रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड : खरेललाई दीर्घ साधना

इन्डियन आइडल सिजन १० का बिजेता सलमान अलीसँगै प्रकाश सपुत, शिव परियार, सुवानी मोक्तान, स्वप्न सुमन, समीर श्रेष्ठ, राज सिग्देल, सुजाता वर्मा, प्रदीप रोदन, शंकर बिसी, सन्दिप क्षेत्री लगायतका कलाकार तथा साहित्यकारले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

असार २१, २०८०

रीना मोक्तान

काठमाडौँ — करिब ६ दशकदेखि गीत लेखनमा सक्रिय यादव खरेललाई दीर्घ साधना (लाइफटाइम अचिभमेन्ट) अवार्ड प्रदान गर्दै पाँचौँ ‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड’ सम्पन्न भएको छ ।

राजधानीमा बिहीबार सम्पन्न विशेष कार्यक्रमबीच खरेलाई पुरस्कार रकम एक लाख रुपैयाँ र ट्रफीसहित सम्मान गरिएको छ । त्यसका साथै विभिन्न १५ विधाका बिजेताहरूलाई अवार्ड वितरण गरियो । १५ विधाका लागि प्रत्येकतर्फ पाँच/पाँच मनोनयमा परेका थिए ।

उत्कृष्ट नव गायक/गायिकाको अवार्ड ‘रेलको बाटो’ बाट सुरज पण्डितले जितेका छन् । पण्डितसँगै अंकिता पुन, देवेन्द्र बब्लु, सलिन मगर र प्रशन्नमान शाक्य मनोनयनमा परेका थिए ।

उत्कृष्ट रचानाकारतर्फ ‘हर्क शाउद’ ले घुमीघुमी गीतबाट अवार्ड जितेका छन् । उनीबाहेक राजुबाबु श्रेष्ठ, आनन्द अधिकारी, कुमार नगरकोटी र लेखराज गिरी यस विधाका लागि मनोनीत भएका थिए ।

त्यस्तै, उत्कृष्ट संगीत निर्देशकतर्फ कार्की जी, राजु सिंह, हरि लम्साल, सुरज पण्डित र आनन्द राई मनोनीत भएकामा लम्सालले अवार्ड उचालेका छन् । ‘पीर’बाट सम्झना भण्डारीले उत्कृष्ट लोकदोहरी गायिका र गायकतर्फ प्रकाश सपूतले अवार्ड जिते । गायिकातर्फको विधामा सम्झनासँगै देवीघर्ती मगर, पूर्णकला बीसी, गीता देवी र शान्तिश्री परियार मनोनीत थिए भने गायकतर्फ प्रकाशसँगै कुलेन्द्र विश्वकर्मा, राजु परियार, प्रकाश दुतराज र रामजी खाँड मनोनयनमा थिए ।

उत्कृष्ट पार्श्व गायिकातर्फ अस्मिता अधिकारीले ‘बाबरी रंग’ बाट अवार्ड हात पारेकी छन् । यो विधातर्फ उनीसँगै प्रविशा अधिकारी, झुमा लिम्बू, सज्जा चौलागाईं र निकिता थापा मनोनयनमा परेका थिए । रवि ओड ‘ए मेरो हजुर’ बाट उत्कृष्ट पार्श्व गायक घोषित भए । यस विधामा ओडसहित अनमोल गुरुङ, सुरेश लामा, प्रताप दास र सत्यराज आचार्य मनोनयनमा परेका थिए ।

त्यस्तै उत्कृष्ट राष्ट्रिय संगीत विधातर्फ ‘आज मलाई यही माटो’ का गीतकार शान्तिराम भट्टराईले अवार्ड हात पारेका छन् । यस विधाको गीतकारतर्फ उनीबाहेक विजया श्रेष्ठ, टिआर पंगली, शरद पाण्डे र मीनबहादुर लामा मनोनयमा थिए ।

उत्कृष्ट पप गायिकामा सुवानी मोक्तानले अवार्ड उचालिन् । उनीसँगै यो विधामा त्रिशला गुरुङ, आस्था राउत, तृष्णा गुरुङ र अंकिता पुनः मनोनयनमा परेका थिए । स्वप्न सुमनले पप गायकतर्फ अवार्ड उचाले । उनले सुगम पोखरेल, सुशान्त केसी, सज्जनराज वैद्य र लोचन रिजाललाई पछि पारेका हुन् । उत्कृष्ट सांगीतिक समूहको अवार्ड भने अनुप्रस्थले प्राप्त गरेको छ । एम्टी ८८४८, अल्बाट्रस, १९७४ एडी, अभया एन्ड दि स्टिम इन्जिन यो विधामा मनोनयनमा परेका थिए । अनुप्रस्थले उक्त अवार्ड मंगलबार निधन भएका रकस्टार रबिन तामाङलाई समर्पण गरेको छ ।

उत्कृष्ट आधुनिक गायकको विधामा राज सिग्देलले अवार्ड जिते । यो विधामा उनीसँगै राजेशपायल राई, शिव परियार, सुरज पण्डित र रामकृष्ण ढकाल मनोनयनमा थिए । उत्कृष्ट आधुनिक गायिकामा रचना रिमालले यो अवार्ड जितिन् । उनीसँगै यो विधामा इन्दिरा जोशी, एलिना चौहान, सुनिता थेगिम र बानिका प्रधान मनोनीत भएका थिए । उत्कृष्ट युगल गीतको विधामा महेश काफ्ले र अस्मिता अधिकारीले अवार्ड पाए । ‘लजावति झार’ बाट उनीहरूले यो अवार्ड पाएका हुन् । त्यस्तै पिपुल च्वाइस अवार्ड सुशान्त केसीको पोल्टामा पर्‍यो । उनले एलिना चौहान, दिनेश दाहाल, प्रकाश सपूत–शान्तिश्री परियार र सज्जनराज वैद्यलाई पछि पारेका हुन् ।

रेडियो कान्तिपुरले २४ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा २०७८ देखि २०७९ साउनसम्म प्रसारणमा आएका गीतबाट बिजेताहरू घोषणा गरिएको हो । कार्यक्रममा इन्डियन आइडल सिजन १० (२०१८) का बिजेता सलमान अलीले कैलाश खेरका ‘तेरी दिवानी’, ‘मेरे रस्के कमर’, ‘ओ लाल मेरी’ लगायतका गीतमा विशेष प्रस्तुति दिए ।

कार्यक्रममा नेपाली गायक/गायिकाहरू प्रकाश सपूत, शिव परियार, सुवानी मोक्तान, राज सिग्देल र सुजाता वर्मा, गजलकार प्रदीप रोदन, शंकर बिसी, सन्दिप क्षेत्री, स्वप्न सुमन र समीर श्रेष्ठलगायतले विभिन्न गीतसंगीत प्रस्तुत गरेका थिए ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully