कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रियंका रानी जोशी बनिन् मिस नेपाल

काठमाडौँ — ‘मिस नेपाल वर्ल्ड २०२२’ उपाधि काठमाडौं निवासी २४ वर्षीया प्रियंका रानी जोशीले हात पारेकी छन् । उनले आमसञ्चार र अंग्रेजी साहित्यमा स्नातक गरेकी छन् । शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २२ प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले ‘मिस नेपाल वर्ल्ड २०२२’ उपाधि जितेकी हुन् । उनले मिस डिलाइट उपाधिसमेत हात पारिन् ।

प्रियंका रानी जोशी बनिन् मिस नेपाल

ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीमध्ये उत्कृष्ट १२, ६, हुँदै अन्तिम ३ को प्रतिस्पर्धामा जोशी छनोट भएकी हुन् । उपाधिसँगै उनले ‘मिस वर्ल्ड २०२२’का लागि नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छिन् । उनलाई ‘मिस नेपाल २०२०’ नम्रता श्रेष्ठले ‘क्राउन’ पहिराइदिएकी थिइन् ।

त्यस्तै ‘मिस नेपाल अर्थ’ को उपाधि भने संखुवासभाकी २५ वर्षीया सरिशा श्रेष्ठले र ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि प्रतियोगी विराटनगरकी २४ वर्षिया न्यान्सी खड्काले जितेका छन् । मिस कन्फिडेन्टको उपाधि पनि मिस नेपाल अर्थ श्रेष्ठले नै जितिन् भने ‘मिस पपुलर चोइस’ उपाधि खड्काले हात पारिन् । ‘मिस नेपाल सुप्रानेसनल’ फ्रेन्चाइजलाई भने यस वर्ष निरन्तरता दिइएको छैन ।

त्यस्तै सहउपाधितर्फ ‘मिस ब्युटी विथ पर्पज’ प्रतियोगी स्मारिका शर्मा, रोज कँडेल ‘डाबर अमला मिस ब्युटीफुल हेयर’ र द काठमाडौं पोस्ट ‘मिस इन्टलेक्च्युअल’, ‘फार्मेसी फेस अफ २२’ गंगा गुरुङ, ‘मिस फोटोजेनिक’ ममता ढकाल र ‘मिस ग्ल्यामर’ सोफिया श्रेष्ठ घोषित भइन् ।

यस वर्षको मिस नेपालमा देशभरबाट झन्डै ८ सय जनाले आवेदन दिएका थिए । आवेदकहरुमध्ये १ सय ९६ जना छनोट गरी २३ जना प्रतिस्पर्धीहरु ग्रान्ड फिनालेमा प्रतिश्पर्धाका लागि सहभागी थिए ।

‘मिस नेपाल पेजेन्ट’मा देशभरबाट प्रतिनिधित्व बढाउन सातै प्रदेशमा मुख्य सहरहरु काठमाडौं लगायत वीरगन्ज, धरान, धनगढी, नेपालगन्ज, पोखरा र सुर्खेतमा प्रतिस्पर्धाका लागि अडिसन लिइएको थियो ।

निर्णायक मण्डलमा मिस नेपाल २०१९ कि अनुश्का शर्मा, २०१७ कि मिस नेपाल इन्टरनेसनल नीति शाह, चलचित्र निर्देशक निश्चल बस्नेतसहित शिक्षा, सञ्चार, प्रशासनलगायत क्षेत्रका पुनम घिमिरे, बलराम पाठक, लाक्पा वाग्मो शेर्पा, दीपक थापाजस्ता व्यक्तित्वहरु थिए । यस वर्ष मिस नेपाल सौन्दर्य प्रतियोगिता ६ जना डाक्टर, ३ जना इन्जिनियर, उद्यमी र सञ्चारकर्मी थिए ।

हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले अन्तिम प्रतिस्पर्धीहरुको नाम घोषणा गरेका थिए ।

प्रकाशित : असार ४, २०७९ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?