२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

साउन्ड डिजाइनर उत्तमको नामको पछाडि अब 'सिएएस'

रीना मोक्तान

काठमाडौँ — गत भदौ २९ मा नेपालका साउन्ड डिजाइनर (मिक्सर, इडिटर) उत्तम न्यौपानेलाई 'सिनेमा अडियो सोसाइटी'बाट मेल आयो । मेलमा लेखिएको थियो, 'बोर्डले तपाईंलाई सिनेमा अडियो सोसाइटीको सक्रिय सदस्य(एक्टिभ मेम्बर)मा छनाेट गरेको छ । अब तपाईंले आफ्नो नामको पछाडि सिएएस लेख्न सक्नुहुन्छ । बधाई छ ।'

साउन्ड डिजाइनर उत्तमको नामको पछाडि अब 'सिएएस'

'साउन्ड'मा काम गर्नेहरुको एउटै सपना हुन्छ, आफ्नो नामको पछाडि 'सिएएस' लेख्ने । 'सिएएस' जो कोहीले आफ्नो नामको पछाडि लेख्न पाउँदैन । यसका लागि विश्व प्रख्यात संस्था 'सिनेमा अडियो सोसाइटी'बाट अनुमति पाउनुपर्छ । 'सिनेमा अडियो सोसाइटी'को योग्यता पूरा गर्नेले यो उपाधि/पद आफ्नो नामको पछाडि राख्न पाउँछन् ।

'सिनेमा अडियो सोसाइटी'ले एक्टिभ मेम्बरमा स्वीकृति दिएसँगै ३४ वर्षीय उत्तम निकै उत्साहित छन् । निकै खुसी छन् । 'आफ्नो नाउँको पछाडि सिएएस लेख्न पाउँ भन्ने सबैको सपना हुन्छ । मेरो पनि थियो हो । त्यो सपना पूरा भयो । यो खुसी शब्दमा बयान गर्न सक्दिन,' दंग पर्दै उत्तमले सुनाए ।

फिल्ममा काम गरेको लामो समय उत्तम 'सिएएस'बारे अनविज्ञ थिए । विदेशी फिल्म हेर्दै जाँदा उनको आँखा अडिन्थ्यो अडियो इन्जिनियरको क्रेडिटमा । अडियो इन्जिनियरको नाम पछाडि 'सिएएस' र 'एम्प्स'(एकेडेमी अफ मोसन पिक्चर्स साइन्स एण्ड आर्ट) लेखिएको भेट्याएपछि उनले यसबारे खोज्न थाले । 'यो के रहेछ? भनेर खोजें । सिनेमा अडियो सोसाइटीबारे थाहा पाएँ । त्यसमा म पनि सहभागी हुन पाएँ भन्ने लाग्थ्यो । तर यत्तिका ठूलो संस्थासम्म पुग्न सकिन्न जस्तो लाग्थ्यो,' पूराना कुरा कोट्याए ।

एकदिन 'बाहुबली'मा साउन्डको काम गर्ने जस्टिन जोसले फेसबुक अकाउन्टमा 'सिएएस' को प्रमाण पत्र सेयर गरे । जस्टिन पनि एक्टिभ मेम्बरमा स्वीकृत भएका रहेछन् । त्यसपछि त उत्तमलाई पनि 'प्रयास गरि हेरौं न' भन्ने लाग्यो । तर, कसरी आवदेन भर्ने प्रकिया केही थाहा थिएन ।

आफूले काम गर्ने विदेशी फिल्मका अडियो इन्जिनियरहरुसँग यसबारे सोधे । उनीहरुले यसका प्रकियाबारे बताइदिए । बिस्तारै उनले 'सिनेमा अडियो सोसाइटी'लाई पछ्याउँदै गए । एकपटक आवेदन पठाएका पनि थिए । तर 'सिएएस'ले आवेदनमा २ जना एक्टिभ मेम्बरको स्पोन्सर चाहिने भन्दै आवेदन लिएन ।

त्यसपछि स्पोन्सर खोज्नतिर लागे उत्तम । फेरि भारतका अर्का साउन्ड इन्जिनियर स्रिजेश नायरले आफू सिएएसको एक्टिभ मेम्बर भएको भन्दै सामाजिक सञ्जालमा खुसी व्यक्त गरेको उत्तमले देखे । स्पोन्सर गर्नेको नामलाई नियालेर हेरे, मार्टी डी हम्फेरेले लेखिएको थियो । उत्तमले हत्त न पत्त उनलाई सम्पर्क गरेर आफू पनि लामो समयदेखि एक्टिभ मेम्बरको लागि तयारी गरिरहेको सुनाए ।

