पूर्वमिस वर्ल्ड मानुषीको फिल्म छायांकन नेपालमा

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वमिस वर्ल्ड मानुषी छिल्लरको नयाँ फिल्म नेपालमा छायांकन गरिएको छ । शक्ति प्रतापसिंहको निर्देशनमा हालै नेपालमा छायांकन गरिएको भिटी १३ (अहिलेका लागि नाम) लाङटाङ, सिन्धुपाल्चोकको जुगल हिमाल सेरोफेरोमा छायांकन गरिएको हो ।

फिल्ममा मानुषीसँगै वरुण तेजको अभिनय छ । फिल्ममा निर्देशक एवं निर्माता फुर्वा शेर्पा नेपालका तर्फबाट लाइन प्रड्युसरका रुपमा जोडिएका छन् । यसअघि थुप्रै अन्तर्राष्ट्रिय प्रोजेक्टमा फुर्वा जोडिसकेका छन् । सिएनएन, नेश्नल जियोग्राफी, एबिसी र लन्डनको स्टोरी टेलर्स प्रोडक्सन कम्पनीका लागि काम गरिसकेका फुर्वा नेपालमा फिल्म छायांकन गर्न फिल्मकर्मीहरु आकर्षित हुन थालेको बताउँछन् ।

'नेपाली फिल्महरु विदेशमा छायांकन गर्न गइरहेका हुन्छन् । तर, अहिले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र सम्पदाले विदेशी फिल्मकर्मीलाई आकर्षित गरिरहेको छ । त्यसैले पछिल्लो समय विदेशीहरु हाम्रो देशमा फिल्म छायांकन गर्नलाई आइरहेका छन्,' फुर्वाले भने, 'नेपाल छायांकन स्थलको रुपमा चर्चित बनिरहेको छ ।'

'भी १३' मा नेपालका सुन्दर हिमालका दृश्यहरु खिचिएको फुर्वाको भनाइ छ । यसअघि फिल्म छायांकनकै लागि बलिउड अभिनेत्री परिणिती चोपडा, बोमन इरानी र अनुपम खेर नेपाल आएका थिए ।

प्रकाशित : चैत्र १०, २०७९ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्

'बुद्ध थिएटर फेस्टिभल' चैत १३ देखि

कान्तिपुर संवाददाता

काठमाडौँ — चैत १३ गतेदेखि 'बुद्ध थिएटर फेस्टिभल'को तेस्रो संस्करण सुरु हुने भएको छ । जमलस्थित सांस्कृतिक संस्थानमा आयोजना हुने फेस्टिभल चैत १७ सम्म चल्ने आयोजकले जनाएको छ ।

गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वसामु चिनाउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको महोत्सवका निर्देशक पुष्कर गुरुङले बताए । फेस्टिभलमा ६ नाटक मञ्चन गरिनेछ ।

त्यस्तै माया थापाको निर्देशनमा तयार भएको नृत्य नाटिका 'चण्डालीका' समेत मञ्चन हुनेछ । रंगकर्मी अनुप बराललाई उद्घाटनमा नगद ५० हजारसहितको 'डबली अवार्ड' प्रदान गरिनेछ । यसअघि फेस्टिभलमा विदेशी नाटक पनि मञ्चन भएको थियो । तर, कथावस्तु नमिलेपछि यो पटक विदेशी नाटक नराख्ने योजना भएको आयोजकले जनाएको छ । यो फेस्टिभल वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थिएटरको आयोजनमा हुन लागेको हो ।

प्रकाशित : चैत्र १०, २०७९ २०:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×