काठमाडौँ — कसैको ध्यान नपुगेको कथामा उनको आँखा पुग्छ । झट्ट हेर्दा भयंकर नलाग्ने तर सामान्य जीवनशैली । त्यही जीवनशैलीलाई कथामा बुनेरमा गीति कथा पस्किन माहिर छन्, नवीन चौहान । साधारण जीवनभित्रको मिहिन भावनालाई उधिनेर सरल दृश्य भाषामार्फत कथा पस्कन्छन् । 'बटौली', 'के माया लाग्छ र', 'तीनपाते', 'घुमीघुमी', 'बाफ', 'सुनाखरी' र 'पाहुना हजुर'लाई नै हेर्दा थाहा हुन्छ, उनी म्युजिक भिडियो निर्देशकमात्रै होइनन्; हाम्रै वरिपरिका विषय टपक्क टिपेर मनछुने शैलीमा कथा भन्न सक्ने कथा वाचकसमेत हुन् ।
लकडाउनबीच अत्यधिक चर्चामा आएको 'के माया लाग्छ र ?' बाट नवीनको सिर्जनात्मक जादू दर्शकले देखे । गाउँको परिवेश र रमाइलो मेलोडीले दर्शकको मन जित्यो । कोभिडबीच निरस बनेको जीवनलाई रमाइलो बनाउन उनले यो गीत बनाए । कोभिडअघि नै खिचिएको एउटा गीतका टन्नै फुटेज बाँकी थिए । 'केही लेख्न सकिन्छ ?' भिडियो पठाउँदै गीतकार हर्क साउदलाई सोधे । त्यही दिन हर्कले शब्द फुराए । गीतको कम्पोज एकै दिनमा भयो । ३/४ दिनमा त गीत नै तयार । 'के माया लाग्छ र ?' ले दर्शकको मन यसरी जित्ला भन्ने त चौहानले सोचेकै थिएनन् । गीत भाइरल भइदियो । गीतमात्रै होइन‚ भिडियोलाई पनि दर्शकले औधी रुचाए । गीत 'लुकिछिपी' को प्रिक्वेल भनेर सार्वजनिक गरिएको थियो । प्रिक्वेल ? अर्थात् लुकिछिपीभन्दा अघिको कथा !
खासमा नवीनले 'के माया लाग्छ र ?' भन्दा अघि 'लुकिछिपी' र 'बटौली' निर्देशन गरे । भिडियोमा खुबै मिहेनत लाग्यो । तर, गीतले नवीनलाई चिनाएन । यो क्षेत्रमा आइसकेपछि 'नोटिस' त हुनै पर्यो । अरुले नहेरुन्जेल आफ्नो कामको मूल्यांकन हुँदैन भन्ने राम्रोसँग बुझेका थिए । तर, अहोरात्र खटेर बनाइएका गीत खासै चलेनन् । 'लुकिछिपी' का लागि बढी भएको फुटेजमा बनाइएको गीत भने चल्दियो । जुन गीतबाट नचिनून् भन्ने चाहन्थे त्यही गीतले नवीन चिनिए । 'जहिल्यै कठोर परिश्रमबाट मात्र सफलता मिल्छ भन्ने एउटा धारणा त्यहीँबाट तोडियो । जीवनमा त्यो सधैँभरि लागू नहुँदो रहेछ । सजिलो ढंगबाट गरिएको कामले पनि कहिलेकाहीँ सफलता दिँदो रहेछ भन्ने भयो । ‘के माया लाग्छ र ?’ चल्दा रमाइलै अनुभव भयो‚' नवीनले गीत चर्चामा आउँदाका क्षण सम्झिए ।
