कबड्डीको कीर्तिमान- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कबड्डीको कीर्तिमान

पहिलो दिनै साढे तीन करोडको व्यापार
रीना मोक्तान

काठमाडौँ — दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले नेपाली हलमा रातभर हंगामा मच्चाएको धेरै भएको छैन । ‘आरआरआर’ ले पनि नेपाली बक्स अफिसमा राम्रो कमाइ गर्‍यो । विदेशी मात्रै होइन, नेपाली फिल्मले पनि हाउसफुल दर्शक पाउँछन् भन्ने पछिल्लो उदाहरण बनेको छ, ‘कबड्डी ४’ । फिल्मका निर्देशक रामबाबु गुरुङ र वितरक गोविन्द शाहीको दाबी मान्ने हो भने फिल्मले पहिलो दिन सबैभन्दा ठूलो व्यापार गर्ने रेकर्ड बनाएको छ ।

‘नेपाली फिल्ममा यस्तो ओपनिङ मैले देखेकै थिएन,’ हिन्दी फिल्मका वितरक मनोज राठी भन्छन्, ‘एड्भान्स बुकिङमा जुन हिसाबको भीड थियो, म त अचम्म परें । मल्टिप्लेक्समा जति शो छ, त्यसमा शतप्रतिशत अकुपेन्सी छ ।’ यसलाई घरेलु फिल्मको शक्ति ठान्छन् उनी । ‘विदेशी फिल्मले नेपाली चल्न दिएन भनेर रोइकराइ गर्छन् । हिन्दी डब ल्याउनु भएन भन्छन्,’ राठीले भने, ‘यस्तो फिल्मले विदेशी फिल्मलाई पाखा लगाइदिँदो रहेछ । राम्रो फिल्म बनायो भने हिन्दी फिल्म नै आउँदै नि ।’ कोभिडपछि प्रदर्शनमा आएका पुष्पा, केजीएफ र आरआरआरले कबड्डी जतिको व्यापार नगरेको उनले बताए ।

राठीले उपत्यकाबाहिरको वितरण हेरेका छन् । फिल्मले मोफसलबाट पहिलो दिन डेढ करोडको व्यापार गरेको उनको अनुमान छ । ‘कबड्डी ४’ का अर्का वितरक गोविन्द शाहीका अनुसार फिल्मले सबैभन्दा धेरै मल्टिप्लेक्स च्यानल रहेको क्यूएफएक्समा शुक्रबार १ सय ७ शो प्राप्त गर्‍यो । यसअघि १ सय ५ शो दिएकामा पछि बढाएर १ सय ७ पुर्‍याइएको हो । यो संख्या आइतबारसम्म बढ्ने देखिन्छ । फिल्मले पहिलो दिन नेपालभरबाट साढे तीन करोडको व्यापार गरेको आकलन गरिएको शाही बताउँछन् । उनका अनुसार आइतबारसम्म लगभग सबै टिकट ‘सोल्डआउट’ भइसकेका छन् ।

‘नेपालको फिल्म इतिहासमा यस्तो व्यापार यसअघि कुनै फिल्मले गरेकै थिएन । पहिलो दिन न हलिउडले गरेको छ न बलिउडले । कबड्डीले त यसपालि इतिहास रच्यो,’ शाहीले भने । फिल्मलाई बिग मुभिजले १७ र एफक्युबले पनि १७ शो दिएका छन् । कीर्तिपुर हलमा ६ वटा शो सबै हाउसफुल छन् ।

क्यूएफएक्सका कार्यकारी अधिकृत रोशन अडिगा विदेशी फिल्म एकसाथ प्रदर्शनमा नआउँदा कबड्डीले सर्वाधिक शो पाएको बताउँछन् । ‘अहिले त क्यूएफएक्सका हल पनि बढिरहेका छन्, त्यस अर्थमा शो बढ्ने नै भयो । केजीएफले ८० शो पाएकामा कबड्डीले ९० भन्दा बढी पाएको छ,’ उनले भने, ‘हुन त फिल्मको गुणस्तरअनुसार नै शो दिने हो । यो फिल्मचाहिँ अहिलेसम्मकै धेरै शो पाउने फिल्म बन्यो ।’

