलो कारण हो, फिल्म 'साबरमती रिपोर्ट'बाट पाएको धम्की र ट्रोलिङ । दोस्रो – मेस्सीले फिल्म प्रचारका लागि संन्यासको घोषणा पनि गरेका हुन सक्छन् ! संन्यासमाथिको खास कारण मेस्सीले नै निकट भविष्य खुलासा गर्लान् । मेस्सीले इन्स्टाग्राममा लेखेका थिए, 'पछिल्ला केही वर्षहरू निकै अभूतपूर्व रहे । तपाईंहरुको साथले नै यो सम्भव भएको हो । तर, अघि बढिरहँदा मैले अनुभव गरेको छु, अब घर फर्कने बेला आएको छ । एक पति, बुवा, छोरा र अभिनेताका हिसाबले,' मेस्सीले लेखेका छन्, 'त्यसैले सन् २०२५ मा हामी अन्तिम पटक भेट्नेछौं । अन्तिम दुई फिल्मसँगै मसँग फिल्मका थुप्रै सम्झनाहरू हुनेछन् । म सधैँ ऋणी छु ।' विक्रान्तले लेखेझैं सन् २०२५ मा उनी यार जिग्री र आँखोकी गुस्ताखियाँमा देखिनेछन् । 

मेस्सीका शुभेच्छुक र बलिउड भने ३७ वर्षे अभिनेताको संन्यासको यही घोषणाले चकित छन् । गोधरा दुर्घटनामाथि आधारित मेस्सीको पछिल्लो फिल्म 'साबरमती रिपोर्ट'कै कारण उनले थुप्रै ज्यान मार्ने धम्कीहरु पाए । मेस्सी मात्रै होइन, धम्की दिनेहरूले मेस्सीको १० महिने छोरालाई समेत यो विवादमा ताने । हिँड्न सुरु नगरिसकेको छोराका नाम, तस्बिर सार्वजनिक गर्दै दिइएको धम्कीबारे त विक्रान्तले केही अन्तर्वार्तामा पनि बोलेका थिए । 'यी मानिसहरूलाई थाहा छ, म भर्खरै बुवा बनेको छु भन्ने । हिँड्न पनि नजान्ने मेरो छोराको नामसमेत उनीहरुले प्रयोग गरेका छन् । म उसको सुरक्षालाई लिएर चिन्तित छु, हामी कस्तो समाजमा बाँचिरहेका छौं ?, मेस्सीले भनेका थिए । मेस्सीले इन्स्टाग्राममा आफू बुवा र छोरा भएको कुरा व्यक्त गरिरहँदा कतिले उक्त विषयलाई 'साबरमति रिपोर्ट'ले दिएको यस्तै किसिमको धम्कीहरुसँग जोड्दै, संन्यासको कारणका रूपमा उल्लेख गर्दै आएका छन् । गोधरा रेलमा भएको दुर्घटना समेट्दै त्यस विषयमाथिको विवाद र संवेदनशील पक्षलाई समातेको यो फिल्ममाथि आबद्ध भएको भन्दै थुप्रै मेस्सीलाई मार्ने धम्की दिएका थिए ।

थुप्रैले भने विक्रान्तको यो निर्णयलाई फिल्म प्रचारसँग जोडेका छन् । विशेष गरी उनका फ्यानले उक्त निर्णयमाथि प्रश्न उठाउँदै फिल्म प्रचारको नयाँ माध्यमका रुपमा पनि जोडेका छन् । एक फ्यानले उक्त निर्णयमाथि अविश्वास प्रकट गर्दै लेखेका छन्, 'यो त मार्केटिङको नयाँ शैलीजस्तै देखियो त जसले उनका पछिल्ला दुई फिल्मप्रति दर्शकलाई जिज्ञासा बढ्ने भए । उनीहरु त्यही जिज्ञासाले हलसम्म तानिन्छन् पनि । उनको यो कुरा पछि बद्लिन पनि सक्छ ।' कतिले भने फिल्म प्रदर्शनसँगै राजनैतिक पक्षबाट आएको दबाबका कारण मेस्सीले यस्तो लेखेको पनि अनुमान गरिरहेका छन् । विक्रान्तको यो निर्णय फेरिएला त ? त्यो त भविष्यकै कुरा हो । 

टेलिभिजन सो 'धुम मचाओ धुम' मार्फत अभिनय करिअर सुरु गरेका मेस्सीले सन् २०१३ मा 'लुटेरा'मार्फत फिल्ममा डेब्यू गरेका थिए । टेलिशृंखला 'बालिका बधु'बाट चर्चा कमाएका मेस्सीले 'लुटेरा'मार्फत बलिउडको ध्यान आफूतर्फ तान्न सफल बने । त्यसपछि उनले गिन्नी वेड्स सन्नी, नेट्फ्लिक्सको चर्चित सिरिज 'हसिन दिलरुवा', 'लभ होस्टल'सँगै 'टुवेल्थ फेल' गरे । विधु विनोद चोपडाको 'टुवेल्थ फेल'ले भने विक्रान्तलाई करिअरभरिकै ठूलो प्रतिष्ठा र सम्मान दियो । तर, उनको यो अचानकको निर्णयले भने अझै अनुमानहरू जन्माइरहेको छ ।

कान्तिपुर

Link copied successfully