'निर्देशक बन्छु/कथा भन्छु' भन्ने नवीनले कहिल्यै सोचेनन् । कथा वाचन गहन विषय हो भन्ने ठानेरै छुर्पी व्यापारमा लागे । त्यसअघि त नाटकको नियमित दर्शक‚ अभिनयतिर पनि रुची । रंगमञ्चमा २/३ वर्ष भोलन्टियर पनि गरेका थिए । अभिनय आफ्नो बाटो होइन भन्ने बुझेरै हो उनी व्यापारतिर मोडिएको । कला क्षेत्रलाई बिर्सेर ३/४ वर्ष व्यापारमै रमाए । व्यापारमा जम्न थालेपछि मनमा एउटै प्रश्न खेल्न थाल्यो, 'अब के त?' पैसाले मात्र सन्तुष्टि नमिल्ने रहेछ । रंगमञ्चका साथीहरू त्यतिन्जेल कोही फिल्ममा त कोही रंगकर्ममा अगाडि बढिसकेका । कसरी सुरु गर्ने ? 'स्टोरी टेलिङ' दिमागमै थिएन । निर्माता बन्ने सोचे । गीत/लघु फिल्म निर्माण गर्ने सोचसहित आर्टमाण्डू खोले । ‘असम्भव कुरालाई सम्भव गराइदिएको व्यापारको अनुभव थियो । छुर्पी व्यापारमा सुरुतिर सामान किन्नै मुस्किल । शून्यबाट व्यापार सुरु गरेँ । कला पनि शून्यबाटै सुरु गर्ने निधो गरेँ । त्यतिबेला २४ वर्षको थिएँ,’ व्यापारबाट कलामा लाग्दाको निर्णय सम्झे ।
च्यानल त खोले, तर राख्ने कन्टेन्ट के ? अनि सुरु भयो म्युजिक भिडियोको निर्देशक खोज्ने यात्रा । एक जना साथीले गीत गर्ने पक्का भयो । तर, भिडियो बनाइदिने निर्देशक पाएनन्, छुर्पी व्यापारमा छुर्पी नपाएजस्तो । कसैले धेरै पैसा मागिदिने, कतिले झुलाइदिने । पर्खेको पर्ख्यै ! कम्पनी खोलेको ६ महिनासम्म पनि एउटा भिडियो बनेन । एक दिन भोलन्टियर गर्दाका दिनमा आफैँले बनाएको लघु फिल्म हेर्दै थिए नवीन । त्यही गायक साथीले भने, 'ओह्हो ! तपाईं नै निर्देशक हुनुहुँदो रहेछ त, हाम्रो गीत तपाईं नै गर्नुस् ।' त्यतिन्जेल पनि निर्देशन गरिहाल्ने आँट जुटिसकेको थिएन । तर, कलेज पढ्दाका एक जना साथीलाई मोडल हुन अफर गरिहाले । अफर गर्दा सर्त राखे, 'यदि तिमीले यो गीतका लागि कथा ल्याउन सक्यौ भने मोडल बन्न पायौ ।’ 'उसले ल्याएको कथामा एक्सन/कट गर्न सक्छु । त्यो कुरालाई निकाल्न सक्छु भन्ने थियो । भोलिपल्ट उसले कथा ल्यायो । त्यतिबेलातिरको म्युजिक भिडियोमा सय प्रतिशतले गरिरहेको कथा । त्यतिबेला मलाई यही कथाको प्लटलाई कसरी फरक तरिकाले गर्न सक्छु भन्ने लाग्यो । अनि दुई प्रमुख पात्रको जात फेरिदिएँ । बाहुन केटो‚ केटी नेवार,’ उनी सुनाउँछन् । त्यही कन्सेप्टमा 'सम्झनालाई' बोलको म्युजिक भिडियो निर्देशन गरे । गीतले तालीभन्दा बढी गाली पायो । 'यस्तै गीत चल्छ होला भनेर बनाएँ । एकदम धेरै गाली खाएँ । ब्राह्मण समुदायलाई चोट पुगेछ । कसैलाई राम्रो पनि लागेछ । त्यतिबेला अर्को कुरा सिकेँ,’ नवीन भन्छन्, ‘आफू जे कुरामा दक्ष छ, जे कुरा बुझेको छ त्यसमै निर्देशन गर्नुपर्ने रहेछ । निर्देशन चानचुने कुरा होइन, यो त संवेदनशील विषय पो रहेछ भन्ने भयो ।'