स्पोन्सरलाई मनाउन गाह्रो थियो । मार्टी डीले २ महिनापछि सकारात्मक हुँदै उत्तमलाई आफ्नो परिचय अनि कामबारे जानकारी मागे । आफूले गरेको फिल्महरुको ट्रेलर रिलिज हुनासाथ उत्तम मार्टी डीलाई पठाउँथे । त्यसपछि अन्तत: लामो समयपछि मार्टी डी स्पोन्सरका लागि तयार भए । मार्टी डीले नै अर्को स्पोन्सर खोजिदिए, जोर्ज । स्पोन्सर खोज्न सजिलो थिएन । 'मार्टी डीले पनि कहाँ एकैपटक हुन्छ र भन्नु भएको थियो । कति समय पर्खाउनु भयो । धेरै कामहरु हेर्दै जानु भएपछि तयार हुनु भएको हो । स्पोन्सर सजिलै भेटेको भए पहिला नै अवार्ड पाइसक्थें । गाह्रो थियो तर म भाग्यमानी ठान्छु मैले २ पटक एमी अवार्ड र ओस्कार जितिसकेका स्पोन्सर भेटें,' उनी सुनाउँछन् ।

स्पोन्सर भेट्याएपछि उत्तमले दोस्रो पटक 'सिएएस'को एक्टिभ मेम्बरको लागि आवेदन भरे । आवेदनमा पाँच वर्षको कामको अनुभव पठाउनु पर्थ्‍यो । अवार्डहरु उल्लेख गर्नुपर्थ्‍यो । अन्तर्राष्ट्रिय फिल्मबारे जानकारी दिनुपर्थ्‍यो । ६ महिनाअघि उनले सबै कुरा पूरा गरेर आवेदन पठाएका थिए ।

बोर्डको दुई तिहाई सदस्यले एक्टिभ मेम्बर‍ छनौट गर्ने गर्छ । दुई तिहाइले उत्तमलाई योग्य ठान्यो । 'ठूला साउन्ड डिजाइनरहरुसँग म उभिन पाएको छु । भारतमा जम्मा तीनजना अनुप देव, स्रिजेश नायर, जस्टिन जोसले यो अवार्ड पाएका छन्,' खुसी हुँदै उत्तमले भने, 'यो मेरो लागि ठूलो उपलब्धि हो ।'

एक्टिभ मेम्बरमा छनाेट भएको दिन त उनलाई विश्वास नै लागेको थिएन । स्पोन्सर गर्ने दुवैले उनलाई सामाजिक सञ्जालतिर बधाई दिए । तर पनि विश्वास गर्न सकिरहेका थिएनन् उनी । '२/३ दिन सम्म त विश्वास नै लागेन । हामी कति सानो ठाउँमा काम गरिरहेका हुन्छौं । तर सिनेमा अडियो सोसाइटीले त्यसरी सदस्यमा स्वीकृत गर्नु ठूलो कुरा हो । स्पोन्सरले बधाई दिँदा पनि मैले बारम्बार उनीहरुलाई सोधिरहेँ, साँच्चै हो भन्दै,' उत्तमले भने ।

कोरोना महामारीका कारण उनको प्रमाण पत्र, गोल्ड मेडल, ब्याच, एक्टिभ मेम्बरको नम्बर कुरियर हुन सकिरहेको छैन । उनी व्यग्र प्रतीक्षामा छन् आफ्नो प्रमाण पत्र हेर्न । त्योसँगै अझ प्रतीक्षा छ, नाम पछाडि सिएएस राखेको हेर्ने ।

त्यसैले प्रदर्शनको तयारीमा रहेका फिल्महरुको क्रेडिट पछाडि उनले सिएएस राख्न थालिसकेका छन् । हालै उनले 'कठपुतली' फिल्मको काम सके, त्यसमा पनि आफ्नो नामको पछाडि उनले सिएएस राख्न लगाए । त्यस्तै 'चिसो एस्ट्रे'को क्रेडिटमा पनि सिएएस जोडिसकेका छन् ।

सिनेमा अडियो सोसाइटीका मानिसहरु नै ओस्कारमा भोट गरिरहेका हुन्छन् । सिनेमा अडियो सोसाइटीका सक्रिय सदस्यलाई 'एम्प्स'(एकेडेमी अफ मोसन पिक्चर्स साइन्स एण्ड आर्ट)ले पनि सजिलै स्वीकार्ने गर्छ । उत्तम यसले ठूला संस्थाहरुका लागि बाटो खोलिदिएको बताउँछन् । 'एकेडेमीमा जाने बाटो खुलियो । सिनेमा अडियो सोसाइटीमा पुग्नु नै ठूलो कुरा हो । अब मैले एम्प्समा पनि सहभागिता जनाउन पाउँछु । मेरो लागि बाटो खुलेको छ,' उनी सुनाउँछन्, 'अब हलिउडका ठूला कार्यक्रममा म नेपाली फिल्मको प्रतिनिधित्व गर्न पाउँछु । हलिउडका फिल्महरुसँग प्रतिस्पर्धाका लागि मैले सिधैं फिल्महरु पठाउन पाउँछु ।'

'सिएएस'को अवार्ड पाउनेहरु ओस्कार जित्ने फिल्महरु हुन्छन् । ५६ औं सीएएस अवार्ड 'फोर्ड भर्सेस फरारी', 'जोकर', 'ओन्स अपन अ टाइम इन हलिउड', 'आइरिस म्यान'ले जितेको थियो । स्टेभेन स्पिलबर्गलाई सम्मान गरिसकेको सिनेमा अडियो सिसाइटीको बोर्डमा नाम चलेका फिल्मकर्मीहरु छन् । यस्तो संस्थाको सक्रिय सदस्यमा स्विकृत हुनु उत्तम मात्र होइन नेपाली फिल्म उद्योगका लागि पनि उपलब्धि हो ।

