काठमाडौँ — कमजोर पटकथा नेपाली फिल्मको पुरानै समस्या हो । नयाँ निर्देशक, नयाँ कथावाचन शैलीसहित कथा भन्न नेपाली फिल्म क्षेत्रमा त आइपुग्छन् । तर, उनीहरूले दोहोर्याउने गल्ती यही हो कि उनीहरु कमजोर पटकथामै नयाँ प्रयोग स्थापित गर्न चाहन्छन् । निर्देशक सुयोग गुरुङले 'फर्की फर्की'को कथा भन्न नयाँ शैली त पक्रेका छन्, तर कमजोर पटकथा क्लिशे संवाद र अपरिपक्व अभिनयले उनको यो प्रयास असफल बनिदिएको छ ।
जसरी फिल्मको मुख्य पात्र टाइम लूपभित्र हराउँछन्, त्यसरी नै उनी पनि कथा वाचनका विभिन्न कमजोरीमा अल्झिएका छन् ।
'टाइम लूप'मार्फत निर्देशक गुरुङले 'फर्की फर्की'को कथा पस्केका छन् । टाइम लूप अर्थात् जहाँ पात्रले एउटै समयलाई दोहोर्याएर बाँचिरहन्छन् । दोहोरिरहने समयको चंगुलमा पात्र यसरी फस्छ कि उसले त्यो समय पार गर्न निश्चित परिस्थितिहरु मिल्नुपर्छ । माधवसिंह बस्नेत उर्फ 'म्याडी'को हकमा यस्तै हुन्छ ।
जब-जब म्याडीले गल्ती गर्छ, उसले एउटै समयलाई बाँचिरहनुपर्छ । जबसम्म उनले त्यो गल्तीलाई सुधार्दैनन् । सँधै मोज मस्तीमै रमाइरहने, कामप्रति पनि जिम्मेवार नरहेका म्याडी कस्ता टाइम लूपमा फस्दै जालान् त ? 'फर्कीफर्की' को बाँकी कथाले यही प्रश्नको उत्तर दिन्छ ।
कथा वाचनमा 'टाइम लूप'को शैली पक्रन खोज्नु नौलो अभ्यास हो, यसले पक्कै नयाँ स्वाद पस्कन्छ । तर, यही शैलीलाई सही ढंगबाट पक्रेर कथा भन्न नजाने के होला,'फर्की फर्की' त्यसकै उदाहरण बनेको छ । वास्तविक जीवनभन्दा भिन्नै संसार पुर्याउने अति काल्पनिक कथामा विश्वस्नीय तत्त्वको प्रयोग हुनुपर्छ ।
जस्तै, कार्तिक पूर्णिमाको दिन साथी सुभास(रवी काफ्ले)ले भगवानसँग प्रार्थना गरेकै आधारमा म्याडी टाइम लूपमा फस्न थाल्छन् । भगवानले नै म्याडीलाई गल्ती सुधार्ने अवसर दिन, टाइम लूपमा पुर्याएका हुन् भन्ने विश्वास जसरी फिल्ममा स्थापित गरिएको छ, त्यसैगरी अन्य पात्रको हकमा गरिएको छैन ।
चौतारीमा माग्नेको भेषमा रहेको पात्र नै वास्तविक भगवान् हुन् भन्ने पक्षलाई विश्वासिलो ढंगमा स्थापित गरिएको छैन । जसरी 'ह्यारी पोटर'भित्रको जादुयी संसार वास्तविक लाग्छन्, ह्यारीको जादुयी प्रतिभामाथि विश्वास लाग्छ, त्यसरी यो फिल्मका पात्र, कथा विश्वास गर्न सकिने किसिमले दृश्यमा स्थापित नै हुँदैन ।
