१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बाँसुरीमा उदाउँदो स्वर्णिम धुन

स्वर्णिम महर्जनले फिल्म, गीत, डकुमेन्ट्रीमा आफ्नो बाँसुरीको धुनको जादु देखाइसकेका छन् । पछिल्लो समय उनले अंग्रेजी गीतलाई बाँसुरीको धुनमा ढालेर युवालाई 'फ्यान' बनाएका छन् ।
रीना मोक्तान

काठमाडौँ — बाँसुरीसँग स्वर्णिमको नाता त्यतिबेलादेखि नै गासियो, जतिबेला उनका मसिना औंलाले बाँसुरीको प्वाल थुन्नै मुस्किल पर्थ्यो । घरमा सांगितिक वातावरण थियो । बुबा घरमै ब्यान्ड सदस्यसँग संगीत अभ्यास गर्थे । स्वर्णिमको ध्यान बुबाले बजाउने बाँसुरीको धुनले ‍तान्थ्यो । संगीतमा मग्न भएर बुबाले अभ्यास गरेको हेर्न उनलाई औधी रमाइलो लाग्थ्यो । त्यतिबेला मात्र ६ वर्षका थिए स्वर्णिम महर्जन ।

बाँसुरीमा उदाउँदो स्वर्णिम धुन

बालसुलभ चञ्चलता, अभ्यास भइरहेको कोठामा पुगेर सबै बाजा बजाउने प्रयास उनको हुन्थ्यो । कोमल हातमा बाँसुरी परेपछि उनलाई अलौकिक महसुस हुन्थ्यो । बाँसको टुक्रामा हात परेपछि अर्को कुनै वाद्यवादनको आवश्यकता लाग्दैन्थ्यो ।

बुबाको नक्कल गर्दै बाँसुरी फुक्ने कोसिस गर्थे । त्यसका लागि न उनको श्वास पुग्थ्यो न प्वाल थुनेर धुन निकाल्नका लागि ‌औंलाका आकार नै । त्यतिबेलादेखि नै हो स्वर्णिमले बुबा रमन महर्जनझैं बाँसुरी बजाउने रहर बुन्न थालेको । सोच्थे, 'एकदिन बुबाजस्तै बाँसुरी बजाउनेछु ।'


स्वर्णिम अहिले बाँसुरीमा श्वास भरेर धुन निकाल्न सक्ने भइसके । २३ वर्षीय ठिटो हिजोआज बाँसुरीबारे नै पढ्छन्, सिक्छन् र सिकाउँछन् पनि । स्वर्णिम बाँसुरीवादकका रुपमा उदाउँदो नाम हो ।

तस्बिरहरु : दिपेन्द्र रोक्का/कान्तिपुर

मिस वर्ल्ड प्रतियोगिताका लागि मिस नेपाल श्रृंखला खतिवडाको परिचय भिडियोमा होस् या 'योमरी सेसन', उनले संगीत क्षेत्रमा आफ्नो बाँसुरीको धुनको जादु देखाइसकेका छन् । उनी फिल्म, गीत, डकुमेन्ट्रीमा बाँसुरीको सिर्जनशिलता पस्किरहेका छन् । पछिल्लो समय उनले अंग्रेजी गीतलाई बाँसुरीको धुनमा ढालेर आफ्ना उमेरका युवालाई 'फ्यान' बनाएका छन् ।

बुबाकै प्रभावले बाँसुरीसँग साइनो जोडेका स्वर्णिम आफ्ना सानोभन्दा सानो उपलब्धिको श्रेय बुबालाई दिन्छन् । बाँसुरीमा श्वास अपुग हुने अवोध अवस्थामा संगीतको कखरा उनले किबोर्डमा बुबामार्फत नै सिकेका हुन् । उमेर बढ्दै जाँदा विद्यालयको गृहकार्य सकिएपछि बुबाले लेखिदिने सरगमको आरोह-अवरोह बाँसुरीमा एक घण्टा अभ्यास गर्नु उनको दैनिकी बन्यो ।

