शक्तिको दुरुपयोग गर्ने नेतृत्वमाथिको व्यंग्य 'म्याकबेथ म्यासाकर'

रीना मोक्तान

काठमाडौँ — पृष्ठभूमिमा विजय बिगुल गुन्जिन्छ । मञ्चमा देखापर्छन्, तीन वीचहरू (दुष्टात्मा)। त्यतिकैमा उनीहरू घेरा बनाउँदै गाउन थाल्छन्, 'हातमा हात, तिनीहरु विचित्र । सात समुद्र अनि भूतहरूको चित्र । यताउता, यताउता छरिएर छरपस्ट । तीन तिम्लाई, तीन उसलाई, तीन यसलाई । शान्त, शान्त, शान्त । आउँदै छन् हाम्रो प्रिय मित्र । टुट्यो टुनामुना, चल्यो हाम्रो मन्त्र' ।

त्यसपछि ती दुष्टात्माको भेट स्कटल्यान्डका बहादुर योद्धा म्याकबेथ (राजकुमार पुडासैनी) र उनका साथी ब्यांको (वियज आनन्द ताम्राकार) सँग हुन्छ । त्यही भेटमै उनीहरूले म्याकबेथलाई कुनै दिन स्कटल्यान्डको राजा हुने भविष्यवाणी गरिन्छ । ब्यांकोलाई आफ्नो छोरा म्याकबेथपछिको राजा हुने सुनाइदिन्छ । दुष्टात्माका कुरालाई म्याकबेथ र ब्यांकोले सुरुमा पत्याउँदैनन् । म्याकबेथलाई हेर्दै दुष्टात्माले दोहोर्‍याउँछन्, 'महाराज, महाराज, महाराज' । विलियम सेक्सपियरद्वारा लिखित नाटक 'म्याकबेथ'को दृश्य हो यो ।

सेक्सपियरको नाटकमा नेपाली संवाद ? झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर, मण्डला नाटकघरमा मञ्चनरत नाटक 'म्याकबेथ म्यासाकर' को रमाइलो पाटो नै यही हो । करिब २ घण्टा ४५ मिनेट लामो यो नाटकमा सेक्सपियरियन अंग्रेजी (क्लासिक टेक्स्ट) कै प्रयोग छ । नेपाली र विदेशी कलाकारको जम्बो टोलीले सेक्सपियर शैलीकै अंग्रेजी संवाद बोल्छन् । तर, जब-जब दृश्यका बिचमा कलाकारले नेपाली संवाद घुसाउँछन्, त्यसले नाटकमा मिठास भरिदिन्छ । त्यहीमाथि ओपेरा संगीतको सम्मिश्रणले त रंगप्रेमीलाई नौलो स्वाद नै पस्किदिन्छ । नेपाली संवादको घोलन नाटकमा सौन्दर्य थप्न मात्र होइन, वर्तमान नेपाली समाजसँग जोड्नलाई पनि प्रयोग गरिएको देखिन्छ । नाटकको अर्को दृश्य त्यसको उदाहरण हो, जहाँ सिवार्ड (आशान्त शर्मा) ले त्यो समयको परिस्थितिलाई मिटरब्याजपीडितको अवस्थासँग जोड्छन् ।

वान वर्ल्ड थिएटरकी संस्थापक डेबोरा मेरोला निर्देशित सेक्सपियरको यो ट्राजेडी ओपेरा संगीतको मिश्रणले पनि सुन्दर बनेको छ । नाटकमा प्रमुख कलाकारको भावनालाई ओपेरा गायक/गायिकाको स्वरले उठाइदिएको छ । प्रमुख कलाकारले गहिरो पीडा अनुभव गर्दा होस् या उनको अन्यौलता । जिस्सेपी भर्डीका इटालियन ‌ओपेरालाई नाटकमा चलाखीपूर्ण ढंगमा प्रयोग गरिएको छ । रोय स्टिभन्सले म्याकबेथ र एनालिसा विन्बर्गले म्याकबेथ पत्नीका लागि ओपेरामा स्वर दिएकी छन् । संगीत र भिजुअल प्रोजेक्सनका हिसाबमा पनि 'म्याकबेथ म्यासकर' मा गरिएको प्रयोग रोचक छ ।