फिल्मको गुणस्तर र प्रचारप्रसारमा ध्यान दिए नेपाली फिल्म पनि चल्छ भन्ने सन्देश कबड्डीले दिएको वितरक शाही बताउँछन् । ‘राम्रो प्रचारप्रसार गर्‍यो भने नेपाली फिल्मले विदेशीलाई विस्थापित गर्छ भन्ने यो फिल्मले देखाइदिएको छ,’ उनले भने ।

कोभिडपछि फिल्म बजार डिजिटल प्लेटफर्ममा मौलाउन थालेको छ । यद्यपि नेपालमा यो प्लेटफर्म फिल्म प्रदर्शनको खासै विकल्प बन्न सकेन । हलमा बसेर फिल्म हेर्नुको स्वाद दर्शकले नबिर्सिदिएकै कारण यो सफलता हासिल गरेको बताउँछन्, फिल्मका निर्देशक रामबाबु गुरुङ । ‘रेकर्ड तोडेको कुरा त्यति महत्त्वपूर्ण होइन । रेकर्ड त बन्दै जाने हो, तोडिँदै जाने हो,’ उनले भने, ‘खुसीको कुरा, दर्शकमा हलसम्म आएर फिल्म हेर्ने रहर मरेको छैन रहेछ ।’

फिल्ममा तीन करोडको लगानी गरिएको भनिएको छ । निर्देशक गुरुङका अनुसार रिलिजअगाडि नै फिल्मले डिजिटल राइट्स र ओभरसिज राइट्स (विदेश व्यापार) बाट लगानी उठाइसकेको छ । पहिलो सिरिज विदेशमा अत्यधिक प्रदर्शन भएकैले चौथो सिरिजले डायस्पोरामा राम्रो शो पाएको छ । युरोपभित्रका २० देशमा फिल्म पुगिसक्यो भने माल्टा, साइप्रस, इटाली, नर्वे, जर्मन, पोल्यान्ड, हल्यान्ड, स्विट्जरल्यान्डमा प्रदर्शनको घोषणा भइसकेको छ । न्युजिल्यान्ड, अस्ट्रेलियासँगै अमेरिकाका ६४ राज्यमा प्रदर्शन घोषणा भएको छ । यो संख्या पहिलाको तुलनामा अत्यधिक रूपमा बढेको गुरुङ बताउँछन् । भारतको सुष्मा प्रोडक्सनसँग पनि सम्झौता भइसकेको छ ।

कोभिडले नेपाली फिल्म क्षेत्र धराशायी बनेको चिन्ताका बीच कबड्डीले माहोल बनाइदिएको निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । ‘यसरी दर्शकको भीड देख्दा फिल्मकर्मीको हिसाबले खुसी छु,’ उनले भने, ‘म त कोभिडबीच पनि आत्तिएको थिइनँ । अर्कै पेसा रोज्न थाल्नुपर्ने पो हो कि भन्ने समयमा म फिल्म बनाउनतिर लागें ।’

अक्षय कुमारको ‘सूर्यवंशी’ ले नेपालका हलमा दर्शक फर्काइदिएसँगै कोभिडपछि थुप्रै फिल्मले प्रदर्शनको जोखिम मोले । कतिले पोस्टर टाँसेको खर्चसमेत उठाएन । हरर जनरामा बनेको ‘कठपुतली’ ले भने लगानी उठाएर लगभग २ करोड कमाएको दाबी गर्छिन्, फिल्मकी पटकथाकार सम्पदा मल्ल । ‘चर्चामा नरहेको कठपुतलीजस्तो फिल्मलाई दर्शकबीच पुर्‍याउन अलि गाह्रो पर्दो रहेछ । नेपाली फिल्मले व्यापार गर्दैन भन्ने सुनिन्छ, तर त्यस्तो होइन,’ उनले भनिन्, ‘हामीले जोखिम मोलेर कोभिडपछि प्रदर्शन गर्‍यौं । फिल्म राम्रो बन्यो भने शो पाइने रहेछ भन्ने अनुभव गरें ।’

