दसैँयताका नेपाली फिल्म : कसले कति कति कमाए ? 

कार्तिक २४, २०८१

कान्तिपुर संवाददाता

Nepali films of the decade: who earned how much?

काठमाडौँ — एकपछि अर्को फिल्मले व्यावसायिक असफलता व्यहोर्दै जानु नेपाली फिल्म क्षेत्रको बिडम्बना नै भइसकेको थियो । विगतका वर्षहरूमा एकाध फिल्मले मात्र सुखद व्यापार र लगानी सुरक्षित गर्ने र बहुसंख्यक फिल्महरू एकाध दिनमै उत्रिने नियति जस्तै भइसकेको थियो ।

तर यो वर्ष भने नेपाली फिल्मका लागि अवस्था फरक देखियो । वर्षको सुरुआतीदेखि नै नेपाली फिल्म क्षेत्रले फरक अनुभव गरिरहेको छ । वैशाखमा प्रदर्शनमा आएको सुलक्षण भारती निर्देशित फिल्म ‘बोक्सीको घर’ले छरेको आशाको किरण त्यसपछि पनि निरन्तर छ । 

फिल्म व्यावसायिक रुपमा सफल मात्र भएका छैनन्, कमेडी विधाका फिल्मले मात्र बाजी मारिरहेको बेला सामाजिक विषयवस्तुमाथिको गम्भीर कथाहरूलाई पनि दर्शकले स्वागत पाइरहेका छन् । ‘पूजार सार्की’ होस कि ‘फर्की फर्की’, होस् वा ‘घरज्वाइँ’ । ‘मनसरा’ र डिग्री’ माइलाको कमाइ पनि निराशाजनक भने थिएन । प्रतिष्ठित अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा यात्रा गरेको नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ले पनि नेपालमा सन्तुष्टजनक व्यापार गर्‍यो। फिल्मले ४ करोड रुपैयाँभन्दा बढीको व्यापार नेपालबाटै गरेको थियो। 

दसैँ भन्दा केही साता अगाडि प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’ले पनि मनग्गे दर्शक पायो । फरक– फरक विधाका फिल्म एकपछि अर्को व्यावसायिक रुपमा सफल भइरहँदा यसले फिल्म क्षेत्रमा सकारात्मक सन्देश पनि दिइरहेको छ ।

दसैँयता फिल्म : कुनले कति कमायो? 

दसैँयता रिलिज भएका प्रायः फिल्महरूले उत्साहजनक व्यापार गरिरहेका छन् । 

१६ असोज घटस्थापनको दिन प्रदर्शन भएको सजन काफ्ले र आकाश बराल निर्देशित फिल्म ‘बेहुली फ्रम  मेघौली’ हलमा चौध दिन लाग्यो ।  दुई सातामा फिल्मले करिब ४ करोडको व्यापार गरेको फिल्मका निर्माता तथा अभिनेता निश्चल बस्नेतको दाबी छ । 

तर फूलपातीमा प्रदर्शनमा आएका तीन फिल्म ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँसाब’का कारण ‘बेहुली फ्रम मेघौली’को कशो संख्या घट्न थाल्यो । शो संख्या कम पाएपछि निर्माता निश्चलले फिल्म हलमा नचलाउने निर्णय गरे । ‘बेहुली फ्रम मेघौली’ अहिले डिजिटल प्लेटर्फमार्फत शुल्क तिरेर हेर्न पाईन्छ ।  ओटीटी प्लाटफर्म एमएसएम मा ‘बेहुली फ्रम मेघौली’लाई  १० दिनमा १९ हजार पटक हेरिएको छ । निश्चलका अनुसार यो करिब ७५ लाखको व्यापार हो । यो फिल्मका लागि उक्त प्लाटफर्ममा कम्तिमा ५० हजार दर्शक पुर्‍याउने लक्ष्य निर्माण टिमको छ । ‘५० हजारले फिल्म हेर्नु भनेको करिब २ करोडको व्यापार हुनु हो,’ निश्चल भन्छन् । ओटिटी प्लेटफर्ममा सुरुआती चरणमा देखिएको यो संख्याले भने राम्रो व्यापारको सम्भावना देखाएको छ ।

