कमजोर पटकथाको नतिजा 'कठपुतली' : थ्रिलर न कथार्सिस- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमजोर पटकथाको नतिजा 'कठपुतली' : थ्रिलर न कथार्सिस

रीना मोक्तान

काठमाडौँ — उ कहिले खोला किनार पुग्छ, कुनै युवतीले बुवालाई खोलाभित्र डुबाएको देख्ने बित्तिकै झसंग निन्द्राबाट ब्युँझन्छ । फेरि कतै नाचगान भइरहेको ठाउँमा पुग्छ अनि नाच्दै गरेका युवतीहरूले आफ्नो घाँटी थिच्न आएको देख्ने बित्तिकै आँखा उघारिन्छ ।

फेरि कतै पुग्छ तर आँखा खोल्दा आफूलाई ओच्छ्यानमै पाउँछ । सजिलै अनुमान गर्न सकिने, अनि दोहोरिरहने यस्तै दृश्य(जस्तै, कपाल काट्ने दृश्य पनि)ले प्रमाणित गर्छ 'कठपुतली : द पपेट'को पटकथा कति कमजोर छ भन्ने ।

पटकथालाई फिल्मको मेरुदण्ड मानिन्छ । तर मेरुदण्ड नै कमजोर भए फिल्म कस्तो बन्ला ? 'कठपुतली' त्यसकै एक उदाहरण हो । कमजोर पटकथा, फितलो संवाद अनि 'हरर फिल्म'को ह्याङओभरमा बनेको यो फिल्मको कथा खासै नौलो छैन ।

देशमा राजतन्त्रविरुद्धको आन्दोलन चर्किएको छ । युवराज(कर्मा) आफ्नो बुवालाई जनतासँग माफी माग्न लगाएर आन्दोलन साम्य पार्न चाहन्छ । उनलाई जसरी पनि राजगद्दीमा राज गर्नुछ । राजा(ध्रुव कोइराला) छोराको कुरा सजिलै किन मान्थे र ? उनी आफ्नै हिसाबले आन्दोलन रोक्न लागिपरेका छन् । दरबारभित्रै थुनिएका युवराज भने आन्दोलन रोक्ने आफ्नो कुटनीतिक गुरु योजना पूरा गर्न एकदिन दरबारबाट भाग्छन् ।

गुरु-योजनामा साथ दिने साथीहरू भेट्न नपाउँदै उनी एक बन्द दरबारभित्र पुग्छन् । त्यही बन्द दरबारभित्र उनले असाधरण घट्नाहरूको सामना गर्छन् । सम्पदा मल्लको लेखन र भीमसेन लामाको निर्देशनमा तयार भएको फिल्म 'कठपुतली : द पपेट'को कथा यत्ति हो । तर हरर विधामा बनेको यो फिल्मले न त दर्शकलाई तर्साउँछ, न अब के होला(कथार्सिस) ? भन्ने कुरा नै उत्पन्न गराउँछ । त्यसैले फिल्मले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्न सक्दैन । फिल्मको 'क्लाइमेक्स' पनि चुस्त छैन ।

फिल्ममा देखाउने भुत(जम्प स्केर) पनि हलिउड र बलिउडमा देखिरहनेभन्दा फरक छैन । हरर विधाका अधिकांश हलिउड फिल्मको अन्त्यमा केही यस्तो दृश्य देखाइन्छ जसले दर्शकलाई फिल्मको सिक्वेलका लागि कुर्ने बनाउँछ अथावा फिल्मले छोडेको प्रश्नको उत्तर खोज्न खुलदुली जन्माउँछ । यो फिल्मले पनि त्यही सूत्रलाई पच्छ्याउन खोजेको त छ, तर फिल्मको कथ्य शैली यति कमजोर छ कि दर्शकलाई त्यो अन्तिम दृश्यले खासै उत्साह थप्दैन ।

