काठमाडौँ — ऊ सहरमा रहरले होइन, कहरले आइपुगेको छ । गाउँको जीवन छाडेर सहरसँग मितेर गाँस्न खोज्दैछ । शिक्षाका लागि सहर आइपुगेको एक युवा पात्रले सहरलाई आफ्नो बनाउन गरिरहेको संघर्ष, उनको युवा प्रेम र नयाँ अनुभूतिहरूको संगालो समेट्दै निर्देशक भीष्म जोशीले नयाँ गीति कथा सार्वजनिक गरेका छन् ।
करिब १२ मिनेट लामो यो गीतको भिडियोमा देखाइएको कथा, पटकथा निर्देशक जोशी आफैंले लेखेका हुन् । 'कोठा' शीर्षकको यो गीति कथामा निर्देशकले गाउँदेखि काठमाडौंमा सपना खोज्दै आइपुगेकाहरूको कोठा बस्दाका समस्या, सहरलाई अंगाल्न खोजिरहेको परिस्थितिहरूदेखि मध्यम वर्गीय व्यक्तिका साझा कथालाई देखाउन खोजेका छन् ।
सरोज श्रेष्ठले खिचेको यो गीतमा देवव्रत, भीष्मकै शब्द छन् भने गायक प्रशान्त सिवाकोटीको स्वर छ । गायिका रुवी श्रेष्ठले पनि गीतमा आवाज दिएकी छन् । गीतको भिडियोमा प्रविण के पाण्डे, सबि थापा, सरोज खड्का, शीतल पाण्डेलगायतको अभिनय छ । अन्डर एक्सपोज सिनेमा प्रोडक्सनको सहकार्यमा आर्ट घरले गीतलाई प्रस्तुत गरेको हो ।