'सम्झनालाई' पछि निर्देशनमा हातै नहाल्ने कसम खाए । तर, अन्तिमपल्ट आफूले बुझेको विषयमा एउटा म्युजिक भिडियो गर्नुपर्छ भन्ने पनि लाग्यो । एक दिन डुल्दै साथीको स्टुडियो पुगे, साथी गीत अरेन्जमा मस्त । छेउमा ढल्केर त्यही गीत सुन्दै गर्दा नवीनको दिमागमा कथा घुम्यो । साथीलाई सुनाइहाले । गायकसँग भिडियोको जिम्मा मागे । मुकुन भुसाल र सुर्विना कार्कीसँगै पुगे पाँचथर, म्युजिक भिडियो खिच्न । कथा दिमागमै थियो । हुस्सुले भरिएको मौसम । १० मिनेट परको मान्छे पनि नचिन्ने । टिममा थिए जम्मा ४/५ जना । भलिबल खेलेको दृश्य खिच्नुपर्ने, तर टिममा भएका सदस्य नपुग्ने । त्यतिबेलै कसैले सुझायो, 'सुटिङमा चाहिने मान्छे त प्रोडक्सनले पो हेर्छ । यस्तो कुराको पूर्वयोजना हुनुपर्छ । प्रोडक्सन म्यानेजर भन्ने पनि हुन्छ ।' त्यहीँ पुगेर प्रोडक्सन म्यानेजरको आवश्यकता थाहा पाए । आफूले सोचेको काम निकाल्न त टिमवर्क पो हुनुपर्ने रहेछ भन्ने पनि बुझे ।
६ दिन लगाएर 'लुकिछिपी'को भिडियो त खिचे तर सम्पादनमा आउँदा अर्को तनाव । ३ मिनेटको गीतका लागि १२ मिनेटको कथा । लामो अनुरोधपछि पाएको काम । गीत र भिडियोको तादात्म्य नमिलेपछि निल्नु न ओकल्नु भयो । भिडियोमा लागेको रकम निर्मातालाई फिर्ता गरेर चुपचाप बस्नेसम्म सोचे । 'त्यतिबेला कान समातेर जीवनभर निर्देशन गर्दिनँ भन्नेमा पुगें । पहिलाको गीतमा गाली खाएँ । यो पनि खत्तम गरिदिएँ भन्ने भयो,' उनी सम्झन्छन् । उनको तनाव देखेर मुकुन भुसालले इडिटर अनिमेष सापकोटासँग भेटाइदिए । अनिमेसले फुटेज हेर्नासाथ भने,'फुटेज त दामी छ त ।’ त्यतिबेला सम्पादनबारे अनिमेषले सिकाएको कुरा नवीनका लागि गुरुमन्त्र नै बन्यो । 'सुटिङ गर्नु एउटा प्रोसेस हो । तर, जब त्यो फुटेज डेस्कमा आउँछ, स्क्रिप्ट बिर्सनुपर्छ । यो फुटेजबाट राम्रो कथा कसरी भन्न सकिन्छ भनेर लागियो भने नसोचेको कथा बन्छ भन्नुभएको थियो । त्यतिबेला गुरुमन्त्र पाएँ झैं भयो,' नवीन सुनाउँछन् ।
अनिमेषको कुरा दिमागमा राखेर सम्पादन गर्दा आधा घण्टामै तयार भयो ‘लुकिछिपी’ । गीतले अवार्ड नै दिलायो । कमेन्टमा कतिले ‘अर्को आलोक नेम्वाङ जन्मियो’ भनेर लेखे । 'चुरा फुटाउने, बाँसमा नाम लेख्ने । आफूले देख्दै आएको कुरालाई भिडियोमा राखें । आफूलाई थाहा भएको कुरा मिलाएर देखाउन जानियो भने राम्रो हुँदो रहेछ भन्ने भयो,' आफ्नो अनुभव सुनाए । 