'एक भगवत गीता'को नाम परिवर्तन

कान्तिपुर संवाददाता

काठमाडौँ — विवादमा तानिएको 'एक भगवत गीता'को नाम परिवर्तन गर्ने निर्णयसँगै फिल्म प्रदर्शनमा आउने तय भएको छ । प्रदर्शनको ४ दिनअघि परिवर्तित नाम 'एक भागवत् र एक गीता' अनि कोष्ठकमा सामाजिक कथा लेख्ने सहमतिसँगै फिल्मको विवाद टुंगिएको हो ।

'एक भगवत गीता'को नाम परिवर्तन

फिल्मको नाम र चरित्र चित्रणमाथि आपत्ति जनाउँदै आएका विभिन्न धार्मिक संस्थाका प्रतिनिधि, फिल्म निर्देशक झरना थापा, निर्माता सुनीलकुमार थापा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, निर्देशक दीपकराज गिरी, दीपेन्द्र के खनाल र खगेन्द्र लामिछानेलगायतको उपस्थितिमा आइतबार विवाद टुंगिएको हो ।

'चलचित्र एक भागवत गीताको विवादबारे निर्माण पक्ष, उजुरीकर्ता र चलचित्रसँग सम्बन्धित संघ/संस्थाका प्रतिनिधिबीच भएको छलफलपछि शीर्षक परिवर्तन गरी एक भागवत् एक गीत र कोष्ठकमा सामाजिक कथा राख्ने सहमति भयो,' बोर्डका प्रवक्ता खेतुलाल बीसीले उपस्थितबीच निर्णय सुनाए ।

छलफलबीच निर्माण टिमले फिल्मको नामबीच ड्यास राख्ने विषय पनि उठेको थियो । तर, धार्मिक संगठनका प्रतिनिधिले त्यसमा सहमति जनाएनन् । उनीहरु फिल्मको नाम नै परिवर्तन गर्नुपर्ने पक्षमा उभिए । 'ड्यास राख्छौं भनेर जुन पोस्टर अहिले आएको छ, यसरी पनि हाम्रो शास्त्रको नाम यथावत नै हुन्छ । हामीले जुन विषय उठाएका थियौं, त्यसमा तात्त्विक अन्तर आएको छैन । यसले हाम्रो शास्त्रप्रति अनर्थ लागेको हामीलाई भान हुन्छ,' श्री वैष्णव परिषद् नेपालका सुदर्शन नेपालले भने,'यसरी नाम आउँदा हाम्रो शास्त्रको नाम यथावत् रुपमा आउँछ । यसले हाम्रो शास्त्रीय भावनामा ठेस पुग्छ भनेर हामीले हाम्रो असन्तुष्टि राखेका छौं ।'

फिल्म प्रदर्शनको अन्तिम घडीमा नामै परिवर्तन गर्न निर्माण पक्षलाई अप्ठ्यारो हुने बताउँदै निर्देशक दीपकराज गिरीले धार्मिक संगठनका प्रतिनिधिलाई सहमतिमा विवाद टुंग्याउन सहजीकरण गरिदिए । 'अतिवाद' हानिकारक रहेको भन्दै यो विवादलाई टुंग्याउने पक्षमा आइदिन प्रतिनिधिहरुलाई आग्रह गरे ।

'यो फिल्म बनेर प्रदर्शनको मुखमा छ । त्यसैले यो पक्षले भागवत गीता भन्ने नामै हटाएर दाइ बहिनी राख भन्दा उहाँहरुलाई गाह्रो हुन्छ । फिल्मको विषयवस्तु नै भागवत् गीतामा आधारित छैन भनेपछि फिल्मको पोस्टरमा किन बाँसुरीका कुरा, धार्मिकता देखाउने सामाग्री राख्ने? भन्ने कुरामा मेरो पनि सहमति छ । तर, फिल्मको नाम भागवत गीता नै नराख भन्दा निर्माण पक्षलाई अन्याय हुन्छ । उहाँहरुको नियतमा खराबी छैन,' दीपकराजले भने,'अहिले तिमी एक कदम पछाडि सार अलिकति म सार्छु भन्ने परिस्थिति हो । हाम्रो व्यवसायिकतामा पनि असर नआओस् अनि धार्मिकतामा पनि आँच नआओस् भन्ने कुराको मध्यविन्दु खोज्नुको विकल्प छैन । उहाँहरुले नामै हटाउन सक्नुहुन्न होला ।' यो विवादले फिल्मकर्मीलाई यस्तो विषयप्रति सजग हुन सहयोग गरेको पनि दीपकराजले बताए ।

छलफलबीच नै निर्देशक दीपेन्द्र के खनालले फिल्मको परिवर्तित नाम 'एक भागभत् एक गीता'को प्रस्ताव राखे । निर्माण टिमले त्यसमा सहमति जनाए पनि धार्मिक संगठनका प्रतिनिधि सहमत भएनन् । उनीहरुले निर्माण टिमले फरक-फरक नामहरु प्रस्ताव गरे ।

छलफलकै क्रममा निर्माता संघका अध्यक्ष नवल खड्काले अन्तिम परिस्थितिमा नाम परिवर्तन गर्दा त्यसले एउटा निर्मातालाई असर पार्ने धारणा राखे । 'अहिले फिल्ममा निर्माताको करोडौं खर्च भएको छ । अहिले नाम परिवर्तन गर्दा दर्शकले अर्कै फिल्म आयो भन्नेछन् । त्यसले उहाँहरुको लगानी जोखिममा पर्नेछ,' खड्काले भने ।

एक घण्टाको छलफलपछि भने धार्मिक संगठनका प्रतिनिधिले निर्माण टिमले प्रस्ताव गरेकै नाममा 'र' थपेर कोष्ठकमा सामाजिक कथा राख्ने निर्णयमा पुगेका हुन् ।

प्रकाशित : भाद्र २४, २०८० १७:३१
प्रतिक्रिया
पठाउनुहोस्