‘ऐना झ्यालको पुतली’ बुसान फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा- मनोरञ्जन - कान्तिपुर समाचार

‘ऐना झ्यालको पुतली’ बुसान फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा

कान्तिपुर संवाददाता

काठमाडौँ — सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ । फिल्म बुसानको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यु करेन्ट सेक्सन’मा छानिएको हो ।

कुनै पनि निर्देशकको पहिलो र दोस्रो फिल्म मात्र छनोट हुने प्रावधान रहेको ‘न्यु करेन्ट सेक्सन’ मा विजेता बन्ने दुई फिल्मले ३० हजार अमेरिकी डलर (३५ लाख रुपैयाँ) प्राप्त गर्नेछन् । योसँगै ‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म भएको छ । यसअघि नवीन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौं’ न्यु करेन्टपछि सर्वाधिक पुरस्कार राशि रहेको किम जेसिओके अवार्डमा छनोट भएको थियो । किम जेसिओके अवार्डमा पनि दुई फिल्मलाई नै पुरस्कृत गरिन्छ तर यसको रकम १० हजार अमेरिकी डलर मात्र रहेको छ । कान, बर्लिन, टोरन्टो, सन्डान्सपछि प्रतिष्ठित मानिने बुसानको यो २५औं संस्करण हो । कोभिड १९को महामारीका कारण भर्चुअल रुपमा सम्पन्न हुने फेस्टिभल यो साल अक्टोबर २१ मा सुरु भएर ३० मा सकिनेछ ।

लेखक/ निर्देशकको रुपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यु हो । सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए जुन १४ मिनेट अवधिको लघु फिल्म थियो ।

फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया बालिका (विद्या)को सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । तर जति पटक उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ । सुजितले बालिकाको पढ्ने सपनालाई ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताए ।

‘ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन सक्दैन । हाम्रो फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ ,‘ सुजितले भने, ‘उसलाई बाहिर निस्कन छ तर हरेक पटक उसको प्रयासमा केही न केही अड्चन आइरहन्छ । यसमा हामीले हाम्रो देशका महिलाको पनि प्रतिबिम्ब देख्न सक्छौं ।’ विद्या र उनका ९ वर्षका भाइ (बसन्त) बीचको बालसुलभ सम्बन्ध पनि फिल्ममा मियोको रुपमा रहेको सुजितले बताए । ‘दिदीले आफ्नो सपनामा बिट मार्न लागेको देखेपछि उनलाई मद्दत गर्न भाइले गर्ने प्रयत्न फिल्मको महत्वपूर्ण हिस्सा हो । यो सम्बन्धमार्फत् फिल्मले पितृसत्तात्मक सोचमा पनि बदलाव आउनु पर्ने आवश्यकतालाई इंगित गरेको छ,’ सुजितले भने ।

सवा करोड हाराहारीको बजेटमा बनेको फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । सिरु बिष्टबाहेक फिल्ममा अधिकांश नयाF कलाकारको अभिनय रहेको छ ।

आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रबिन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन् । फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्प संगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ ।

‘ऐना झ्यालको पुतली’को निर्मातामध्येका एक रामकृष्ण पोखरेलले निर्माण गर्न लागेको अर्को फिल्म ‘रिभर इन दि मिरर‘पनि बुसानकै एसियन प्रोजेक्ट मार्केटमा छानिएको छ । निर्माता पोखरेलले यो फिल्म भुटानी निर्माता /निर्देशक टासी ग्याल्छेनसँगको सहकार्यमा निर्माण गर्न लागेका हुन् । एसियन प्रोजेक्ट मार्केट एसियाका फिल्ममेकरका लागि प्रोड्युसिङ पार्टनर खोज्ने उत्कृष्ट प्लेटफर्म मानिने गरेको छ ।

प्रकाशित : भाद्र २९, २०७७ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्

ट्रक जुध्दा चालकको मृत्यु

रमेशकुमार पौडेल

चितवन — नारायणगढ–मुग्लिन सडकमा सोमबार बिहान दुई ट्रक ठक्कर खाँदा गम्भीर घाइते भएका एक चालकको उपचारका क्रममा मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाका अनुसार ना४प ८०११ नम्बर ट्रकका चालक बारा, परवानीपुरका २८ वर्षीय अजय साहको मृत्यु भएको हो ।

उनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

इच्छाकामना गाउँपालिका-५ मुग्लिननजिक खहरे पुलमा बिहान साढे ८ बजे उनको ट्रक काठमाडौंबाट नारायणगढ आउँदै गरेको ना६ख २४२३ नम्बरको ट्रकसँग ठोक्किएको थियो । अर्को ट्रकका चालक दोलखा, जिरी-२ का ४० वर्गीय दाङ्गिमा शेर्पा पनि घाइते भएको डीएसपी थापाले बताए ।

त्यसै गरी ट्रकमा रहेका सिराहाका लालगुलाबी अन्सारी र चितवन इच्छाकामना गाउँपालिका-६ का भावी गुरुङ, बिमा गुरुङ र सुभद्रा गुरुङ पनि घाइते छन् । उनीहरूको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । दुर्घटनापछि केही बेर बाटो पनि अवरुद्ध भएको थियो ।


प्रकाशित : भाद्र २९, २०७७ १३:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×