२४ असोज फूलपातीमा प्रदर्शनमा आएको विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ले बक्स अफिसमा ‘अनपेक्षित’ व्यापार गरिरहेको छ । फिल्म रिलिजको चौथो हप्तासम्मको व्यापार बिहीबार निर्माण टिमले सार्वजनिक गरेको थियो । वितरक गोविन्द शाहीका अनुसार चौथो हप्तासम्म फिल्मको व्यापार २५ करोड ५० लाख भन्दा माथि छ । पछिल्ला वर्षहरूमा नेपालमा एक्सन विधाका फिल्महरूको ‘खडेरी’ नै थियो । बनेका एकाध फिल्महरूले लगानी पनि सुरक्षित गर्न सक्ने अवस्था थिएन । यो फिल्ममार्फत् छोरा समीरलाई डेब्यू गराएर कमब्याक भएका विराजले व्यापारमा छलाङ नै मारे । फिल्मको शो विस्तारै कम हुँदै गए पनि हलहरूमा दर्शक भरिभराउ छन् । 

फूलपातीकै दिन प्रदर्शन भएको दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ५’ले पनि दर्शकमाथिको पकडलाई कायम राख्यो । एक साताअघि निर्माण टिमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फिल्मले १९ करोडमाथिको व्यापार गरेको थियो । त्यसयता भने फिल्मको शो संख्या खुम्चँदै गइरहेको छ । पछिल्लो कमाइको तथ्यांङ भने सार्वजनिक गरिएको छैन । वितरक मनोज राठीका अनुसार पछिल्लो कमाइको रेसियो भने घटेको छ। ‘त्यसयता फिल्मले १ करोडभन्दा माथि व्यापार गरेको छैन,’ राठी भन्छन् ।

‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’सँगै रिलिज भएको वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँसाब’ले पनि लगानी सुरक्षित गरेको छ । दुई फिल्मको तुलनामा शो संख्या धेरै कम पाए पनि हलहरूमा दर्शकको चाप भने बाक्लो थियो । निर्देशक निरौलाका अनुसार फिल्मले अहिलेसम्म ५ करोड २५ लाख रुपैयाँको व्यापार गर्‍यो ।

९ कार्तिकदेखि पुनःप्रदर्शनमा आएको सिद्धार्थ पुडासैनी निर्देशित फिल्म ‘सानो संसार’ले समीक्षा राम्रो पायो। तर अपेक्षाअनुसारको दर्शक पाएन । हल सञ्चालकहरूले आफ्नो फिल्मलाई शो नै नदिएको फिल्मका निर्माता अर्जुन कुमारको गुनासो छ । 

उनका अनुसार फिल्मले एउटा मात्र शो पाएको छ । ‘फिल्म एउटा मात्र हलमा लागेको छ । तर हाउसफूल छ। हलवालाहरूले हाम्रो फिल्ममाथि अन्याय गरे,’ उनको गुनासो छ । यसअघि ११ असोजमा ‘आँखा’सँगै प्रदर्शनमा आएको ‘सानो संसार’को व्यापार देशभर भएको अविरल वर्षाको कारण डुबानमा पर्‍यो । बाढीपहिरोले ठूलो जनधनको क्षति भइरहेको बेला निर्माता अर्जुन कुमारले फिल्म स्थगित गरे । त्यसपछि पुनः रिलिज हुँदा पनि फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेको छैन । फिल्मको अहिलेसम्मको व्यापारबारे तथ्यांङ सार्वजनिक भइसकेको छैन ।

१५ कात्तिकमा दीपावलीको अवसर पारेर प्रदर्शनमा आएको सरोज पौडेल निर्देशित फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले भने रेकर्ड नै राखेको छ । निर्माण टिमले सार्वजनिक गरेको बिहीबारसम्मको तथ्यांङअनुसार फिल्मले ८ दिनमा ११ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । बिहीबार मात्रै पनि फिल्मले २ करोड ८५ लाखको व्यापार गरेको निर्माता विनोद पौडेलको दाबी छ । फिल्मले सुरुआती दिनमा निकै कम शो पाएको थियो। बरु सोही दिन प्रदर्शनमा आएका  हिन्दी फिल्म ‘सिंगम अगेन’ र ‘भुल भुलैया ३’ले बढी शो पाएका थिए। 

अहिले भने फिल्मले अनपेक्षित शो पाइरहेको छ । फिल्म बिहीबार ३ सय ८९ र शुक्रबार ३ सय ९५ थिएटरमा लागेको थियो। शुक्रबार मात्रै फिल्मले ४ सय शो प्राप्त गर्‍यो।

लगातार एकपछि अर्को फिल्मलाई दर्शकहरूले रुचाइरहेको बेला फिल्मकर्मीहरू आशावादी छन् । यसपछि प्रदर्शनमा आउने फिल्महरूबाट भने यो आशा कायम होला कि नहोला? त्यो भने हेर्न बाँकी छ ।

कान्तिपुर

Link copied successfully