सेक्सपियरले उबेला लेखेको नाटक अहिले किन मञ्चन गर्नुपर्‍यो ? प्रश्न आउन सक्ला । तर, त्यतिबेला सेक्सपियरले लेखेको यो नाटक वर्तमान नेपाली समाजसँग मिल्दो छ । नाटकमा सत्ता र शक्तिको भोकमा मानव कसरी दानवसम्म बन्छ भन्ने कुरालाई देखाइएको छ । सत्ताको लोभमा हुने षड्यन्त्र, घुसपैठ अनि खिचातानीले नेपाली राजनीतिलाई व्यंग्य गरिरहन्छ । शक्तिको दुरुपयोगले मानवताको अन्त्य कसरी हुन्छ, 'म्याकबेथ म्यासाकर' ले प्रस्तुत गरेको छ । सत्तामा बसेर शक्तिको दुरुपयोग गर्ने नेतृत्वलाई पनि यो नाटकले प्रश्न गरेको छ । अन्धविश्वास र उच्च महत्त्वाकांक्षाले मानिसलाई कहाँसम्म डोर्‍याउँछ भन्ने बुझ्न सेक्सपियरको यो नाटक हेरे पुग्छ ।

सेक्सपियरले लेखेको नाटकमा भविष्यवाणी र विचक्राफ्टका कुरा हुने नै भए । 'म्याकबेथ म्यासकर' मा पनि ती कुरालाई ध्यानपूर्वक प्रस्तुत गरिएको छ । युद्ध जितेर फर्कँदै गर्दा तीन दुष्टात्माले बाटोमा म्याकबेथ र ब्यांकोलाई भेट्छन् । त्यही भेटमा म्याकबेथलाई राजा हुने अनि ब्यांकोलाई उसको छोरा म्याकबेथपछिको राजा हुने भविष्यवाणी गरिन्छ । त्यसपछि शक्तिको लोभमा पत्नीसँग मिलेर म्याकबेथले राजा डंकनको हत्या गर्छन् । म्याकडफका परिवार सखाप पारिन्छन् । म्याकबेथ शक्तिको आडमा कसरी अन्धो बन्छन् ? उनको मनोविज्ञान, उनीविरुद्धको चाल, क्रोध र प्रतिशोधबीच खेलिने रगतको होली 'म्याकबेथ' को वियोगान्तमा देखाइएको छ ।

नाटकमा थुप्रै कलाकार छन् । तर, विदेशीले निर्देशकले निर्देशन गरेको यो नाटकमा नेपाली कलाकारलाई पनि राम्रै भूमिका दिइएको छ । नेपाली र विदेशी कलाकारको अभिनयले पनि सेक्सपियरद्वारा लिखित यो नाटक नौलो र सुन्दर बनेको छ । म्याकबेथको भूमिकामा राजकुमार पुडासैनीले गरेको अभिनय तारिफयोग्य छ । शेक्सपेरियन अंग्रेजीलाई पुडासैनीले संवादमा सक्दो मेहनत गरेको देखिन्छ । राजा डंकनको भूमिकामा सजग राणाले गरेको अभिनय दमदार छ । त्यस्तै, ब्यांकोको भूमिकामा वियज आनन्द ताम्राकार, सिवार्डको भूमिकामा आशान्त शर्मा, म्यालकमको भुमिकामा शिशिर सिवाकोटी र विचको भूमिकामा पशुपति राईको अभिनय प्रशंनीय पाटो हुन् । एन्डी डेभिसले लेडी म्याकबेथको चरित्रलाई न्याय दिने अभिनय गरेकी छन् । यो नाटक कास्टिङका पक्षमा पनि बलियो छ । ओपेरा संगीत मिश्रित यो नाटक आइतबारसम्मका लागि मण्डला नाटकघरमा मञ्चन भइरहेको छ ।