'लुकिछिपी' पछि भिडियो निर्देशन दिमागबाट हटिसकेको थियो । एक दिन अचानक हर्कले नयाँ गीतको भिडियो गर्न आग्रह गरे । नाइँ भन्न सकेनन्, कथा तयार पारे । भिडियोमा विपिन कार्कीलाई खेलाउने कुरा भयो । नवीन विपिनका फ्यान । विपिनलाई भेटेर 'बटौली'को कथा सुनाउँदाको क्षण उनी अहिले पनि बिर्सँदैनन् । 'कथा त राम्रो छ । तर भन्ने एउटा‚ निस्किने अर्को हुन्छ भन्नुभयो । मैले अन्कनाउँदै लुकिछिपी देखाएँ । त्यसपछि दाइ तयार,' नवीनले विपिनसँगको प्रसंग सम्झिए ।
'बटौली' मा आइपुग्दा प्रोडक्सन म्यानजर राखे, सहायक निर्देशक पनि । त्यतिबेलासम्म भिडियो जसरी पनि खिचे हुन्छ भन्ने सोच्थे । 'बटौली' गरिसकेपछि दृश्य भाषातर्फ पनि काम गर्नुपर्दो रहेछ भन्ने बोध भयो । विपिनले नै दृश्य भाषाका लागि सिनेमेटोग्राफर राख्न हौस्याए । त्यतिबेला पनि नवीन विपिनलाई 'बटौली' नै आफ्नो अन्तिम प्रोजेक्ट रहेको बताउँथे । तर, विपिन उनलाई केही कुरा 'गड गिफ्टेड' हुने बताउँदै निर्देशनमा हौस्याउन छाड्थेनन्,'तिमी सरल हिसाबले कथा भन्छौ, तिमीमा पनि स्टोरी टेलिङको ब्लेसिङ होला नि?' विपिनको उत्साहले फुर्किए, फिल्म गर्नैपर्छ भन्ने भयो । उनी फुर्केर सर्किहाल्ने स्वभावका भने होइनन् ।
फिल्म बनाउनुअघि आफ्नो क्षमता फिल्ममेकिङको शैलीमा म्युजिकल फिल्म बनाउने सोचे । ठूलो टिम, ठूलो बजेट । १०/१२ मिनेटको भिडियोमार्फत कथा भन्ने सोचसहित डीओपी, ग्याफर, लाइटम्यानको जम्बो टोली बोलाए । आफूले बुझेको विषय रोजे, छुर्पी व्यवसाय । उद्यमशीलताको कथा भन्ने सोचसहित टोली पुग्यो इलाम । 'भोलिपल्ट सुटिङ थियो । म पर डाँडामा उभिएर सुटिङको बस हेर्न थालें । गुरुरु ! मान्छेहरू निस्के । यो सबै समूह मेरो लागि काम गर्न आएको हो भन्ने अनुभूतिले खुसी पनि लाग्यो । निर्देशकज्यू मनिटर अगाडि बस्नु भन्नुहुन्छ, बसें मज्जा आयो । त्यही दिन निर्देशक मनिटर अगाडि बसेर निर्देशन दिँदो रहेछ भन्ने भयो । मज्जाले बसेर हेर्न थालें, रमाइलो भयो,' तीनपाते खिच्दाका क्षण सम्झे । ५/६ दिन लाग्यो, 'तीनपाते' खिच्न । काठमाडौं फर्कँदा आइपुग्दा लकडाउन भयो ।
लकडाउनमा 'के माया लाग्छ र ?' हिट । १२ लाख खर्चेर बनाएको 'तीनपाते' अर्काको च्यानलबाट निकाल्ने तयारी थियो । तर, 'के माया लाग्छ र ?' ले आर्टमाण्डूको सब्सक्राइबर थपिदियो । तीनपाते, सुजन चापागाईंको पहिलो गीत । 'ऊ अर्कै गीत गर्न आएको थियो । उसको आवाजको सम्भावना त्यतिबेलै देखिसकेको थिएँ । यस्तो आइडियामा काम गर्दै छु भनेर भनेको थिएँ । ऊ पनि तयार भयो । हर्क दाइले गीत लेख्नुभयो,' नवीन सनाउँछन् ।