बुबा नभ्याउँदा आमाले पनि उनलाई अभ्यास गर्न प्रेरणा दिइन् । बुबाको सिकाइ र आमाको साथले बाँसुरीसँगको मिलन सुमधुर हुँदै गयो । सुरुवातमा बाल गीतहरु बजाउन सिके, त्यसपछि गीतका धुन निकाल्न । अभ्यास गर्दै जाँदा गीतका नोटेसन हेरेर बजाउन सक्ने भए ।

बाँसुरीमा सुर मिलाउन सक्ने भएसँगै स्वर्णिमले विद्यालयको प्रार्थना समयमा बाँसुरी बजाउन लागे । कीर्तिपुरको रारा हिल मेमोरियल स्कुलका शिक्षक उनको प्रतिभालाई खुबै मनपराउँथे । विद्यालयका हरेक कार्यक्रम स्वार्णिमको धुनबिना अपुरो हुन थाल्यो ।

'मण्ड' ब्यान्ड
कीर्तिपुरको नगाउँमा हुर्केका स्वर्णिमले बाँसुरी बजाउन थालेसँगै साथी सार्थक मालाकारसँग मिलेर कार्यक्रमहरुमा प्रस्तुति दिन सुरु गरे । सार्थक मादल बजाउँथे । विद्यालय जीवनमै उनले आफ्नो टोलका साथीहरुसँग मिलेर 'मण्ड' नामक 'इन्स्ट्रुमेन्टल ब्यान्ड' खोले । गीतार बजाउँथे अशेष बज्राचार्य, पर्कसनमा रुवीस श्रेष्ठ र विप्लव महर्जन थिए भने इफेक्टमा मेरिट महर्जन । त्यतिबेलै ब्यान्डले अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्‍यो । सन् २०१२ मा भारतको लखनउमा एसियाली देशहरुबीच भएको सांगितिक प्रतियोगिता जित्दा उनी ८ कक्षामा पढ्थे । प्रतियोगितामा उनको टिमले नेपाली इन्स्ट्रुमेन्टल प्रस्तुति दिएको थियो ।

ब्यान्डले प्रतियोगिता जितेसँगै बाँसुरीप्रतिको उनको मोह झनै बढायो । 'त्यतिबेला भारतबाट जितेर फर्कँदा एकदम खुसी लागेको थियो । नयाँ अनुभव थियो त्यो । हामीलाई रारा हिलकै दीपक सरले त्यो प्रतियोगितासम्म डोर्‍याउनुभएको थियो । त्यो प्रतियोगिता सिटी मन्टेश्वरी स्कुलले आयोजना गरेको थियो । त्यो जीतपछि बाँसुरीमै केही गर्नुपर्छ भन्ने भयो,' उनले आफ्नो पहिलो सफलता हौसिँदै सुनाए ।

त्यो जीतसँगै विभिन्न कार्यक्रमहरुमा ब्यान्डलाई बजाउने अवसर प्राप्त हुन थाल्यो । ब्यान्डसँग उनले विदेशमा थाइल्यान्ड, भारतको बैंगलोर, गोवा, दिल्ली, मुम्बईसम्म पुगेर प्रस्तुति दिए । नेपाल भित्रै पनि विभिन्न स्थानबाट ब्यान्डलाई निमन्त्रणा आउन थाल्यो ।

एसएलसी सकेर ब्यान्डले 'नयाँ सोच' नाम दिएर एल्बम पनि निकाल्यो । 'ब्यान्ड खोलेदेखि नै एल्बम गर्नुपर्छ भन्ने थियो । एउटा जोश थियो एल्बम निकाल्ने । पहिलेकै कम्पोजिसन ट्र्याकलाई रेकर्ड गर्‍यौं । एल्बमको लागि धेरै मिहिनेत गरेका थियौं हामीले । एल्बमको प्रतिक्रिया पनि राम्रै आएको थियो,' स्वर्णिमले भने ।

