‘एक्टर’ ले सक्यो छायांकन

श्रावण ३, २०८१

कान्तिपुर संवाददाता

'Actor' did the filming

काठमाडौँ — निर्माणाधीन फिल्म ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । छायांकन सुरु हुनुअघिदेखि नै चर्चामा रहेको फिल्मको छायांकन ४५ दिनमा पूरा भएको हो । फिल्मको छायांकन गत वैशाख महिनाको अन्त्यमा पोखराको विन्ध्वासिनी मन्दिरबाट सुरु भएको थियो । 

फिल्मको छायांकन १० दिन पोखरामा र ३५ दिन काठमाडौंमा गरिएको हो । राजन भुसालको डेब्यु निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, दिव्या रायमाझी, राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ‘पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको अभिनय छ । दिव्याको भने यो पहिलो फिल्म हो । राजबल्लभले यही फिल्मबाट करिब दस वर्षपछि कमब्याक गरेका छन् । नायक खड्काले पहिलो पटक फिल्मी पर्दामा दिव्या र आनासँग सहकार्य गरेका हुन् ।

अदृत फिल्मस्को प्रस्तुतिमा मोती फिल्मस्को निर्माण रहेको ‘एक्टर’का निर्माता थमनकुमार भण्डारी हुन् । एनिस भुसाल सहनिर्माता रहेको फिल्मको ‘क्रियटिभ प्रोड्युसर’ मोती कार्की हुन् । फिल्मका छायांकार नरेन्द्र मैनाली हुन् । निर्माता थमनकुमार भण्डारीका अनुसार फिल्मको अब एउटा गीत मात्र खिच्न बाँकी छ । उक्त गीतको छायांकन युरोपमा गर्ने तयारी भइरहेको भण्डारीले बताए । फिल्ममा प्रदीप खड्कालाई फरक देख्न सकिने उनको दाबी छ । 

फिल्म आगामी कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज हुने बताइएको छ । फिल्मको जापान प्रदर्शन अधिकारसमेत बिक्री भएको छ । ‘एक्टर’को जापान ‘राइट्स’ खेमराज शाहको म्याक्स इन्टरटेन्टमेन्टले खरिद गरेको हो ।

कान्तिपुर

Link copied successfully