प्रकाशित : जेष्ठ ११, २०८० १९:४७
प्रतिक्रिया
पठाउनुहोस्

मधेस प्रदेशमा ससर्त अनुदानको १ अर्ब २५ करोड रकम आफूखुसी वितरण

चुनावमा व्यस्त भएकाले समन्वय गर्न सकिएन :  मुख्यमन्त्री
अजित तिवारी

जनकपुर — मधेस प्रदेश अर्थमन्त्रालयले स्थानीय तहलाई वितरण गरिने ससर्त अनुदानको १ अर्ब २५ करोड रुपैयाँ आफूखुसी वितरण गरेको पाइएको छ । सबै पालिकालाई बराबरी ससर्त अनुदानको रकम वितरण गर्ने कार्यविधिलाई अवज्ञा गर्दै अर्थमन्त्री संजय यादवले १० प्रतिशत कमिसन लिएर मनमौजी गरेको प्रदेशका सांसदहरुले आरोप लगाएका छन् । 

आर्थिक वर्षको अन्त्यतिर विधि–प्रक्रिया नपुर्‍याएर दलीय झुकाव र कमिसन लिएर ससर्त अनुदानको रकम अर्थ मन्त्रालयले स्थानीय तहलाई दिएकोमा प्रमुख प्रतिपक्षी दल एमालेले बिहीबार प्रदेशसभाको बैठक अवरोध गर्‍यो । ससर्त अनुदान वितरणमा गरिएको बेइमानीबारे सरकारको जवाफ माग्दै एमालेका सांसदहरुले प्रदेश सभाको बैठक चल्न दिएनन् । मधेस प्रदेशको अर्थमन्त्रालयले पालिकाले माग गरेको योजनालाई हटाएर आफूखुसी योजना थपेर ससर्त अनुदानको रकम पठाएको छ ।

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिकाले गत चैत १३ गते २ करोड रुपैयाँको चारवटा योजना समावेश गरेर अर्थ मन्त्रालयलाई पत्र पठाएको थियो । तर, अर्थ मन्त्रालयले गाउँपालिकाले समावेश गरेको सबै योजना हटाएर १ करोड रुपैयाँको चारवटा अरु योजना हालेर ससर्त अनुदानको रकम पठाएको छ । सखुवानन्कारकट्टी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिवकुमार झाका अनुसार पालिकाले नमागेको योजना पनि हालेर अर्थले ससर्त अनुदानको रकम पठाएकोमा आश्चर्य जनाए । ‘पालिकालाई बाइपास गरेर ससर्त अनुदानमा अर्थ मन्त्रालयले आफूखुसी योजना समावेश गरेर रकम पठाएको छ,’ झाले भने, ‘अरु योजना कसरी समावेश भयो । कसले गर्‍यो ? हामी चकित छौं ।’

अर्थ मन्त्रालयले जेठको पहिलो साता मात्रै मधेस प्रदेशका १ सय ३६ स्थानीय तहलाई आफूखुसी ससर्त अनुदानको रकम वितरण गरेको छ । ससर्त अनुदान कार्यविधिमा नगरपालिका र गाउँपालिकालाई एकैनासको रकम पठाउनुपर्ने प्रावधान रहेपनि बढीमा ९ करोडदेखि घटीमा २५ लाख रुपैयाँ पठाइएको सांसदहरुको आरोप छ । अर्थले ससर्त अनुदानको रकम लैजानका लागि चैतमा प्रकाशन गरेको सूचना स्थगन गर्दै वैशाखमा फेरि अर्को सूचना निकालेको थियो । ससर्त अनुदानको योजना र रकम मागका लागि सम्बन्धित पालिकाको इमेलबाट अर्थ मन्त्रालयको आधिकारिक इमेलमा पठाउनुपर्ने प्रावधान छ । तर, अर्थले इमेलमा प्राप्त भएको योजनालाई बाइपास गरेर अरु माध्यमबाट आएको योजनामा ससर्त अनुदानको रकम हालेर पठाएकोमा स्थानीय तहका जनप्रतिनिधिले आपत्ती जनाएका छन् ।