फिल्मका संवाद फितला छन् । दृश्यहरूमा तादम्यता देखिँदैन । फिल्मका कति दृश्य हटाए पनि कठपुतलीको कथा अगाडि बढ्न सक्थ्यो भन्ने लाग्छ । 'यो ज्यान कठपुतली' बोलको गीतमा जबर्जस्ती प्रयोग गरिएको दृश्यबिना पनि फिल्म अगाडि बढ्न सक्थ्यो । यो गीतको प्रयोग फिल्मको लागि आवश्यक लाग्दैन ।

आन्दोलनकै कारण राजपरिवारमा आरोह-अवरोह आइरहन्छ तर आन्दोलनको कुरा झट्ट विश्वास गर्न सकिने किसिमले पर्दामा देखाइँदैन । जनता के कारण आन्दोलनमा छन् ? आन्दोलन किन चर्कियो भन्ने कुरा संवादहरूको भरमा दर्शकले बुझिदिनुपर्छ । त्यसका अलावा दर्शकलाई तर्साउन असाधरण घट्ना(प्यारानर्मल एक्टिभिटिज) र भुत देखाउन बढी समय खर्चिएको देखिन्छ ।

पैतालाको माटो, कपाल काटेर तन्त्रमन्त्रको प्रयोग, उल्टा पाइला, मरिसकेको व्यक्ति(किचकन्डी)को खुट्टामा धागो बाँध्ने कुरा कता-कता नेपाली समाजसँग नजिक भए पनि अपुष्ट छन् । निर्देशकले दाबी गरे जस्तो 'हरर वर्ल्ड' स्थापना गर्न नै असमर्थ छ फिल्म ।

यद्यपि ध्वनीले नै जबर्जस्त दर्शक तर्साउनुपर्छ भन्दै कर्कस आवाजको प्रयोग गर्ने नेपाली हरर फिल्मभन्दा माथि उठेको छ, 'कठपुतली' । फिल्ममा प्रयोग गरिएका ध्वनी र एन्ड्र्यु फ्रान्सिसको कलरको काम प्रशंसालायक छन् । एनिमेसनको पाटोमा उति मिहेनत देखिँदैन । सिनेमेटोग्राफी खासै उम्दा छैन ।

फिल्मको महत्वपूर्ण पाटो नै कलाकारहरूको अभिनय हो । युवराजको अभिनयमा कर्माले पर्दामा भरपुर बाँचिदिएका छन् । कति ठाउँमा 'लाउड' लागे पनि उनको अभिनय सशक्त लाग्छ । बूढी आमाको भूमिकामा मिथिला शर्माको अभिनय उत्तिकै सशक्त छ । अभिनेत्री उषा रजकले बोलेको नेवारी लवज नाटकीय लाग्छ । उनको अभिनयलाई त्यही लवजले छायाँमा पारिदिएको छ । फिल्ममा दरवारीय भाषामा त्यति अनुसन्धान गरे झैं लाग्दैन ।

पर्दामा अन्य सहायक कलाकारले भन्दा पनि कम दृश्य पाएका छन् कलाकार गौरी मल्ल र शिल्पा मास्केले । महिलाले नै लेखेको फिल्मको यो कथामा महिला पात्रहरूलाई कमजोर, निर्बल र निरीह नै देखाइएको छ ।

लेखक सम्पदाले फिल्ममा आफूमाथि भएको अत्याचारविरुद्धको बदला लिनसक्ने महिला पात्रहरू त उभ्याएकी छन् । तर हरर विधाको फिल्ममा बलियो महिला पात्र देखाउन कुनै अदृश्य स्वरुप(भुत, किचकन्डी), अथवा तान्त्रिक गतिविधिमै संलग्न महिलालाई प्रस्तुत गर्नु त परम्परागत शैली नै भइहाल्यो ।

फिचर फिल्ममा 'कठपुतली : द पपेट', भीमसेन र सम्पदाका लागि पहिलो प्रयास थियो । यो फिल्मले हरर विधाको नेपाली फिल्मको स्तरमा खासै इँटा थप्दैन, संख्या मात्र थपिएको छ । फिल्ममा थुप्रै ट्रिटमेन्ट आवश्यक लाग्छन् ।