'आफैं मुस्काउ मुसुक्क, जुनतारा टिपी कोहीँ दिँदैन' गीतको यो अन्तरा भाइरल । 'तीनपाते'ले नवीनलाई निर्देशककै परिचयमा खुम्चाएन, उनी कथावाचक नै बने । भिडियो खिच्ने अनि मात्र गीत लेख्ने ट्रेन्ड सुरु भयो । 'अरुले हेर्दा त यो प्रोसेस उल्टो हो नि त । तर, हाम्रो लागि सुल्टो र सुगम त्यही भइदियो,' उनले भने । 'तीनपाते' पछि उनी फिल्म गर्ने सोचमै थिए । तर, लगातार दुईवटा गीत हिट भएपछि च्यानलमा अर्को नयाँ भिडियो राख्ने दबाब बढिहाल्यो । 'तीनपातेपछिको एक वर्षमा ३ सयदेखि ४ सय गीतको अफर आयो । मैले एउटामा पनि काम गरिनँ । किनभने मलाई फिल्मतिर जानु थियो,' उनी सुनाउँछन् । तीनपातेपछि क्यामेराबाट कथा कसरी भन्ने ? प्रोडक्सन डिजाइन अनि मौसमलाई लिएर गीति कथा खिच्ने अभ्यास थाले । भूगोलबाट कथा भन्न 'बाफ' खिच्न सिमानातिर लागे । 'बाफ'मा प्रस्तुत सीमावारि र पारीको सम्बन्ध र प्रेमलाई दर्शकले रुचाइदिए । 'तिम्रै दायाँ तिम्रै बायाँ, ज्यान घुम्छ फनफन्ती' मा टिकटक बनाउनेको ओइरो । सुजनको 'लजाएर' मा सहरको कथा पस्किए । त्यसबीच थुप्रै फिल्महरू हेरे । एक दिन विपिनसँग फेरि भेट भयो, नयाँ गीति कथा गर्ने कुरा भयो । अनि खिचियो - 'घुमीघुमी' ।
'द रोड होम' कोजस्तै मीठो दृश्य खिच्ने सोचसहित, 'चन्द्रमा' खिचे । दुई वृद्ध दम्पतिको जीवन देखाउने 'सुनाखरी' गरे । यो प्रोजेक्ट उनको हृदय नजिक छ । 'तीनपाते' खिचिसकेपछि उनी झट्टै काठमाडौं फर्केनन् । ३/४ जनाको टोली लिएर पूर्वमै बसे । योजना खिच्दा एउटा कथा होला । तर, बिनायोजना कतै पुगेर झट्ट कथा भन्न सक्ने खुबी पनि हुनुपर्यो नि भन्ने सोचेरै पूर्वतिर डुले । त्यतिबेला उनले पाँचवटा कथा खिचे । त्यसैमध्येको एक हो,'सुनाखरी' । अप्ठ्यारोमा पनि फूल्ने सक्ने सुनाखरीजस्तै बाँचिरहेका दुई जीवनको कथा । पुर्वेली संस्कृति झल्किने 'पाहुना हजुर' पनि त्यही अन्तर्गतको कथा हो । अझै ३/४ कथा बाँकी छन् । पाँचथरमा घुमीघुमी, पाहुना हजुरलगायत खिचेपछि नवीनको टिम इलाममा बस्यो । सधैँ बुढाबुढीको कथा भन्ने एउटा म्युजिक भिडियो गर्नुपर्छ भन्ने मनमा हुन्थ्यो । इलाम बस्दा ७० वर्ष कटेको बुढाबुढी खोज्न थाले । त्यही पात्रसँग गफिएर कथा बनाउने योजना थियो । ६ दिनसम्म खोजिरहे, भेटेनन् । उनीहरूको हैरानी देखेर होमस्टेकी दिदीले माथी गोठतिर बस्ने बुढाबुढीको ठेगाना पठाइदिए । रिहर्सल गर्ने सोचसहित भोलिपल्टै पुगे । त्यहाँ पुग्नुअघिको रातमा दिमागमा कथा खेलाउन थाले । एउटा फोटो फ्रेम बोकेर उकालो चढे, त्यहीँबेला दिमागमा कथा घुम्यो । छोराछोरी विदेशमा, आमाबुबा एक्लै ।
