१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

कलाकारलाई उपाधि : सम्मान कि प्रचारबाजी ?

रेखा थापा भन्छिन् : 'कलाकार महान र तुच्छ हुँदैन'
रीना मोक्तान

काठमाडौँ — कोरोना महामारीमा अभिनेता राजेश हमाल र अभिनेत्री दीपाश्री निरौलाबीचको विवाद निकै चर्कियो । विवादको विषय थियो, 'महानायक'उपाधि । अभिनेत्री दीपाश्री निरौलाले एक अन्तर्वार्तामा राजेशलाई दिइएको 'महानायक' उपाधिमाथि उठाएको प्रश्नलाई लिएर चर्कै विवाद भयो । 

कलाकारलाई उपाधि : सम्मान कि प्रचारबाजी ?

'महानायक' विवाद चर्किँरहँदा उपाधिको पक्ष विपक्षमा बहस भयो । कतिले हमाल महानायकको हकदार रहेको भन्दै अभिव्यक्ति दिए । कतिले कुनै पनि कलाकारलाई यस्तो उपाधि दिन नहुने बताए । विवादकै कारण सामाजिक सञ्जालमा आएको टीकाटिप्पणीले डिप्रेसनको नजिक पुगेको दीपाले बताइन् । जे होस् यो विवाद अहिले सेलाएको छ ।

'महानायक' विवाद सेलाएको केही महिनामै 'आरके इन्टरटेन्टमेन्ट'ले अभिनेत्री करिश्मा मानन्धरलाई 'महानायिका' उपाधि दिएको छ । माघ २४ गते सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ, अभिनेता राजेश हमाल र नीर शाहलगायतको उपस्थितिमा उनलाई 'महानायिका'को ताज पनि पहिर्‍याइयो ।

'महानायक' उपाधिमाथि प्रश्न उठ्दा उठ्दै अर्को उपाधि किन आवश्यक पर्‍यो त ? आरके इन्टरटेन्टमेन्टका संस्थापक अध्यक्ष राम केसी करिश्माले लामो समय फिल्म क्षेत्रमा योगदान दिएकै कारण उपाधि दिएको तर्क गर्छन् । 'हामीले यही क्षेत्रमा रहेका नीर शाह, शम्भुजित बास्कोटा र चलचित्र विकास वोर्डका सदस्यसँगको छलफलपछि उहाँलाई महानायिका घोषणा गरेका हौं,' अध्यक्ष केसीले भने,'करिश्माले तीन दशकदेखि नेपाली फिल्म क्षेत्रमा टेवा पुर्‍याउनु भएका कारणले उहाँलाई यो पदवी दियौं ।'

संस्थाको ९औं वार्षिक उत्सवमा आफूहरुले राजेश हमाललाई 'महानायक' घोषणा गरेको उनको दाबी छ । राजेशले विदेश पलायन नभई फिल्म क्षेत्रमा योगदान पुर्‍याएको आधारमा उपाधि दिइएको उनी बताउँछन् ।

'महानायिका' किन चाहियो त ? भनेर प्रश्न गर्दा अध्यक्ष केसीले जवाफमा भने,'फिल्म क्षेत्रको अग्रजलाई सम्मान गरेनौँ भने उद्योग धरासायी हुन्छ । यही क्षेत्रमा समर्पित भएर लागेका कलाकारलाई सम्मान गर्यो भने राज्यको ध्यान पनि जाने भयो । त्यसैले उहाँहरुलाई सम्मान गर्यौं ।'

उनी थप्छन्,'राष्ट्रिय खेलाडीलाई तलब छ । खोइ त कलाकारलाई तलबको व्यवस्था । ती कुरा सुनिश्चित गर्न हामीले उपाधिको घोषणा गरेका हौं ।'

के भन्छन् त कलाकार ?

अभिनेत्री रेखा थापा कुनै कलाकार यस्तो उपाधिमा अल्झिन नहुने बताउँछिन् । 'उपाधि जनताले दिने कुरा हो । महानायक एक जना मात्र हुन्छ, उहाँ पृथ्वीनारायण शाह हो । महानायकले देश, जनता र भूगोलका लागि के गरेको छ भन्नेले अर्थ राख्छ,' उनले भनिन्,'कलाकार कोही महान र तुच्छ हुँदैन । कलाकार सबैले नवरसमा काम गरिरहेको हुन्छ । कहिले पनि कलाकार पोख्त र पूर्ण हुँदैन । उसले जहिल्यै पनि सिकिरहेको हुन्छ ।'

कलाकारले यस्ता उपाधि लिनु अगाडि सोच्नुपर्ने रेखाको भनाइ छ । 'कलाकार कोही सानो र ठूलो हुँदैन । कलाकारले गर्ने अभिनयको प्यारामिटर एउटै रसमा हुन्छ,' रेखाले भनिन्,'म कोही महान हुन्छ भन्ने कुरामा विश्वास गर्दिनँ ।'

यस्तो उपाधिका मापदण्डमाथि प्रश्न गर्छिन् रेखा,'महान हुनुका मापदण्ड के-के हुन् ?'