केही समयअघि मात्रै प्रदर्शनमा आएको ‘म यस्तो गीत गाउँछु’ ले साढे ५ करोड ग्रस कलेक्सन गरेको वितरक करण श्रेष्ठले बताए । ‘ए मेरो हजुर ४’ को निर्माण टिमलाई पत्याउने हो भने फिल्मले राम्रै व्यापार गरेको थियो । प्रदीप खड्का अभिनीत ‘प्रकाश’, दीपेन्द्र के खनालको ‘चिसो मान्छे’, अनुप बरालको ‘दोख’, ऋचा शर्मा अभिनीत ‘कौशिद’, सुरेन्द्र पौडेलको ‘बाबरी’, ‘प्रेमगीत–३’ जस्ता फिल्म व्यावसायिक हिसाबले आस गरिएका फिल्म हुन् ।

प्रकाशित : जेष्ठ १४, २०७९ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्

वृद्धभत्ता ६८ वर्षमै !

नगद बाँड्नेभन्दा राज्यबाट ज्येष्ठ नागरिकले पाउनुपर्ने स्वास्थ्य सुविधा, पर्याप्त हेरचाह र सहज जीवनयापनको प्रत्याभूति गर्न विज्ञहरुको सुझाव
कृष्ण आचार्य, हेमन्त जोशी

काठमाडौँ — वृद्धवृद्धाको संरक्षणका लागि दिगो र दीर्घकालीन उपाय अपनाउनुको सट्टा सरकारले भत्ता पाउने उमेर घटाउन लागेको छ । आउँदो वर्षको बजेटबाट ६८ वर्षकै उमेरमा वृद्धभत्ता पाउने व्यवस्था सरकारले गर्न लागेको हो । हालसम्म ७० वर्ष उमेर पुगेका नागरिकलाई वृद्धभत्ता उपलब्ध गराइँदै आएको छ ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले ६५ वर्षकै उमेरमा वृद्धभत्ता पाउने व्यवस्था गर्नू भन्ने निर्देशन धेरै पहिलेदेखि दिइरहनुभएको छ तर ६५ वर्षको उमेरका विषयमा नीति तथा कार्यक्रम बनाउँदा गठबन्धन बैठकमा सहमति जुट्न नसकेपछि अलि माथि राख्ने सोच बनाइरहेका छौं,’ बजेट निर्माणमा संलग्न अर्थका एक अधिकारीले शुक्रबार अबेर राति कान्तिपुरसँग भने, ‘सम्भवतः ६८ वर्षभन्दा माथिका व्यक्तिले वृद्धभत्ता पाउने व्यवस्था गरिन्छ होला ।’

६८ वर्षमा भत्ता पाउने उमेरको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासित अर्थमन्त्री जनार्दन शर्माले शनिबार दिउँसो सहमति लिने तयारी छ । ‘प्रधानमन्त्री देउवाले यसमा सहमति दिनुहुन्छ होला किनभने नीति तथा कार्यक्रमबारे गठबन्धनमा भएको छलफलमा उहाँले ६५ वर्ष नै हुनुपर्छ भन्ने जिद्दी गर्नुभएको छैन,’ ती अधिकारीले भने । उनका अनुसार गठबन्धनको बैठकमा ६५ वर्षमा वृद्धभत्ता दिने विषयमा धेरैको विमति थियो । खासगरी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वृद्धभत्ता दिने उमेर घटाउन नहुने धारणा राखेका थिए । ‘त्यतिन्जेलसम्म ६५ वर्षमै वृद्धभत्ता दिनुपर्छ, स्रोत कहाँबाट जुटाउने भनेर हामी लागिरहेका थियौं,’ अर्थका ती अधिकारीको भनाइ छ, ‘६८ वर्षमा पुर्‍याउने भएपछि स्रोत जुटाउन अलि सहज हुने भएको छ ।’