एसएलसीपछि स्वर्णिमले संगीत नै पढ्ने निर्णय गरे । परिवारको साथ अपेक्षित थियो । साथीहरुले पनि स्वर्णिमलाई हौसला दिए । उनले १२ मा भोकल पढे । गायनकै आधारमा वाद्यवादन हुन्छ भन्ने उनको सोच थियो । त्यसमा पनि बाँसुरी बजाउनका लागि भोकलको ज्ञानले सहयोग गर्थ्यो । त्यही पढे । अहिले बाँसुरीलाई प्रमुख विषय बनाएर त्रिभुव विश्वविद्यालयबाट स्नातक गर्दैछन् उनी । बाँसुरीमै स्नातकोत्तर गर्ने उनको चाहना छ ।

बुबालाई पहिलो गुरु थापेका उनले दुई प्रख्यात गुरुहरुसँग संगीत सिके । सरोदवादक सुरेशराज बज्राचार्यसँग ३ वर्ष शास्त्रीय संगीत सिकेका उनले भोलनवादक मिलन तण्डुकारसँग पनि कक्षा लिए । स्नातक पढ्दै गर्दा उनले तण्डुकारको कक्षा लिएका थिए । कलेजमा सैद्धान्तिक विषय बढी पढाइन्थ्यो । प्रयोगात्मक कक्षा भने यी दुई गुरुसँग लिए उनले ।

युट्युबमा छलाङ
स्नातक पढ्दै गर्दा स्वर्णिमले घरमै स्टुडियो बनाए । बाँसुरीलाई प्रविधिसँग मिलाएर बजाउँदा राम्रो सुनिन्छ भन्ने उनलाई थाहा थियो । त्यसैले रेकर्डिङ र एरेन्जिङ सिके । घरमै अडियो रेकर्ड गर्न थाले । अडियोको उचित प्रयोगका लागि भिडियो बनाउने सोचे । भिडियोलाई स्वर्णिमले आफ्नै नामको युट्युब च्यानल खोलेर सार्वजनिक गर्न थाले । पहिला ब्यान्डसँगका केही भिडियो युट्युबमा हाले । अंग्रेजी गीतलाई बाँसुरीमा कभर गरेर भिडियो राख्न सुरु गरे । ३ वर्षअगाडि उनले 'देस्पासितो' बोलको पहिलो कभर भिडियो युट्युबमा सार्वजनिक गरे । भिडियो ७४ लाखभन्दा बढी हेरिएको छ । 'टाइटानिक'को 'माइ हार्ट विल गो अन' को बाँसुरी कभर त सबैभन्दा बढीले हेरेको भिडियोमा पर्छ । भिडियोलाई एक करोड बढीले युट्युबमा हेरेका छन् ।

कभर बनाउनुअघि उनले युट्युबमा सार्वजनिक भएका अन्य कभरहरु हेरेका थिए । धेरैले युट्युबबाटै ट्र्याक निकालेर कभर बनाएका रहेछन् । तर स्वर्णिमले भने त्यसलाई फरक तरिकाले प्रस्तुत गर्ने सोचे । टाइटानिकको कभरलाई उनी आफैले एरेन्ज गरेका हुन् । 'गीत भनेर गीतमै बजाउन त सजिलो हुन्छ । तर गीतलाई कसरी सिँगार्ने त्यसमा मिहिनेत लाग्छ । धेरैले नेटबाटै ट्र्याक निकालेर त्यसमा कभर बनाउँछन् । तर हामीले आफैले एरेन्ज गर्‍यौं बाँसुरीमा । त्यसमा म्युजिक हाउस टिमले भिडियो बनायो । भिडियोका लागि लोकेसन धेरै खोज्यौं,' उनले भिडियो बनाउँदाको अनुभव साटे ।

कभर गर्नका लागि सुरुवातमा स्वर्णिमले टाइटानिकका आधिकारिक रचनाकारसँग सोधेका थिएनन् । तर भिडियो बनाइसकेपछि युट्युबमा राख्नको लागि भने अनुमति लिए । गीतको प्रतिलिपि अधिकार भएकाहरुसँग आधिकारिक सम्झौता गरेर क्रेडिट दिएरै भिडियो युट्युबमा राखे । गीतको प्रतिलिपि अधिकार बोक्नेहरुले पनि उनको कभरलाई रुचाइदिएको स्वर्णिमको दाबी छ । रेभेन्यू सेयरिङको आधारमा युट्युबमा उक्त कभर राखिएको हो । उनले सोही प्रकियाबाट अन्य कभर भिडियोहरु पनि युट्युबमा राख्दै आएका छन् ।