प्रदेश सांसद नागेन्द्रप्रसाद साहले आफू जितेको क्षेत्रमा पर्ने दुर्गाभगवती गाउँपालिकाको लेटर हेडमा माग गरिएको योजना ससर्त अनुदानमा नसमेटिएकोमा प्रदेशसभा बैठकमै आपत्ति जनाए । ‘माननीयज्यू तपाई्रले लग्नुभएको योजना किन परेन भनेर मेरो मजाक उडाइँदैछ,’ साहले सभामुखतिर हेर्दै भने, ‘म के जवाफ दिउँ ?, आफ्नै बेइज्जती के सुनाउनु भनेर चुप छु ।’ अर्थ मन्त्रालयले कमिसन लिएर पालिकामा ससर्त अनुदानको रकम पठाएको उनले आरोप लगाए । ‘मेरै वडाको कुरा गर्छु । मैले मागेकै योजना अर्को लेटर हेडमा आएकोलाई अर्थ मन्त्रालयले स्वीकृत गरेर रकम पठायो,’ सांसद साहले भने, ‘वडाध्यक्षलाई मुख देखाउन लाज भयो ।’

प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता सरोजकुमार यादवले ससर्त अनुदानको रकम वितरणमा अर्थ मन्त्रालयले मनोमानी गरेको आरोप लगाए । ससर्त अनुदान रकम कुन दलको जनप्रतिनिधि जितेको छ, त्यसको आधारमा जाने हो कि ? भनेर प्रदेशसभा बैठकमा उनले प्रश्न गरे । ‘ससर्त अनुदानको रकम वितरणमा गज्याङगुजुङ भएकै हो । केही अदृष्य विषयवस्तु छ,’ विपक्षी नेता यादवले भने, ‘मेरै क्षेत्रको एउटा पालिकामा ससर्त अनुदान गएको छ, अर्को पालिकामा छैन ।’ उनले ससर्त अनुदानको रकम वितरणमा बदमासी भएको भन्दै संसदीय छानविन समिति गठनको माग गरे । माओवादी(केन्द्र)का संसदीय दलका नेता भरतप्रसाद साहले अर्थ मन्त्रालयमा चरम बेथिति रहेको बताए । ‘हाकाहाकी १० प्रतिशत रकम (कमसिन) लिएर अनुदान पठाइएको छ, बारा उपनिर्वाचनको खर्च उठाउन थालेछ कि क्या हो’ उनले भने ।

ससर्त अनुदान वितरणमा मनोमानी भएको सम्बन्धमा सरकारको जवाफ माग्दै एमालेले प्रदेशसभाको बैठक अबरोध गरेपछि प्रदेशसभा पुगेका मुख्यमन्त्री सरोजकुमार यादवले राष्ट्रपति, उपराष्ट्रपति र बारा उपनिर्वाचनमा व्यस्त भएकाले ससर्त अनुदान वितरणमा समन्वय गर्न नसकिएको बताए । ‘चुनावमा व्यस्त भएकाले सांसदहरुसँग समन्वय हुन सकेन । अब बजेट र नीति तथा कार्यक्रममा सांसदहरुको भावनाको कदर गरिनेछ,’ मुख्यमन्त्री यादवले प्रदेशसभा बैठकमा भने, ‘ससर्त अनुदानमा चलखेल र बिचौलियालाई हाबी हुन दिन्नौं ।’


प्रकाशित : जेष्ठ ११, २०८० १९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×