६८ वर्ष उमेरमै वृद्धभत्ता दिँदा थप कति स्रोत आवश्यक पर्छ ? ‘यसबारे यकिन आँकडा निकाल्नतिर लागेका छैनौं तर १०/१२ अर्ब रुपैयाँ थप चाहिन्छ,’ उनले भने । चालु आर्थिक वर्षमा वृद्धवृद्धा भत्ताका लागि करिब ९५ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ । ‘भत्ता पाउने उमेर घटाइए एकदेखि सवा खर्ब रुपैयाँ खर्च हुने अनुमान गरेका छौं,’ उनले भने, ‘कथंकदाचित ६५ वर्षमै वृद्धभत्ता दिनुपरेमा अतिरिक्त ३० अर्ब रुपैयाँ चाहिन्छ । अर्थात् वार्षिक १ खर्ब ३० अर्ब रुपैयाँ भत्ता वितरणमै खर्च गर्नुपर्ने हुन्छ ।’

बजेटको अन्तिम तयारीमा जुटेको अर्थ मन्त्रालयमा वृद्धभत्ता पाउने उमेर घटाउने विषयमा कुनै विमति छैन । वृद्धभत्ताको रकम बढाउने वा पाउने उमेर घटाउने भन्नेमा राजनीतिक दलहरूबीच यस पटक पनि प्रतिस्पर्धा हुने भएको छ । हालसम्म एमाले, कांग्रेस र माओवादीबाट अर्थमन्त्री भएका सबैजसोले वृद्धभत्ता बढाएका छन् । बढाउनेहरू समेत नेतृत्वमा हुँदा विरोध गर्दैनन्, सरकारबाहिर आउनेवित्तिकै वृद्धभत्ता वृद्धिको आलोचना गर्ने गरेका छन् । खासगरी सीमित स्रोत र अव्यवस्थित तथा उपयोगविहीन भन्दै हरेक बजेटको मुखमा वृद्धभत्ता वृद्धिबारे चर्को आलोचना तथा बहस हुने गरेको छ ।

राज्य ढुकुटीमाथिको दबाबबारे जानकारी राख्ने अधिकारीहरूले वृद्धभत्ता वितरणको विषयलाई राजनीतिक नेतृत्वले व्यवस्थापनको सट्टा मतप्राप्तिको दृष्टिकोणले उपयोग गर्न खोज्दा समस्या भएको भन्दै आलोचना गरेका छन् । खासगरी योजनाविद्, अर्थशास्त्री तथा पूर्वप्रशासकले वृद्धभत्ता वृद्धिको विषयमा विरोध गर्ने गरेका छन् तर उनीहरूले पनि ‘वृद्धवृद्धाको दायित्व हाम्रो होइन, बढाउनै हुन्न’ भनेका होइनन् । सोझै नगद बाँड्नेभन्दा राज्यबाट ज्येष्ठ नागरिकले पाउनुपर्ने स्वास्थ्य सुविधा, पर्याप्त हेरचाह, स्याहारसुसार र सहज जीवनयापनको प्रत्याभूति गरिदिए थप सुरक्षा हुने सुझाव उनीहरूले दिने गरेका छन् । यसकारण विज्ञहरूले भने उमेर घटाउने वा नगद वितरणभन्दा बाहेकको विकल्पमा जानुपर्ने सुझाउँदै आएका छन् । सोझै नगद हस्तान्तरणभन्दा लाभग्राही वर्गलाई स्वास्थ्य सुविधा, हेरचाह, स्याहार सुसार र सहज जीवनयापनका लागि उपयुक्त वातावरण सिर्जना गर्ने उनीहरूको भनाइ छ । सरकारले भने असहाय, अशक्त, एकल र जोखिममा परेका ज्येष्ठ नागरिकको विशेष संरक्षण र सुरक्षाको कानुनी तथा संस्थागत व्यवस्था गर्नुको साटो पैसा बाँडे सबै ठीक हुन्छ भन्ने मानसिकताले काम गरेको देखिन्छ ।