'टाइटानिक माथिको मेरो बाँसुरी कभरलाई ठूला जहाज, रेस्टूराँमा बजाउनको निम्ति अमेरिकादेखि मलाई अनुमति माग्नुहुन्छ । एकदम खुसी लागेको छ । टाइटानिकको कभरलाई धेरैले मनपराइदिनुभयो,' उनले सुनाए ।

उनले 'पाइरेट्स अफ दि क्यारेबियन', 'गेम अफ थ्रोन्स' का प्रमुख संगीत, क्विनको 'वि वील रक यु', मरुन फाइभको 'मेमोरिज', जोन लेननको 'इम्याजिन' लगायतलाई पनि बाँसुरीमा कभर गरेर युट्युबमा राखेका छन् । स्वर्णिमले आफ्नो प्रतिभा पस्कन मात्र युट्युब प्लेटफर्मलाई प्रयोग गरेका भने होइनन् ।

बाँसुरीमा हात बस्न थालेपछि स्वर्णिम टोलमा साथीहरुसँग मिलेर गुठीमा सिक्न थालेका थिए । त्यहाँ नेवारी गीतमा मात्र बाँसुरी बजाउन सिकाइन्थ्यो । विद्यार्थीले नेवारीबाहेकका गीतमै बजाउन नपाइने नियम थियो । त्यसैले बाँसुरी सिकिरहेकाहरु स्थानीय कार्यक्रममै सीमित भएको उनले देखे । टोलमै सीमित बाँसुरी वादकका लागि उदाहरण बन्न पनि उनले युट्युबमा कभर भिडियो राख्न सुरु गरेका हुन् ।

'टोलमा बाँसुरी केही सीमित गीतमै बजाउनुपर्ने, त्यो भन्दा बाहिर बजाउन नहुने । धेरैले बाँसुरी भनेको नेवारी गीतमा मात्र बजाउनुपर्छ भन्ने बुझे । त्यसैले मैले बाँसुरीलाई मूलधारमा ल्याएर अन्य वेस्टर्न बाजासँग संयोजन गर्न सकिन्छ भन्ने साथीभाइले बुझुन् भनेर देखाउन भिडियो बनाउँदै युट्युबमा राख्न थालें,' उनले भने, 'धेरै युवा गीतार र ड्रम भनेपछि हुरुक्क । वेस्टर्न संगीत फेसनजस्तै भइसक्यो अहिले । हाम्रो मौलिक बाजा त कमले चुन्न थाले । त्यतिबेला मलाई त्यो कुरा चिर्न युट्युब भिडियो बनाउने सोचें ।'

अंग्रेजी गीतमा बाँसुरी बजाएर युट्युबमा राखेपछि टोलमै खुम्चिएका धेरै बाँसुरीवादक व्यवसायिक रुपले संगीतमा लागेको उनको तर्क छ ।

अहिले उनी लेलेमा २५ र आफ्नै घरमा १५ जना विद्यार्थीलाई बाँसुरी सिकाउँछन् । उनी त्यहाँ आधुनिक हिसाबले बाँसुरी सिकाउँछन् । भन्छन्, 'परम्परागत हिसाबले होइन । तर नयाँ तरिकाले सिकाउँदैछु । जहाँ सबैले प्रश्न गर्न पाउँछन्, अहिले उनीहरु चलिरहेको गीतहरुमा बाँसुरी बजाउन पाउँछन् । आधुनिक तरिकाले बाँसुरी सिक्दा धेरै परिवर्तन आएको छ । धेरै युवाहरु बाँसुरीमा आकर्षित भएका छन् ।' त्यही आधुनिकताले हुनुपर्छ उनका कभरलाई करोडौंले हेरिदिएका छन् ।