जबकी, फिल्ममा त 'अ'सत्यलाई पनि सत्य जसरी देखाउन सकिने शक्ति हुन्छ । निर्देशक गुरुङले टाइम लूपलाई त प्रयोग गरेका छन्, तर कथा वाचनमा त्यसलाई प्रयोग गर्न ढंग पुर्याएका छैनन् । टाइम लूपबाट प्रमुख पात्रले कस्ता परिस्थितिमा बाहिरिन पाउँछन् त ? कसैको मृत्यु वा घडीको निश्चित समयमा आउने परिवर्तन के हुन सक्लान् ? निर्देशकले यी परिस्थितिलाई दृश्यमा खासै देखाउन सकेका छैनन् । त्यसैले फिल्मको क्लाइमेक्समा हुने परिवर्तनले मुख्य कथामा ल्याएको नतिजा बुझ्न केही समय घोत्लिरहनुपर्ने हुन्छ ।
फिल्म दृश्य भाषाको माध्यम हो । दृश्यबाटै कथाभित्रको संसारमा पुर्याउने तागत फिल्मले बोकेको हुन्छ । तर, त्यही कथालाई दृश्य भाषामार्फत प्रस्तुत गर्न नसक्दा प्रेमकथामा आधारित यो फिल्ममा प्रेम नै स्थापित हुँदैन । संयोगले नजिकिएका सायरा(जसिता गुरुङ) र 'म्याडी' बीच विस्तारै प्रेम पलाउन थाल्छ ।
सुरुमा सायराले म्याडीलाई मनपराउन थाल्छिन् । म्याडीका लागि भने महिला मात्र आफ्नो यौन चाहना पूरा गर्ने पात्र हुन्, म्याडी महिलाप्रति कुनै आदर/सम्मान राख्दैनन् । म्याडीको यस्तो स्वभाव जान्दा जान्दै सायरा म्याडीको प्रेममा चुर्लुम्म डुब्छिन् । जब म्याडी सम्मुख सायराले प्रेम प्रस्ताव राख्छिन्, अचानक म्याडीलाई आफूले गरेका गल्तीहरु आभास हुँदै जान्छ ।
सायराप्रति अथाह प्रेम प्रकट गर्न थाल्छन्, म्याडी । सायरालाई प्राप्त गर्न आफूले अपनाएको कदम बेठीक लागेसँगै उनलाई छाड्ने निर्णयमा पुग्छन् । आफूभित्रको यो भावना व्यक्त गरिरहँदा म्याडीमा आएको परिवर्तन स्वीकार्न गाह्रो पर्छ ।
यसअघि कुनै दृश्यमा म्याडीलाई सायराप्रति झुकाव राखेको देखाइन्न । उनी सायरालाई पनि अन्य महिलालाई हेरिरहेकै नजरले हेर्छन् । प्रेमको कुनै आभास नहुँदै एकैपटक यसरी गहिरो प्रेममा प्रेममा देखाउनु, अनि यस किसिमको निर्णयमा पुग्नुको कारण खासै दृश्यमा प्रष्ट हुँदैन । प्रमुख पात्र अचानक कसरी बद्लिए ? एउटा भूलमै पात्रमा आएको बद्लावले म्याडीको स्वीकारोक्ति कमजोर बनाइदिन्छ ।
फिल्मले मित्रता र बावु छोराको सम्बन्धलाई पनि देखाउने प्रयास गरेको छ । तर, मूल कथामा मित्रता र बाबु छोराको सम्बन्धलाई उन्न नजान्दा यी उपकथा फितलो बनेका छन् । समान्तर ढंगले यी कथालाई भनिएको भए कथा वाचन झनै शसक्त बन्न सक्थ्यो । तर, निर्देशक गुरुङले पटकथामा यी विषयलाई मिसाउन नजान्दा फिल्मको मूल कथामा यसले खासै प्रभाव छोड्दैन ।