राष्ट्रिय सभा सांसद विमला राई पौड्याल वृद्धभत्तालाई सधैं राजनीतिक विषय बनाउन र चुनावी अस्त्रका रुपमा प्रयोग गर्न नहुने बताउँछिन् । ‘अहिले भइराखेको गलत छ म भन्दिन तर चुनाव जित्नकै लागि भत्ता बढाइरहने प्रवृत्ति राम्रो होइन, यसले राज्यलाई अतिरिक्त दायित्व थप्छ,’ उनले भनिन्, ‘यो गर्‍यो भने त चुनाव जितिन्छ कि भन्ने मानसिकताबाट माथि उठ्नुपर्छ ।’ निश्चित रकम भत्ताका रूपमा वृद्धवृद्धाको हातमा पुग्नु राम्रो भए पनि भत्ता बढाउने विषयलाई दलहरूले प्रतिस्पर्धाका रूपमा लिँदा त्यसको सीमा कहाँसम्म पुग्छ भनेर हेरिनुपर्ने उनको भनाइ छ । ‘पैसा कसले बढी पुर्‍याउने भन्ने तँछाड र मँछाड छ, उमेर घटाउने भन्ने पनि सुनिन्छ, यस्ता एजेन्डाको नतिजा दिगो हुँदैन,’ उनले भनिन् । नगद बाँड्नेभन्दा पनि राज्यबाट उपलब्ध हुने सुविधा बढाउनेतर्फ सरकारले ध्यान दिनसक्नुपर्ने उनको सुझाव छ । अहिले वृद्धवृद्धाले पाइरहेको सुविधा लिनका लागि पनि उनीहरूले निकै सकस भोग्नुपरेको उनले बताइन् । ‘ज्येष्ठ नागरिकको परिचयपत्र देखाउने बित्तिकै स्वास्थ्य, यातायातलगायत क्षेत्रमा सुविधा पाउने व्यवस्था हुनुपर्‍यो,’ उनले भनिन्, ‘निःशुल्क औषधोपचार, बिमा, यातायात क्षेत्रमा पाउने सुविधाहरूलाई प्राथमिकतामा राखिनुपर्छ । केयर होमहरू बनाउने, अशक्तलाई निःशुल्क सेवा दिने व्यवस्था कार्यान्वयनमा ल्याइनुपर्छ ।’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ वृद्ध नागरिकलाई सामाजिक सुरक्षा दिनु राज्यको दायित्व भए पनि सरकारमा पुग्ने राजनीतिक दलले कहिले रकम बढाउने नाममा त कहिले परिभाषा बदल्ने नाममा अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने बताउँछन् । ‘ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउनु राज्यको दायित्व हो तर हाम्रो बजेटको स्रोत कति छ र त्यसमध्ये नियमित भुक्तानी गर्नुपर्ने अर्थात् दायित्वको भार थप्दै जाने कति छ भन्ने मुख्य प्रश्न हो,’ श्रेष्ठले भने, ‘अर्थतन्त्र र राजस्वको अवस्था हेरेर वितरणमुखी प्रकृतिको नगद प्रवाहलाई निरुत्साहित गर्दै दीर्घकालसम्म र धेरैभन्दा धेरै नागरिकलाई सुविधा दिनतिर केन्द्रित हुनुपर्छ ।’

