काठमाडौँ — स्थापनाको ३२ औं वर्षमा 'कन्दरा' ब्यान्ड काठमाडौंमा गुञ्जिएको छ । 'काठमाडौं कलिङ कन्दरा' शीर्षकमा शनिबार भएको कन्सर्ट नै काठमाडौंमा ब्यान्डले गरेको पहिलो सोलो कन्सर्ट हो ।
यसअघि काठमाडौंमै भएका विभिन्न कार्यक्रममा प्रस्तुति दिए पनि ब्यान्डको सोलो कन्सर्ट भएको थिएन । काठमाडौंको क्लब एलओडीमा भएको कन्सर्टमा करिब २ हजार दर्शक सहभागी भएको आयोजकले जनाएको छ ।
कन्सर्टमा ब्यान्डले आफ्ना चर्चित गीतहरु पस्के । 'तगारोमा रुमाल राखी' बोलको गीतबाट ब्यान्डले कन्सर्टको पहिलो प्रस्तुति सुरु गरेको थियो । त्यसपछि 'तिमी पारि', 'लेककी हे माया', 'विदेशिएर गइन् उनी', 'हङकङ पोखरा' लगायतका गीत पस्कँदा त एलओडी गुञ्जयमान बन्यो । कन्सर्टको सुरुआतमा भने युवा गायक देवेन्द्र बब्लु र फिरन्तेको प्रस्तुति थियो ।
कन्सर्टमा ब्यान्डले ९० को दशकदेखि सन् २००० यताका दर्शक लक्षित गर्दै गीतहरु पस्केको थियो । यो ब्यान्डमा प्रमुख गायकमा विवेक श्रेष्ठ, गितार वादक देव लामा, बेसिस्ट पंकज झा, ड्रमर सुनिल थापा, मादल वादक अविनाश गायक र किबोर्ड वादक नील घतानी छन् ।