कथामा तादात्म्य नमिलेपछि यी विषय जबरजस्ती तन्किएको छ । कथालाई सँगसँगै अगाडि बढाउन नसकिएपछि निर्देशक गुङले मित्रता र बाबु छोराको सम्बन्धलाई पालैपालो भन्न थालेकोजस्तो देखिन्छ । साथीसँगको म्याडीको मित्रता नै हेरौं । दुईको सम्बन्धलाई फिल्मको अन्त्यतिर स्थापित गर्दै दुर्व्यवहार गर्ने म्याडीसँग सुभास कसरी मित्रवत भावनामा रहे ? भन्ने पक्ष देखाउँदै जबरजस्त कथालाई मार्मिक बनाउन खोजिएको छ ।
बुवासँगको सम्बन्धमार्फत पनि यही भावना स्थापना गर्न खोजेका छन् । तर, मूल कथामा यी उपकथालाई सँगसँगै बगाउन नसक्दा, यी भावनासँग अन्तरसम्बन्धित हुनै पाउँदैनौं । त्यसैले पर्दामा बुवाको हात समाएर म्याडीले आँशु खसालिरहँदा त्यसले मन दुखाउँदैन । बुवा छोराको यो सम्बन्ध र मित्रता बलिउडका फिल्मबाट प्रभावित देखिन्छ । बिरामी बुवाकहाँ हातमा झोला बोकेर घरको आँगन टेकेको म्याडीमा झट्ट 'ए जवानी हे दिवानी'को कवीर देखिन्छ । बुवासँगको म्याडीको बिग्रिएको सम्बन्ध, बुवाप्रति पुन: जागेको प्रेममा पनि फिल्मको प्रभाव प्रशस्तै भेटिन्छ ।
फिल्मको अन्य प्लटमा पनि यो फिल्म झल्किन्छ । जस्तै, चार साथिहरु घुम्न जाँदा म्याडीले खतरनाक चुचुरो चढ्न गरिएको ढिपी, अनि गन्तव्यमा पुगेर सायरासँगै ठूलो आवाजमा चिच्चाएको दृश्य !
महिलावादी दृष्टिकोणले फिल्मलाई हेर्दा 'फर्की फर्की', महिला चरित्र चित्रणमै समेत चुकेको छ । फिल्मको प्रमुख पात्र सायरा, महिलालाई मात्र यौन कुण्ठा मेटाउने नजरले हेर्ने पुरुषसँग पहिलो भेटमै आकर्षित भएको चरित्रका रुपमा प्रस्तुत गरिएको छ । उनी आफ्नो विवाहको निर्णय आफैं गर्न सक्दिनन् । उनलाई सम्झौताको सम्बन्धमा रमाउने चरित्रका रुपमा चित्रण गरिएको छ । उनी आफ्नो रोजाइविपरीतको पुरुषसँग बिहे गर्न तयार बनेको चरित्रको रुपमा उभ्याइएको छ । साथै, एउटा पुरुषबाट छुटकारा पाउन अर्कोको सहारा लिइएको पनि देखाइएको छ ।
फिल्मले बारम्बार दोहोर्याइरहने, दोस्रो मौका ! उनी आफ्नो प्रेमीलाई दिन सक्दिनन् । यो फिल्ममा पुरुषले महिलालाई दबाएर नै राख्न चाहन्छ, महिलालाई यौन कुण्ठा मेटाउने वस्तुका रुपमा मात्र स्थापित गरिएको छ । सुजीको चरित्रले सन्तुलन कायम राख्न खोजेको छ, तर केही दृश्यमा त महिलालाई हाँसोको पात्रको रुपमा प्रस्तुत गरिएको छ । बोसले गोजीबाट पत्नीको तस्बिर हेर्न थालेसँगै म्याडीले एक दृश्यमा भन्छ,’हजुरले हजुरको वाइफलाई साह्रै नै माया गर्नुहुन्छ होला है ? जसरी तपाईंले उहाँको फोटो हेर्ने बित्तिकै त्यो खुसी, त्यो पोजिटिभी' ! त्यसपछि म्याडीको बोसले पत्नीलाई ठूलो समस्याका रुपमा चर्चा गरेको संवादमा त्यो पात्रले महिलाप्रति हेर्ने दृष्टिकोण देखाउँछ ।