'उहाँहरूलाई कन्भिन्स गर्न ३/४ दिन लाग्ला भन्ने सोचेको थिएँ । आमा सुरुमा मानिरहनुभएको थिएन । आफू बितेर गइसकेपछि त्यो भिडियो हेरेर छोराछोरी, नाता/नातिनी रुन्छन् भन्ने पीर रहेछ । तर, बुबाले आमालाई पछिसम्म नाता/नातिनाले हामीलाई यही भिडियोमार्फत चिन्छ पो त भनेर सम्झाउनुभयो,' नवीन सुनाउँछन्, '१२ बजेबाट सुरु गरेको खिच्न ५ बजेसम्म ६० प्रतिशत सुटिङ सकियो । उहाँहरूलाई पनि भिडियोमा खेले झैं भएन । हामीले पनि सरल तरिकाले खिच्यौं । भोलिपल्टको १० बजे सकियो ।' जीवनको गाह्रो प्रोजेक्ट बन्ला भन्ने सोचेका थिए तर सबैभन्दा सहज त्यसमै भइदियो । मौसमले पनि साथ दियो । दिन सुरु हुँदाको दृश्य खिच्नु थियो, बिहानी घाम उदायो । रिसाएको दृश्यमा धुम्म कुहिरो । रिस हराउँदाको दृश्यमा हिउँ परिदियो । उनी खासै स्क्रिप्ट तयार पारेर खिच्दैनन् । पहिलो पटक स्क्रिप्टसहित खिचिएको भिडियो हो 'चन्द्रमा' । गीतमा सुटिङ र त्यससँग जोडिएका सम्बन्धहरुको कथा छ ।
नवीन अब 'ऊनको स्विटर'बाट फिल्म निर्देशनमा डेब्यू गर्दै छन् । फिल्मको स्क्रिप्ट तयार भइसकेको छैन । शीर्षक गीतको सानो अंशसँगै फिल्मको हालै घोषणा भयो । फिल्म गर्ने भन्दाभन्दै म्युजिकल फिल्ममा अल्झिएका नवीन अब भने फिल्म निर्देशनमै होमिएका छन् । 'मैले सबै कुरा गर्दै-सिक्दै अगाडि बढें । मैले जहिल्यै गीत र शब्दहरूबाट कथा भने ।त्यसमा संवाद थिएन । फिल्ममा त संवाद महत्त्वपूर्ण हुन्छ नि । संवादले दर्शक बाँध्न सकिन्छ/सकिँदैन भनेर 'चोरको स्वर' लेखें । फिल्म पनि भिडियोजस्तै निक्लियो भने भन्ने डरले नाटकमा अभ्यास गरें,' नवीन सुनाउँछन्, 'फिल्मकै लागि गरिएको जाँच थियो चोरको स्वर । कथावाचक होइन भन्दै भाग्दा-भाग्दै यहाँसम्म आइपुगें । मलाई मिसन इम्पोसिबलजस्तो फिल्म बनाउनुछैन । यस्तो पनि फिल्म हुँदोरहेछ त भन्ने बनाउनुछ, रैथाने मिसन इम्पोसिबलजस्तो । मैले गरेका भिडियोहरूमा आफ्नै स्वाद खोजेको त हो नि । हाम्रो जिब्रोलाई बर्गरभन्दा वन तरुल मिठो हुन्छ भन्ने देखाउन खोजेको हो । फिल्मकै स्वादमा पनि मैले धेरै सम्भावना देखेको छु । ऊनको स्विटरमा त्यस्तै स्वाद पस्कने मन छ । फिल्म म्युजिकल हुनेवाला छ है भन्ने खालको ट्रेलरजस्तो गीत पस्कें । फिल्म अर्को वर्षतिर सकिएला । हाम्रो फिल्मलाई सम्झिरहून् भनेर गीतको सानो अंश ल्याएँ ।'
