२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

निर्धारित समयमै आउँछ ए मेरो हजुर ४ : झरना

काठमाडौँ — अभिनेत्री झरना थापा निर्देशित 'ए मेरो हजुर ४' दक्षिण भारतीय फिल्म 'केजीएफ २'सँगै भिड्ने भएपछि धेरैले यो फिल्म अर्को मितिमा सार्ने अनुमान गरेका थिए । दर्शकमा बहुप्रतिक्षित 'केजीएफ २'सँग एउटै मितिमा फिल्म प्रदर्शन गर्ने भन्दै थापाको टिमले प्रचारसमेत थाल्दा पनि अन्तिम समयमा फिल्म अर्को मितिमा सर्ने हल्ला चल्यो ।

निर्धारित समयमै आउँछ ए मेरो हजुर ४ : झरना

तर‚ अभिनेत्री एवं निर्देशक थापाले आफूहरूले निर्धारित समयमै फिल्म प्रदर्शन गर्ने बताएकी छन् । मंगलबार अभिनेत्री थापाको टिमले सामाजिक सञ्जाल फेसबुकमार्फत 'केजीएफ' प्रदर्शन हुने मितिमै आफ्नो फिल्म प्रदर्शन गर्ने जानकारी दिएको हो ।

'हामी तपाईंहरूमाझ तपाईंहरूले नै मन पराएर सुपरहिट बनाउनु भएको चलचित्र 'ए मेरो हजुर'को चौथो श्रृङ्खला लिएर पूर्वघोषित मिति अर्थात् नयाँ वर्ष ०७९, वैशाख १ मै देशभरका सम्पूर्ण हलहरूमा आउँदैछौं,' झरनाले फेसबुकमा लेखेकी छन्, 'हामीले हाम्रो पहिलो चलचित्र धर्मसंकटदेखि गोर्खाली, ए मेरो हजुर, तक्दिरलगायत सबै चलचित्रमा यहाँहरूको असीम माया, साथ र हौसला पाइरहेका छौं । तपाईंहरू नै हाम्रो पहिलो र अन्तिम तागत हुनुहुन्छ । त्यसैले 'ए मेरो हजुर-४'लाई पनि तपाईँहरूको अझ धेरै साथ र सद्भावको जरुरी परेको छ ।'

आफ्नो फिल्म निर्धारित मितिबाट पछि हट्न लागेको हल्ला फैलिएकोमा दु:ख लागेको भन्दै उनले आफूहरूले रोजेको मैदानबाट पछाडि नहट्ने वाचा गरेकी छन् । 'चाहे जस्तोसुकै परिस्थिति आओस्; हामी हामीले रोजेको र तोकेको मैदान छाडेर एकरत्ति पनि पछि हटेका छैनौं । यसमा नेपाली चलचित्रको भलो नचाहनेहरू ढुक्क भए हुन्छ । हाम्रो चलचित्र सम्पूर्ण हलहरूमा पुगिसकेको छ,' उनले थप लेखेकी छन्, 'अहिले हामी विदेशी चलचित्रसँग एक्लै लड्नु परेको छ, भोलि तपाईंले पनि लड्नु पर्ने नै छ ।'

प्रकाशित : चैत्र ३०, २०७८ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?