यो फिल्म कमजोर बन्नुको अर्को कारण हो, क्लिशे संवाद । फिल्ममा प्रयोग संवाद निकै अतिरञ्जना गरिएका छन् । बोलीचालीको भाषा नै प्रयोग गरिएको भए काल्पनिक कथाका पात्रहरु यथार्थपरक देखिन्थे । केही दृश्यमा त चोटिला र बोलीचालीकै भाषा प्रयोग पनि गरिएका छन् । तर, त्यसको निरन्तरता अन्त्यसम्म रहन्न । भारी भरकम संवाद र कलाकारले समातेको लवज नमिल्दा दृश्यले विश्वसनीयता गुमाउँदै जान्छ ।
उदाहरणका लागि त्यही चौतारीकै दृश्य हेरौं । म्याडी र सुभास भगवानसँग प्रार्थना गर्नै लाग्दा छेउको माग्नेले ठूल्ठूलो आवाजमा बोल्छ, 'आज कार्तिक पूर्णिमा विशेष दिन । आज रोजेको, सोचेको, खोजेको सबै पूरा हुन्छ’ । यो फिल्ममा पात्रहरुले कथा र परिस्थितिभन्दा फरक शैलीमा भारी संवादहरु बोलिरहन्छन्, जसले दृश्य र परिस्थितिसँग जोड्न हामीलाई जोड्न सक्दैन ।
अभिनयकै सवालमा फिल्म कमजोर छ । यो फिल्मसम्म आइपुग्दा अनमोल केसी अन्य फिल्ममाभन्दा अलि परिपक्व देखिन्छन् । तर, उनको अभिनयमा अझै निखारता देखिँदैन । त्यस्तै, जसिता गुरुङले पनि सायरा चरित्रको गहिराईमा आफूलाई पुर्याएकी छैनन् । पात्रको भावना पस्कँदा उनी सतही लाग्छिन्, एउटा त कमजोर पटकथाको परिणाम पनि होला । तर, चरित्र चित्रणको सामाजिक, राजनीतिक, मनोवैज्ञानिक पक्षमा अझै जसिताले अभ्यास गर्नुपर्ने देखिन्छ ।
यो फिल्मको सबैभन्दा बलियो पक्ष प्रयोग गरिएको पार्श्व ध्वनि हो । फिल्ममा पात्रको मुड बुझाउने, कथाको भावसँग जोडिदिने पार्श्व ध्वनिको प्रयोग छ । पार्श्व ध्वनिले पात्र र कथाको भावना जोड्न महत्त्वपूर्ण भूमिका खेलेको छ । प्रमुख पात्रका लागि छुट्याएको ध्वनी पनि उनको चरित्र अनुसारकै छ । पात्रले प्रेम भाव कल्पेको बेलामै बज्ने गीतको प्रयोग पनि सठिक छ । सम्पादनमै पनि मिहेनत देखिन्छ । टाइम लूपको मोन्टाज दृश्यलाई सम्पादक सुरेन्द्र पौडेलले जसरी छाँटेका त्यसमा उनको कला देखिन्छ ।
जीवनमा सबैले गल्ती स्वीकार्ने दोस्रो मौका पाउनुपर्छ ! फिल्मले बोकेको कथ्य गजब्बकै छ । हर कोहीले भूल सुधारको दोस्रो मौकालाई पक्रन सके कति उत्तम हुने थियो । साथै, सुध्रिने र परिस्कृत हुने बाटो पनि पहिल्याउन सकिने थियो ।
यस अर्थमा कथा वाचनमा निर्देशक गुरुङले पक्रेको नयाँ शैलीले पक्कै फिल्म क्षेत्रमा फरक स्वाद चखाउने प्रयास भएको छ । त्यसैले नयाँ शैली पक्रँदै कथा भन्न खोजेका गुरुङले गरेको भूलका लागि दोस्रो मौका आवश्यक देखिन्छ । आशा गरौं, 'फर्की फर्की'मा गरेका भूल उनले अर्को फिल्ममा दोहोर्याउँने छैनन् !