फिल्म निर्देशक भीमले कतिपय काममा नयाँ प्रयोग गरेको दाबी गरेका छन् । फिल्म होस् वा अरु 'आर्ट फर्म'मा सामान्यत: नयाँ प्रयोग गर्नुलाई प्रशंसनीय मानिन्छ । तर प्रमुख पक्ष के भने ती प्रयोगबाट आफूले व्यक्त गर्नखोजेको कुरालाई पुष्टि गर्नुपर्छ ।ती 'प्रयोग'को पुष्टि गर्न नसक्दा फिल्ममा गरिएका 'नयाँ प्रयोग'को खासै अर्थ हुँदैन । निर्देशक भीमको कमजोरी नै तिनको पुष्टि गर्न नसक्नु हो ।

प्रकाशित : पुस १९, २०७८ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्

तरलता अभावको समस्या समाधन गर्न माग

अमृता अनमोल

बुटवल — बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न रुपन्देहीका व्यवसायीहरुले आग्रह गरेका छन् । कोभिड–१९ को महामारीबाट थला परेको अर्थतन्त्र उठ्दै गरेका बेला तरलता अभावले अर्को समस्या देखिएको वक्ताहरुले बताएका छन् ।

सोमबार बुटवलमा आयोजित रुपन्देही व्यापार संघको २० औं साधारण सभा तथा ११ औं अधिवेशनमा बोल्ने वक्ताहरुले बैंकिङ क्षेत्रको तरलताले उद्योग व्यवसायको गतिविधि बढाउन, सामान आयात गर्न र रोजगारी बढाउन नसकेको उनीहरुले दुखेसो पोखे ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले दलहरु राजनीतक खिचातानीमा लाग्दा सरकारी खर्च कम भएकोले बजारमा तरलता अभाव देखिएको भन्दै अब सरकारी खर्च गर्न ढिलाइ नगर्न आग्रह गरे । ‘तरलता अभावले नीजी क्षेत्रलाई हातखुट्टा बाँधेजस्तै भएको छ,’ उनले भने, ‘ तिनै तहका सरकार अब हेरेर मात्रै बस्न भएन । बजेट खर्चन र समस्या समाधानमा लाग्नुपर्यो ।’

व्यवसायीहरुले स्वदेशी बजार र व्यवसाय बढाउन सिमा क्षेत्रबाट विना भन्सारका सामान भित्रन र सिमापारी व्यापार गर्न जाने उपभोक्तालाई रोक्न पनि सरकासँग आग्रह गरे । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वलकुमार कसजुले सिमामा कडाइ नहुदा पछिले समय सिमावर्ती क्षेत्रको व्यापार ठप्प हुने अवस्थामा पुगेको जनाए । ‘हामीसंग सरकारले पेलेर कर लिएको छ । तर घरखर्चका नाममा सिमाबाट जतिसुकै सामान ल्याउन दिएको छ । यसलाई रोक्नुपर्छ,’ उनले भने ।

रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले स्वदेशी वस्तुको मूल्य निर्धारणदेखि व्यापारमा सरकारले लचकता देखाउनु पर्ने बताए ।

संघले साधारण सभा तथा अधिवेशनको अवसरमा उत्कृष्ट व्यापारिक पत्रकारिता पुरस्कारबाट बुटवलका रामप्रसाद आचार्यलाई पुरस्कृत गरेको छ । उनले नगद २५ हजार र प्रमाणपत्र पाए । यस्तै, स्वास्थ्य क्षेत्रबाट योगदान गरेको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालका डा. नन्दु पाठक, शिक्षा क्षेत्रबाट खेमराज पुन र पर्यटन प्रवद्धनमा माधव नेपाललाई सम्मान गरेको थियो ।

प्रकाशित : पुस १९, २०७८ १९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×