राजनीति र कर्मचारीतन्त्रका विषय सतही रुपमै उठाइँदा यो संस्करण पनि अन्य श्रृंखलाभन्दा माथि उठ्न सकेको छैन । फिल्म मूल मुद्दामा नभई अन्य विषयहरुमै अल्झिरहन्छ ।
काठमाडौँ — द्वन्द्वबिना कथा अगाडि बढ्न सक्दैन, पटकथा लेखनमा थुप्रैले अपनाउने शैली यही हो । पात्रको उत्कट इच्छा र त्यो प्राप्तिका लागि गर्नुपर्ने संघर्षमा आधारित हुन्छ, द्वन्द्व । त्यसैले जति बलियो इच्छा हुन्छ त्यति नै संघर्ष पात्रले गर्नुपर्ने हुन्छ । यदि कथामा द्वन्द्व हुँदैन, पात्रले संघर्ष नै गर्नुपर्दैन भने त्यस्ता कथाले लय गुमाउँदै जान्छन् ।
द्वन्द्वबिना कथा फितलो र अपरिपक्व हुन्छ । संरचना नमिलेको लेखनले भन्न खोजेको कुरा पष्ट्याउँदैन पनि । हेमराज बिसी निर्देशित 'छक्का पञ्जा- ४'को प्रमुख समस्या यही हो । फिल्मको केन्द्रीय द्वन्द्व स्पष्ट नहुँदा निर्देशकले फिल्ममार्फत् भन्न खोजेको कुरा पनि अस्पष्ट छ ।
प्रतिनिधिसभा सदस्य निर्भय सिंह (नीर शाह)का छोरा हुन्, दिग्विजय सिंह(दीपकराज गिरी) उर्फ 'राजा' । गुन्डा नाइके ! मिटर व्याजीका रुपले परिचित उनी टोले गुन्डासहित लफडा गर्नमा माहिर । एकीकृत निष्पक्ष दलबाट निर्वाचनमा होमिनै लाग्दा निर्भय बिमार पर्छन् । बोल्न नसक्ने, शरीर नचल्ने रोग लागेपछि निर्भयले नै निर्वाचनमा पार्टीबाट सहभागी हुने उम्मेदवार चुन्नुपर्ने हुन्छ । पार्टीकै अर्का नेता नरोत्तम (रमेश बुढाथोकी) आशावादी हुन्छन् । तर, निर्भयले छोरालाई रोज्छ । त्यसपछि झैझगडा र मारपिटमा कुख्यात दिग्विजयले भागलपुरबाट चुनाव लड्ने तयारी थाल्छ । दिग्विजयले राजनीतिमा आफ्नो स्थान बनाउला त ? खराब छविले ल्याउने समस्याबीच समाधानको बाटो कस्तो पहिल्याउलान् ? 'छक्का पञ्जा ४'को कथा यही सेरोफेरोमा घुम्छ ।
राजनीति र कर्मचारीतन्त्रलाई व्यंग्य गर्न खोज्नु यो फिल्मको सकारात्मक पाटो हो । राजनीतिमा हुने गुन्डागर्दी, योग्यलाई भन्दा आफ्नालाई टिकट, युवा र पुराना नेतृत्वबीचको लडाइँ, राजनीतिक खिचातानीलगायत विषयलाई फिल्मले छोएको छ । त्यस्तै सरकारी कर्मचारीले गर्ने ढिलासुस्ती र त्यसमा सत्ता र शक्तिमा भएकाले निभाउन सक्ने भूमिकामाथि पनि व्यंग्य गरेको छ । बढ्दो पपुलिष्ट, युट्युबकारिता, साइबरसेना, विवाहेत्तर सम्बन्धलगायत थुप्रै विषयलाई समेट्न खोज्दा 'छक्का पञ्जा ४', उठाउन खोजेको मूल मुद्दाको गहिराइमा भने पुग्दैन । राजनीति र कर्मचारीतन्त्रका विषय सतही रुपमै उठाइँदा यो संस्करण पनि अन्य श्रृंखलाभन्दा माथि उठ्न सकेको छैन । फिल्म मूल मुद्दामा नभई अन्य विषयहरुमै अल्झिरहन्छ ।
फितलो पटकथा, दुइअर्थी र स्त्रीद्वेशी संवाद अनि कमजोर महिला चरित्रचित्रण यो श्रृंखलामा पनि दोहोरिएको छ । फिल्मको प्रमुख पात्र दिग्विजयले फिल्ममा कुनै कुरा पाउनका लागि खासै मिहेनत नै गर्नुपर्दैन । सबै सजिलै उनको अगाडि आइपुग्छ । चुनावमा विपक्षी कमजोर भइदिन्छ । आफूविरुद्ध बोल्दै हिँड्ने युट्युबर एलिसा(बेनिशा हमाल) सजिलै उनको पक्षमा उभिन्छिन् । मन्त्री बन्ने प्रकृयामा पनि ठूलो संघर्ष गर्नुपर्दैन । प्रमुख पात्रले यसरी सजिलै सबै कुरा सामना गर्दा फिल्मको कथाले खासै दर्शकलाई बाँधेर राख्न सक्दैन । दर्शकमा अब के होला भन्ने हुटहुटी पनि हुँदैन । फिल्मको पटकथा कसिलो भइदिएको भए क्लाइमेक्स पनि क्लिसे लाग्दैनथ्यो ।
