कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

निखिलको सम्झना : सुटिङमै सबैले हिरो भनेर मख्ख पारिदिन्थे

रीना मोक्तान

काठमाडौँ — अभिनेता निखिल उप्रेती एक समयका व्यस्त कलाकार हुन् । डेब्यू फिल्म 'पिँजडा'मा सात तलाबाट हाम फालेर 'एक्सन' गरेकै कारण एकाएक उनी चर्चामा आएका थिए । बलिउडमा लामो समय कामको अनुभव बटुलेर नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका निखिका ३५ वटा फिल्म लगातार बक्स अफिसमा हिट सावित भए ।

निखिलको सम्झना : सुटिङमै सबैले हिरो भनेर मख्ख पारिदिन्थे

अहिले निखिलले फिल्मको सुटिङ नगरेको तीन वर्ष भइसक्यो । फिल्म क्षेत्रबाट टाढा रहे पनि निखिलको स्मृतिमा त्योबेलाका सुटिङका रमाइला क्षणहरु ताजै छन् ।

सुटिङमा रमाइलो गर्थे निखिल । क्यामेरा र रिफ्लेक्टर देख्नेबित्तिकै उनलाई आनन्द लाग्थ्यो । सबैजनासँग घुलमिल गर्नेपर्ने स्वाभावका थिए उनी । त्यतिबेला सुटिङस्थल वनभोजझैं हुने उनको अनुभव छ । 'म त जहाँ काम गर्छु त्यहाँ रमाइलो गर्नुपर्ने स्वभावको छु । त्यतिबेला सुटिङ सधैँ पिकनिक जस्तै हुन्थ्यो । सुटिङमा एक त सुन्दर ठाउँमा लगिन्छ,' उनले भने ।

सुटिङस्थलमा दर्शकहरु उनलाई नै हेर्न झुम्मिन्थे । विशेष मानसम्मान पाउँथे । 'हिरो' भएपछि त सुटिङ सेटमा उनको सान बेग्लै हुन्थ्यो । 'सुटिङमा हिरो भनेर मख्ख पारिदिन्छन् । सुटिङ नगरेको यत्रो वर्ष पनि ती दिनहरु सम्झँदै मख्ख पर्छु म,' उनले सुनाए । २० वर्ष यस क्षेत्रमा सक्रिय रहँदा उनलाई सुटिङका लागि मनपर्ने स्थान बन्यो पोखरा । आफ्नो ५० भन्दा बढी फिल्मको सुटिङ पोखरामै गरेको उनी सुनाउँछन् । त्यसैले पोखरासँग सुटिङका धेरै यादहरु रहेको उनी बताउँछन् । 'पोखरामा गइसकेपछि छेउको जोमसोम जान पाइन्थ्यो । मलाई त सुटिङ त्यसैले जहिल्यै पोखरामै होस् भन्ने लाग्थ्यो,' निखिल भन्छन्, 'त्यो सानो सहर त्यहीमाथि आवादी पनि कम । मेरो त स्वाभाव नै एक्लै शान्त ठाउँमा बस्ने भएकोले गर्दा पनि जनसंख्या कम भएको ठाउँ मेरो मनपर्ने ठाउँमा पर्थ्यो ।'

नबिर्सने घटना

सुटिङ भन्नेबित्तिकै निखिल एउटा घटना कहिल्यै बिर्सँदैनन् । तीनताका निखिल निकै व्यस्त हुने गर्थे । एकैदिन ३/४ वटा फिल्मको सुटिङ भ्याउँथे । उनकै शब्दमा भन्नुपर्दा भयंकर ठूलो मान्छे भइसकेका थिए । त्यसदिन पनि एउटा फिल्मको सुटिङ सकेर अर्को फिल्मको सुटिङमा हतारहतार गर्दै पुगे उनी । त्यतिबेला पहिरनको जिम्मा कलाकार आफैले सम्हाल्नुपर्थ्‍यो । अभिनेत्री सञ्चिता लुइँटेलसँग स्क्रिन सेयर गरेर अर्को सेटमा अभिनेत्री रेखा थापासँग अभिनय गर्नुपर्थ्यो निखिललाई । उनले त्यसदिन एउटै पहिरनमा दुई वटा फिल्मको सुटिङ भ्याए । दुवै फिल्ममा उनले निभाएको पात्रको नाम एउटै थियो । पछि उनले चाल पाए त्यो दुवै फिल्म एउटै विदेशी फिल्मको कपी थियो ।