साउन्डमा करियर

रौतहटमा जन्मेका उत्तम सन् २००५ मा काठमाडौं आए । उत्तम पहिल्यैदेखि इलेक्ट्रोनिक्समा रुची राख्थे । त्यसैले समय पाउनासाथ टंक न्यौपानेकाे काम गर्ने स्टूडियोमा पुग्थे । बिस्तारै साउन्डतिर उनको रुचि बढ्दै गयो । त्यसपछि उनले प्रदीप उपाध्यायसँग नक्सालमा साउन्ड पढे । ३ महिने कोर्स सके लगतै गीत रेकर्डिङमा काम सुरु गरे । त्यसपछि डेढ वर्षसम्म इमनविक्रम शाहको स्टूडियोमा गीत रेकर्डिङको काम गर्न थाले । त्यसपछि नीर शाहको नेश्नल स्टूडियोमा काम थाले । त्यहाँ उनको भेट दीप तुलाधारसँग भयो । उनले दीपबाट संगीतका विषयमा धेरै कुरा सिके ।

बिस्तारै उनलाई फिल्मतिर झुकाव बढ्न थाल्यो । विनोद पौडेलको लघु फिल्म 'अवेकन आइज'मा साउन्डको काम गर्दै उनले फिल्मतिर पाइला चाले । 'मिसिन पैसा' र 'मेरो एउटा साथी छ' हुँदै बिस्तारै उनी फिल्मको काममा व्यस्त भए । फिल्महरुमा काम गर्न थालेपछि उनलाई साउन्डबारे अझै सिक्ने रहर जाग्यो । 'मेरो एउटा साथी छ' सक्नासाथ चेन्नईको 'नेश्नल इन्स्टिच्यूट अफ अडियो आर्ट'मा ८ महिना साउन्डको कक्षा लिए ।

८० बढी नेपाली फिल्ममा साउन्डको काम गरिसकेका उत्तमले विदेशी फिल्ममा पनि कामको अनुभव बटुलेका छन् ।

उनले फिफा वर्ल्ड कपमा आधारित 'डर्टी गेम'मा साउन्ड मिक्सरको काम गरेका थिए । त्यस्तै बुसान इन्टरनेश्नल फिल्म फेस्टिभलले प्रस्तुत गरेको फिल्म 'चन्द्र'मा पनि काम गरेका छन् । फिल्मलाई नेपाली र इरानी निर्देशकले निर्देशन गरेका थिए । त्यस्तै 'डन्ट स्टप रनिङ'मा पनि उनले सोलो मिक्सिङ गरेका छन् । ओस्कार मनोनयमा परेको एरिक भ्यालीको 'बियोन्द द क्लाउड्स'को नेपालको थियट्रिकल मिक्स उनैले गरेका हुन् । डकुमेन्ट्रीहरुमा पनि उनले साउन्डको काम गरिसकेका छन् ।

नेपाली फिल्ममा साउन्डको पक्ष निकै कमजोर हुन्छ । साउन्डको लागि उचित समय नपाउँदा यस्तो समस्या देखिएको उनी बताउँछन् । 'पहिलाको फिल्मको तुलनामा अहिले नेपाली फिल्मको साउन्ड राम्रो भएको छ । तर साउन्ड मात्र राम्रो भएर भएन । फिल्म पनि राम्रो बन्नु पर्‍यो । अर्को त साउन्ड कमजोर हुनुको अर्को कारण समय हो । पोस्ट प्रोडक्सनमा साउन्डका लागि उपयुक्त नै समय हुँदैन ।'

अन्तिम अवस्थामा फिल्ममा साउन्डको काम सुरु हुने उनको अनुभव छ । साउन्डलाई महत्त्व दिने निर्देशक कम भएर पनि यो समस्या नेपाली फिल्म उद्योगमा देखिएको उनी बताउँछन् । 'प्रदर्शनको २/३ दिन अगाडि मात्र फिल्मको मिक्सिङ सुरु हुन्छ । साउन्डलाई महत्त्व नै दिँइदैन । यहाँ त आवाज सुने पुग्छ भन्ने धारणा छ,' उनले भने, 'साउन्डलाई महत्त्व दिने निर्देशक औंलामा गन्न सकिन्छ । यता फिल्म मिक्स सकिएको हुँदैन । विदेशमा फिल्म पठाउनु पर्‍यो भनिदिन्छन् । हतारमा फिल्मको काम सुरु गर्दा साउन्ड कमजोर हुन्छ ।'

उनले 'बुलबुल' र 'ददिया'मा उपयुक्त समय पाएका थिए । त्यसैले ती फिल्ममा चित्त बुझ्दो नतिजा निस्किएको उनी बताउँछन् ।

प्रकाशित : आश्विन १३, २०७७ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?