फिल्म निर्देशक मनोज पण्डित मिडियाले यस्तो विषयमा बहस गर्न नहुने बताउँछन् । 'हामी लोकतान्त्रिक समाजको परिकल्पना गर्ने हो भने यो समाजमा सबैलाई आ-आफ्नो अभिव्यक्ति गर्ने अधिकार छ,' उनले भने,'जसको जस्तो सोच हुन्छ उसले उस्तै अवधारणा निर्माण गर्छ । महानायक/महानायिका बनाउनेहरुले आफ्नो निश्चित स्वार्थअनुसार उपाधि दिइरहेका हुन्छन् ।'

अभिनेत्री सुरक्षा पन्त उपाधि दिने प्रवृत्तिले दासत्वतिर लाने विचार राख्छिन् । 'हामी कसैलाई पनि देवता मान्ने धारणामा विश्वास गर्नुहुँदैन । अभिनेता/अभिनेत्रीलाई पनि देवता मान्नु हुँदैन,' उनले भनिन्,'कलाकारको कामको प्रशंसा गर्ने हो । सँधै एकैजना व्यक्तिले शासन गर्ने विचारधारा हुनुहुँदैन । महानायिका/महानायक दियो भने उसले त्यो पद सम्हालेर बसेको जस्तो हुन्छ ।'

अवार्डले नै कलाकारलाई हौसला दिने बताउँदै कलाकार दर्शकको मायामै रमाउन सिक्नुपर्ने उनी बताउँछिन् । 'कलाकार शान्त रुपमा चम्कनुपर्छजस्तो लाग्छ । उपाधि दिने प्रथाले मानिसलाई दासत्वतिर लैजान्छ जस्तो लाग्छ,' उनले भनिन् ।

अभिनेता विपिन कार्की कलाकार भएर चिनिनु नै ठूलो उपाधि रहेको बताउँछन् । 'कुनै उपाधि चाहिन्छ जस्तो लाग्दैन मलाई । उपाधि कसले दिने भन्ने कुरा पनि आउँछ,'उनले भने,'राष्ट्रियस्तरबाटै उपाधिसहित पुरस्कार दियो भने उचित नै हो जस्तो लाग्छ । संस्था वा व्यक्तिगत तवरले उपाधि दिनुभन्दा राज्यले दिएको सर्वमान्य हुन्छ ।'

अभिनेता दीपकराज गिरी महानायिकाको उपाधि एक जनालाई दिँदा अन्य अभिनेत्रीहरुको चित्त दुख्ने बताउँछन् । 'कलाकारलाई उपाधि दिनु आपत्ति होइन । हाम्रो कलाकार साथीले उपाधि पाउनु त राम्रो हो । तर महानायिका भनेर उपाधि दिँदा वर्षौंदेखि काम गरिरहेका अभिनेत्रीहरुलाई त चित्त दुख्न सक्छ,' उनले भने ।

सर्वप्रिय, सदाबहारको ट्याग दिए पनि महानायक र महानायिकाको उपाधि दिन नहुने कसैलाई दिन नहुने उनको भनाइ छ । 'भोलि कुनै कार्यक्रम गरेर महानायिका, महाकवि, महालेखक, महानायक घोषणा गर्नु राम्रो परम्परा हो जस्तो लाग्दैन । कलाकारको अगाडि कुनै उपाधि आवश्यक छैन । हरिवंश, मदनकृष्ण श्रेष्ठ, राजेश हमाल नामै काफी छ,' उनले भने ।

'उपाधिको मूल्यांकन गर्ने कसले?' दीपकको प्रश्न छ । 'हामी किन सबैलाई महान बनाउने । यो गलत प्रवृति हो । महान त कलाकारले दिएको फिल्मले हुने हो,' दीपकले भने ।

उपाधिबारे प्रश्न गर्दा अभिनेत्री करिश्माले भने कान्तिपुरसँग बोल्न चाहिनन् ।

प्रकाशित : माघ ३०, २०७७ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?