'एउटा सुटिङबाट अर्को सुटिङमा जाँदा एउटै फिल्मको सुटिङ गरिरहेको रहेछु । एउटै सोर्स परेछ,' उनी पुराना दिनको सम्झना गर्छन्, 'एउटै फिल्मको कपी पर्देछ । ती दुवै फिल्मको सुटिङ एकैदिन भयो कस्तो सञ्‍जोग !'

नेपाली फिल्मकर्मीले विदेशी फिल्मको कपी गर्दै नेपाली फिल्म निर्माण गर्दै आएको कुरा नौलो होइन । नेपाली फिल्मकर्मीको यो प्रवृतिसँग जानकार थिए निखिल । आफूले विदेशी फिल्मको हुबहु कपी गरिएको दुई फिल्ममा काम गर्दा पनि उनले निर्माण टिमसँग यसबारे छलफल गर्ने सोचेनन् । 'मानौं सय साथीको अनुहारमा डन्डिफोर आएको छ भने मैले त्यहाँ डन्डिफोरको कुरा उठाउनु नै बेवकुफी हुन्थ्यो । भन्नुको अर्थ सबैले कपी गरेरै फिल्म बनाउँथे । अनि कपीको कुरा गर्नु नै बेवकुफी हुन्थ्यो,' नेपाली फिल्म क्षेत्रको तितो यथार्थबारे उनले भने, 'यहाँ त विदेशी फिल्मको कपी गर्नु बाहेक आफ्नो दिमाग लगाउँदैनन् ।'

यसरी विदेशी फिल्मबाट चोरेर बनाइएको फिल्म पर्दामा आउँदा निखिल धेरै पटक विवादमा तानिन्थे । दुई वटा फिल्ममा एउटै पहिरन पहिरिएका कारण पनि उनको विवाद हुन्थ्यो । निखिलले सुटिङका क्रममा यस्ता थुप्रै घट्नाको सामना गरेका छन् ।

निकै व्यस्त सेड्यूलमा काम गर्दा निखिलको समयलाई मध्यनजर गर्दै सुटिङ सेट तयार पारिन्थ्यो । एउटै ठाउँमा दुई फिल्मको सुटिङसमेत गरेका छन् निखिलले । 'बालाजुमा सुटिङ गर्दाखेरी स्टुडियो बाहिर एउटा सुटिङ हुन्थ्यो भित्र अर्को सुटिङ । ढोकाभित्र एउटा, ढोकाबाहिर अर्को सुटिङ,' उनी भन्छन् ।

यसरी स्टुडियोभित्रको सुटिङ सकेर उनी बाहिर सुटिङ गर्न आउँथे । भित्रको सुटिङ सेटमा कपाल जेल लगाएर लप्पकै पार्थे । बाहिर सेटमा कपालको स्टाइल धुएर सुख्खा बनाउँथे । भित्रको सुटिङ सक्नासाथ बाहिर तातोपानी र ड्रायर लिएर मेकअपम्यानहरु तयार अवस्थामा खडा भएर बसेको अझै सम्झनामा छ । 'यस्तै १२ वर्ष अगाडिको कुरा हो यो । यो त्यतिबेलाको घटना हो जब देशमा अधिकतम बन्द हुन्थ्यो,' उनले सुनाए, 'निर्माण टिमहरु मेरो समय अनुसार लोकेसन सेट गर्दै हिँड्थ्यो । सुटिङ त्यसरी हुन्छ भनेर मलाई थाहा थिएन । तर मेरो सेड्यूल मिल्दैन भनेपछि मेरो व्यस्तताको हिसाबले सुटिङ लोकेसन बन्थ्यो ।'

सम्बन्धित समाचार

प्रकाशित : असार ५, २०७७ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?