काठमाडौँ — सेन्सरमा समस्या झेलेको फिल्म 'रंगेली'ले पिजी (प्यारेन्टल गाइडेन्स) प्रमाण पत्र पाएको छ । गत बिहीबार बोर्ड सदस्यले फिल्म हेरिसकेपछि 'रंगेली'को संवादमा समस्या देखाउँदै छायांकन भएको नगरपालिकाको इजाजत पत्र मागेको थियो ।
प्रदर्शनको संघारमा रहेको फिल्मलाई बोर्डले सेन्सरको झमेलामा पारेपछि फिल्मकर्मीले चौतर्फी विरोध गरे । यस्तै विरोधका बीच बोर्डले रंगेलीलाई पिजी सर्टिफिकेट दिएको हो ।
'पहिला त इजाजत पत्र चाहिने भनेर बारम्बार भनिरहनु भयो । तर, चौतर्फी विरोधपछि उहाँहरुले हामीलाई सर्टिफिकेट दिनुभयो । सायद हामी नयाँ मेकर भएकाले पनि उहाँहरुले पेल्न खोज्नुभएजस्तो लाग्यो । तर, यो विषयमा सबैले बोलेपछि उहाँहरुले सर्टिफिकेट दिनैपर्ने भयो,'फिल्मका निर्देशक अर्जुन सुवेदीले भने,'अब यसरी स्थानिय सरकारले पनि सेन्सर गर्न थाले सेन्सर बोर्डको कामै भएन । रिलिजको मुखमा सेन्सरको झन्झटमा फस्नु पर्यो ।'
निर्देशक सुवेदीका अनुसार विहिबार फिल्म हेरिसकेपछि सेन्सर बोर्डले संवाद सच्च्याउन(म्यूट) लगाउँदै भोलीपल्ट पिजी सर्टिफिकेट दिने जनाएका थिए । तर, ती संवाद सच्च्याएर जाँदा निर्माण टिमलाई बोर्डले सोध्यो,'रंगेली नगरपालिकाको इजाजत पत्र खोइ ?' निर्माण टोलीले नगरपालिकाकै सहमतिमा त्यहाँ फिल्मको छायांकन गरे । नगरपालिकाकै अनुरोधमा फिल्मको नाम 'ग्याङ्स्टार रंगेली'बाट 'रंगेली'मात्रै राखे । तर, अचानक बोर्डले यस्तो प्रश्न गरेपछि निर्देशक सुवेदीले सेन्सरको झमेला झेल्नु पर्यो ।
'त्यहाँको नगरपालिकाकै सहमतिमा हामीले फिल्मको सुटिङ गरेका थियौं । त्यतिबेला पनि नगरपालिकासँग यसबारे कुरा गर्दा उहाँहरुले खासै पत्र आवश्यक नभएको बताउँदै सजिलै छायांकन गर्न दिनु भयो,'सुवेदी भन्छन्,'सेन्सर बोर्डमा फिल्म देखाइरहँदा किन फिल्म बनाएछु भन्ने अनुभव भयो । उनीहरु गम्भिर भएर फिल्म नै नहेरिदिने । हामीले उल्टै पैसा तिरेर फिल्म देखाउनुपर्ने, उहाँहरु भने कहिले ढोका खोल्ने, कहिले फोन चलाउने, हल्ला मात्रै गर्नुहुँदो रहेछ । उहाँहरुले फिल्ममा खासै चासो पनि दिनुहुन्न रहेछ ।'