अहिले युवा जमातमा बाँसुरीप्रतिको झुकाव बढेको उनी बताउँछन् । 'अहिले सिक्ने धेरै बढेका छन् । पहिला बाँसुरी थिएन । फिल्म, डकुमेन्ट्री र गीतहरुमा बाँसुरी प्रयोग हुँदैछ । फ्यूजन ट्र्याकहरुमा पनि बाँसुरी प्रयोग हुँदै आएको छ,' उनले भने, 'यो त प्राकृतिक बाजा हो । हृदयसँग सोझै जोडिन्छ बाँसुरी । पहिला त इन्स्ट्रुमेन्टल ब्यान्ड पनि त्यति थिएन । हिजोआज बढेको छ । तर आजकल युवाहरु यता आकर्षित भएका छन् । गीतहरुमा नेपाली बाजाको प्रयोग बढेको छ ।'

संगीतको भाषा हुँदैन । तर स्वर्णिमका बाँसुरीका धुनहरुले संवाद गरेझैं लाग्छ । युट्युबमा सार्वजनिक भएका उनका हरेक भिडियोहरुले दर्शकको मनसँग संवाद गरिरहेझैं लाग्छ । इन्स्ट्रुमेन्टल संगीतमा स्वर नहुने भएकाले पनि धेरैले यसलाई मनपराइदिने उनी बताउँछन् ।

'आजकल भोकलबिनाका इन्ट्रुमेन्टल गीतहरु बनिरहेका छन् । भोकलमा भाषा हुने भयो । हाम्रो नेपाली भाषा अरु भाषीले बुझ्दैनन् । तर वाद्यवादनको भाषा हुँदैन । त्यो त सबैले बुझ्ने भए । त्यसैले विश्वभर यो संगीत पुगिरहेको छ,' उनले तर्क गरे ।

बाँसुरी बानी बनिसक्यो
बाँसुरी बजाउन जति सजिलो देखिन्छ उति नै गाह्रो छ यो बजाउनका लागि । बाँसुरीका लागि स्वर्णिमले खेलकुद खेल्न कम गर्नुपर्‍यो । खेलकुद खेल्दा हातहरु कडा हुन्छन् । बाँसुरीका लागि नरम हात चाहिन्छ । संगीत साधनाका लागि त्याग मात्र होइन धैर्यता चाहिने बताउँछन् उनी । 'संगीतमा धेरै धैर्यता चाहिन्छ । प्रमुख कुरा त अभ्यास नै हो । आज सिक्यो भोलि छोडियो भने त्यसरी त संगीतमा केही हुँदैन । निरन्तर धैर्यताका साथ अभ्यास गरिरहनु पर्छ । समर्पित हुनुपर्छ । दिनको एकपटकसम्म त अभ्यास गर्नैपर्छ,' उनले भने ।

मौलिक बाजा बजाउँदा छुट्टै आनन्द मिल्छ स्वर्णिमलाई । 'बाँसुरी आफ्नै श्वासले बजाउने कुरा हो । त्यो नितान्त बाँसुरीवादकको हृदयको भावसँग जोडिएको हुन्छ । किबोर्ड गीतारहरुमा इलेक्ट्रिकल साउन्ड हुन्छ । बाजा त ती पनि राम्रो हुन् । तर प्राकृतिक बाजा बजाउँदा छुट्टै आनन्दको अनुभूति हुन्छ,' उनले भने, 'छुट्टै किसिमको उर्जा प्राप्त गरेको अनुभव गर्छु यसलाई बजाउँदा । अरु बाजा बजाउँदा त्यो अनुभूति हुँदैन ।

स्वर्णिम अहिले मेट्रोनम ब्यान्डमा सक्रिय छन् । अहिले उनी शास्त्रीय संगीत पनि सिक्दैछन् । भविष्यमा क्लासिकल सोलो प्रस्तुति दिने उनको चाहना छ । 'क्लासिकल सो गर्ने मन छ । मलाई बाँसुरीमै करिअर बनाउनुछ,' उनले भने, 'मलाई दैनिक बाँसुरी बजाउनैपर्छ । अब मलाई यसको बानी परिसक्यो ।'

प्रकाशित : श्रावण ४, २०७८ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?