अघिल्लो सरकारले सोझै नगद हस्तान्तरण गर्नेभन्दा ज्येष्ठ नागरिकलाई ५ सय रुपैयाँ बराबरको स्वास्थ्य बिमा उपलब्ध गराउने नीति लिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको श्रेष्ठको भनाइ छ । स्वास्थ्य बिमालगायतका सुविधा उपलब्ध गराउनका लागि पूर्वाधार, संयन्त्र र संरचना निर्माण हुन नसकेकाले नगद हस्तान्तरणलाई निरन्तरता दिनुपर्ने बाध्यात्मक परिस्थिति रहेको पनि उनले बताए । ज्येष्ठ नागरिक कसलाई भन्ने हो, त्यसको परिभाषा पनि नमिलेको श्रेष्ठले बताए ।

ज्येष्ठ नागरिक मात्र नभई हरेक नागरिकलाई आधारभूत आवश्यकता पूरा गर्न सुविधा उपलब्ध गराउनु राज्यको दायित्व हो तर वृद्धवृद्धाको जीवनयापन सहज बनाउनेभन्दा पनि चुनावी एजेन्डाका रूपमा वृद्धभत्ता बढाएर भोट बटुल्ने नियत देखिएको छ । कहिले रकम बढाउने त कहिले उमेर घटाउने नाममा सबै दलले वृद्धभत्तालाई चुनावी एजेन्डा बनाउँदै आएका छन् । भर्खरै स्थानीय तह निर्वाचन सम्पन्न गरेको सरकार यसै वर्ष प्रदेश र स्थानीय तहको चुनाव गर्ने तयारीमा छ । पछिल्लो अढाई दशकयता हरेक पटक चुनावी एजेन्डा बनिरहेको वृद्धभत्ताको विषयलाई आगामी चुनावका लागि सम्भावित ‘अस्त्र’ का रूपमा सरकारले प्रयोग गर्ने देखिएको छ । कोभिड महामारी र रुस–युक्रेन युद्धको असरका कारण खुम्चिएको अर्थतन्त्रबाट आगामी आर्थिक वर्षको बजेटलाई स्रोत जुटाउन सकस पर्ने ठानिएका बेला चुनावलक्षित लोकप्रिय बजेटको चाप सरकारले व्यहोर्ने देखिएको छ ।

कहिले कति बढाइयो ?

नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्रीका रूपमा मनमोहन अधिकारीले इतिहास बनाउँदा उनका सहोदर भाइ भरतमोहन अधिकारी अर्थमन्त्री भएका थिए । ९ महिने उक्त सरकारले आर्थिक वर्ष २०५२/५३ को बजेटमार्फत ‘ज्येष्ठ नागरिकलाई वृद्धभत्ता’ कार्यक्रम लागू गर्‍यो । त्यसबेला ज्येष्ठ नागरिकलाई प्रतिमहिना १ सय रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा सरकारले गरेको थियो । ‘ज्येष्ठ नागरिकको सम्मान गर्नु तथा जीवनयापनमा टेवा पुर्‍याउनु राज्यको कर्तव्य भएकाले आगामी आर्थिक वर्षदेखि देशका ७५ वटै जिल्लामा ७५ वर्ष उमेर पुगेका सम्पूर्ण ज्येष्ठ नागरिकलाई प्रतिमहिना सय रुपैयाँका दरले ज्येष्ठ नागरिक भत्ता दिने व्यवस्था मिलाइएको छ,’ अधिकारीले ल्याएको बजेटको बुँदा नम्बर ३३ मा उल्लेख छ । कांग्रेस नेतृत्वमा बहुमतको सरकार हुँदा आर्थिक वर्ष २०५६/५७ को बजेटमार्फत महेश आचार्यले वृद्धभत्ताको रकम १ सय ५० रुपैयाँ पुर्‍याए तर त्यो बेला वृद्धभत्ता कार्यक्रमको प्रभावकारिता र पारदर्शितामाथि प्रश्न उठिरहेको थियो । जसकारण आचार्यले बजेटमै ‘वृद्धभत्ता रकमको सदुपयोग पारदर्शी ढंगले गराउन सहयता प्राप्त गर्ने व्यक्तिको नाम नामेसी र यो रकमको खर्चको प्रयोग सार्वजनिक गरिनुपर्ने’ विषय उल्लेख गरे ।