थुप्रै विषयलाई समेट्न खोज्दा-खोज्दै बटुल्न नसकेर पोखिएको छ, 'छक्का पञ्जा- ४' । फिल्मको कथा/पटकथामा दीपकराजले अझै मिहेनत गरेको भए यी कमजोरी भेटिँदैनथे सायद । पहिलो हाफमा दिग्विजयलाई खराब चरित्रको देखाइए पनि दोस्रोमा जबर्जस्त परिवर्तित देखाउन खोजिएको छ । यद्यपि उनमा आएको परिवर्तनको कारण दर्शकलाई बुझाउन चुकेका छन्, निर्देशक बिसी ।
यो श्रृंखलामा तुलनात्मक रुपमा अघिल्लाभन्दा दुईअर्थी शब्दको प्रयोग कम छ । तर, स्त्रीद्वेशी संवादलाई भने दर्शक हसाउनकै लागि प्रयोग गरिएको छ । आइटम, सहकारी संस्था(कतिखेर छोडेर भाग्ला थाहा नहुने), परराष्ट्र मन्त्रालयसँग महिलालाई दाँजिएको छ । फिल्मको सबैभन्दा कमजोर पक्ष नै परम्परागत महिला चरित्रचित्रण हो । 'क्रेजी काठमाडौं' युट्युब च्यानलकी युट्युबर एलिसा(बेनिशा)लाई पैसाका लागि सत्यको बाटो छोडेर गलत व्यक्तिसँग उभिन तयार महिलाको रुपमा चित्रण गरिएको छ । लुनिभा र मलिना जोशीको चरित्रलाई त दुई सौतेनीको झगडा देखाउन मात्र राखिएको भान हुन्छ । त्यस्तै, फिल्ममा अभिनेत्री दीपाश्री निरौला पनि दिग्विजयको सतिसावित्री पत्नीको रुपमा देखिएकी छन् ।
फिल्ममा थुप्रै चरित्र छन् । पात्रहरुको चरित्र स्थापनामा पनि समस्या देखिन्छ । एउटै दृश्यमा डीआईजी सुरेन्द्र राई(शिशिर वाङदेल) लाई शक्तिशाली देखाइन्छ, तर छोरीका बावुका रुपमा कमजोर । दिग्विजयका छोरा हरेकृष्ण(राज आचार्य)लाई क्लाइमेक्स दृश्यका लागि मात्रै फिल्ममा स्थान दिइएको अनुभव हुन्छ । त्यसबाहेक उनको चरित्रले मूल मुद्दामा खासै टेवा पुर्याउँदैन । त्यस्तै, यसपटक फिल्ममा राजासँगको साथीहरुको दोस्ती पनि बलियो देखाइएको छैन । पहिलो हाफसम्ममा साथी संजेल(माग्ने बुढा) र बुद्धि राजालाई सहयोग गर्न आइपुग्छन् । तर, दोस्रो हाफपछि बुद्धि खासै देखिँदैनन् । गाउँका शिक्षक संजेललाई भागलपुर नै बिर्सेर सहरमा राजालाई सहयोग गरिरहेको देखाउनु विश्वनीय लाग्दैन । त्यसमाथि चुनाव लड्दा राजाले बाँडेको पुल बनाउने सपना त्यतिञ्जेल हराइसक्छ ।
फिल्मको खिचाइ(सिनेम्याटोग्राफी)मा कला भेटिन्न । 'दर्शन सलाम' गीतका कति दृश्य फोकसमा चिप्लिएको छ । थुप्रै दृश्यमा नेचुरल लाइटले आँखा बिझाउँछ । दरबारिया भाषाको प्रयोग कति ठाउँमा कर्कसपूर्ण सुनिन्छ । छक्का पञ्जाका यसअघिका तीनवटै श्रृंखला दीपाश्री निरौलाले निर्देशन गरेका हुन् । तर, चौथौं श्रृंखला भने लभस्टोरी विधाका निर्देशक हेमराज बिसीले गरेका हुन् । तर, चौथौ श्रृंखलामा पनि यसअघिका फिल्ममा देखिएका गल्तीहरु दोहोरिए । छक्का पञ्जाको छुट्टै ब्रान्ड बनाउन सफल दीपक र दीपाले अब भने यो बुझ्नुपर्छु, भान्से बदल्दैमा तरकारीको स्वाद फेरिँदैन, त्यसका लागि मसला र सरसामग्री नै बदल्नुपर्छ । त्यसैले निर्देशक फेर्नुभन्दा लेखनमै मिहेनत गर्नतर्फ ध्यान दिनुपर्छ ।
