कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त

काठमाडौँ — अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो । 

भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो ।

उम्मेदवारहरूमध्ये मुख्य दाबेदारका रूपमा अभिनेता भुवन केसी र सम्झना उप्रेती रौनियारको चर्चा दयाराम दाहालको कार्यकाल सकिएलगत्तै सुरु हुन थालिसकेको थियो ।

अभिनेता केसीमाथि केही समयअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

पछिल्लो समय केसी सक्रिय राजनीतिमा आउन खोजिरहेका थिए । पहिलो संविधानसभा चुनावपछि केसी एमाले प्रवेश गरेका थिए । दोस्रो संविधान सभा चुनावमा एमालेले उनलाई समानुपातिक उम्मेदवार बनाउन खोजेको थियो । तर पार्टीभित्र चर्को विरोध भएपछि उनको टिकट खोसिएको थियो । त्यसपछि उनको नाम कहिले राप्रपा त कहिले उन्नत लोकतन्त्र पार्टीसँग जोडिएको थियो ।

गत स्थानीय तहको चुनावमा केसीलाई स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले काठमाडौंको मेयरको उम्मेदवारका रूपमा घोषणा गरेको थियो । तर केसीले भने प्राविधिक तथा कार्यव्यस्तताका कारण उम्मेदवार बन्न असमर्थ रहेको बताएका थिए । गत वैशाख २० गते केसी अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहित कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टीका थाप्दै तीन कलाकार कांग्रेश प्रवेश गरेका थिए । उनीहरूलाई वरिष्ठ कलाकार नीर शाहको पहलमा कांग्रेस प्रवेश गराइएको हो ।

प्रकाशित : श्रावण ९, २०७९ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?