भरतमोहन अधिकारी दोस्रो पटक अर्थमन्त्री हुँदा आर्थिक वर्ष २०६१/६२ को बजेटमार्फत वृद्धभत्ता रकम प्रतिमहिना १६५ रुपैयाँ पुर्‍याए । त्यस्तै, आर्थिक वर्ष २०६५/६६ को बजेटमार्फत बाबुराम भट्टराईले ५ सय रुपैयाँ र आर्थिक वर्ष २०७२/७३ को बजेटमार्फत रामशरण महतले १ हजार रुपैयाँ पुर्‍याए । आर्थिक वर्ष २०७३/७४ मा विष्णु पौडेलले यसलाई २ हजार रुपैयाँ बनाए भने २०७६/७७ को बजेटमार्फत युवराज खतिवडाले ३ हजार रुपैयाँ पुर्‍याए । चालु आर्थिक वर्ष २०७८/७९ का लागि अध्यादेशमार्फत ल्याइएको विनियोजन विधेयकले थप १ हजार बढाएर वृद्धभत्ता ४ हजार रुपैयाँ पुर्‍याएको थियो ।

२०७४ को निर्वाचनअघि तत्कालीन वामगठबन्धनले जारी गरेको संयुक्त घोषणापत्रले वृद्धभत्ता ५ हजार पुर्‍याउने घोषणा गरेको थियो । आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारले जारी गरेको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिक लक्षित स्पष्ट कार्यक्रमहरू भने देखिदैनन् । ‘ज्येष्ठ नागरिकका लागि विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ,’ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भनिएको छ, ‘सबै स्थानीय तहका स्वास्थ्य संस्थामा चालिस वर्षमाथिका नागरिकको वर्षको एकपटक आधारभूत प्रयोगशाला परीक्षण गरिनेछ ।’

२०७४ सालमा प्रधानमन्त्री हुँदा देउवाले भत्ता वृद्धिभन्दा पनि उमेर घटाउने उपाय अघि सारेका थिए । त्यतिबेलाको सरकारको अन्तिम मन्त्रिपरिषद्बाट देउवाले ६५ वर्षमै वृद्धभत्ता पाउने निर्णय गरेका थिए तर लगत्तै वामगठबन्धनका साथ प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गरिदिएनन् । बरु ओलीले आफ्नो कार्यकालको फरक–फरक दुई बजेटमार्फत २ हजार रुपैयाँ मासिक भत्ता वृद्धि गरी ४ हजार रुपैयाँ पुर्‍याइदिए ।

‘२०७४ सालमा भएको निर्णय यस पटक आफू प्रधानमन्त्री भएका बेला कार्यान्वयनमा ल्याउने देउवाको दाउ देखिन्छ,’ एक मन्त्री भन्छन्, ‘तर नेपालीको औसत आयु बढिरहेका बेला यो निर्णय मुलुककै लागि प्रत्युत्पादक हुने देखिन्छ ।’ हाल नेपालीको औसत आयु ७१ वर्ष हो । ‘औसत आयु बढेका बेला भत्ता पाउने उमेर ७० वर्षबाट झन् तल झार्नु गैरजिम्मेवार काम हो । यसबारे योजना आयोग, अर्थ मन्त्रालय, पूर्वअर्थमन्त्रीहरू, योजनाविदहरूले सुझाव दिइरहेका छन्,’ ती मन्त्रीले भने, ‘गठबन्धनका अन्य नेताले समेत यो कुरा उठाएपछि देउवाको मौन समर्थन छ तर भत्ता पाउने उमेर केही न केही त घट्छ नै ।’

प्रकाशित : जेष्ठ १४, २०७९ ०६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×