कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कस्तो छ धुर्मुस-सुन्तलीको 'सेन्टी भाइरस' ?

रीना मोक्तान

पछिल्लो समय सबैको रोजाईमा परेका निर्देशक हुन् रामबाबु गुरुङ । 'कबड्डी'बाट निर्देशनमा आफ्नो छुट्टै छाप छोड्न सफल रामबाबुले यो पटक सिताराम कट्टेल(धुर्मुस)को नयाँ फिल्म निर्देशन गरेका छन्, 'सेन्टी भाइरस' । शुक्रबारबाट प्रदर्शनमा आएकाे गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ फिल्ममा सामाजिक अभियान्ताद्वय कलाकार कट्टेल र कुञ्जना घिमिरे(सुन्तली)को प्रमुख भूमिका छ ।

कस्तो छ धुर्मुस-सुन्तलीको 'सेन्टी भाइरस' ?

टेलिश्रृङ्खला 'मेरी बास्सै'बाट दर्शक हसाउँदै आएका यी दुई धुर्मुस सुन्तली जोडिएसँगै अपेक्षित हो, हाँसो । फिल्ममा दर्शक हँसाउने अनेकन संवाद छन् । फिल्ममा निर्देशक गुरुङ स्वयं दर्शक हँसाउन केन्द्रित छन् । सेन्टीभाइरस त्यसैको प्रतिफल हो । पछिल्लो समययता फिल्मकर्मीमा दर्शकले कमेडी मनपराउँछन् भन्ने मनोविज्ञान गढेर बसेको छ । निर्देशक गुरङले लेखेको कथा अनि पटकथामा यही मनोविज्ञान हाबी देखिन्छ ।

फिल्मको कथा हो, छथर जोरपाटीको । गाउँमा प्रतिनिधि सभाको चुनाव लागेको छ । सुर्यविक्रम(बसन्त भट्ट) जनउत्थान पार्टीको उम्मेद्वार हो । उसँग पैसा अनि शक्ति छ। पार्टीको सिद्धान्त विपरित जानै नसक्ने बलियो कार्यकर्ता धुर्वरामको साथ छ । त्यस्तै पछिल्लो वर्ष पनि चुनाव हारेका खगेन्द्र(राजाराम पौडेल)ले यसपटक फेरि चुनावको लागि टिकट पाउँछ । प्रतिपक्षी खगेन्द्रको पृष्ठभूमी कमजोर छ । छोरी जूनेली(कुञ्जना)को पूरा समर्थन । एकता बस्ती दुई पार्टीका लागि निर्णायक भोट हुन् । पति धुर्वराम जनउत्थान पार्टीको सिद्धान्त पछाउने यता पत्नि जूनेली लोकतान्त्रिक पार्टी । जूनेली पति धुर्वरामलाई लोकतान्त्रिक पार्टीमा समावेश गरेर बुबालाई जिताउन चाहन्छिन् । पुर्ख्यौली पार्टी छोड्न नचाहने धुर्वरामले के ससुरा खगेन्द्रलाई साथ देलान् ?

चुनावी प्रतिस्पर्धामा पति र पत्नीबीच हुने संघर्षमै घुमेको छ फिल्मको कथा ।

यो फिल्मको केन्द्रिय द्वन्द्व अलमलमा छ । मुख्य पात्रहरु कहिले चुनावका लागि संघर्ष गर्छन् त कहिले एकता बस्तीका लागि । निर्देशक गुरुङले एकपछि अर्को समस्या सिर्जना गर्न खोज्दा फिल्म विषयान्तर भएको छ । दुई पार्टीबीचको प्रतिस्पर्धा देखाउनसाथ सुकुम्बासी बस्तीमा चल्ने डोजरको समस्या फिल्ममा जबरजस्ती घुसाइएको छ । यस्ता बस्तीमा हुने डोजर काण्डका गम्भिर विषयलाई निर्देशकले सतहीमै छोडेका छन् । यसअर्थमा निर्देशक रामबाबु र लेखकद्वय कुमार कट्टेल र दीपक आचार्य गम्भीर देखिन्न् । उपकथामा विशेष ट्रिटमेन्ट आवश्यक लाग्छ ।

२ घण्टाको फिल्मले दर्शक होल्ड गराउन सक्दैन । फिल्म हेरिरहँदा लाग्छ पति पत्नीकै झगडा मात्र छ फिल्ममा । निर्देशक गुरुङ निर्देशनमै चिप्लिएका छन् । कतै पनि उनको निर्देशकिय कला झल्किन्न । फिल्मको क्लाइमेक्स निकै कमजोर छ ।

दृश्यलेभन्दा पनि संवादले दर्शक हँसाउने प्रयास नेपाली फिल्मको पुरानो रोग बन्दै गएको छ । यही रोगबाट ग्रसित देखिए रामबाबु पनि । फिल्ममा धुर्मुस र सुन्तलीको चर्को आवाजले दर्शक हँसाउने प्रयास भएको छ । फिल्ममा उनी दुईको अभिनय 'मेरी बास्सै'को भन्दा खास छैन । टेलिश्रृङ्खलामा मुख बङ्गाउँथे फिल्ममा त्यसैको मात्र कमी छ । सुर्यविक्रमको अभिनय निभाएका बसन्तको अभिनय पात्रलाई न्याय दिन्छ ।

कमेडियनहरुको बाक्लो भिड फिल्ममा कमेडीकै लागि समावेश गरिएको हो । बुद्धि तामाङ, विल्सन विक्रम राई, पवन खतिवडालगायतको कमेडियनहरुको भीडमा दयाहाङ राईलाई पनि मिसाइएको छ । रामबाबुका फिल्ममा दया छुट्दैनन् । साथी रामबाबुकै लागि यस्ता फिल्ममा अभिनय गर्ने दयाहाङ राई दर्शकप्रति अब इमान्दार छैनन् भन्ने प्रमाणित हुन्छ । यस्तै विषयमा काम गर्दै जाने हो भने दयाहाङको करियर पनि ओरालो लाग्ने निश्चित हो । यस्तै फिल्म निर्देशन गर्न थाले रामबाबुलाई दर्शकले पत्याउन छोड्नेछ ।

फिल्ममा राजनीतिको विषय उठाउन खोजिएको छ । जबकि राजनीति वा सामाजिक मुद्दा घुसाउन साथ फिल्मको वजन बढ्ने होइन । जब त्यसको प्रस्तुति विश्वनिय र गहिरो हुन्न। बरु फिल्मको आधा आम्दानी रंगशाला दिने भनेर दर्शकको संवेदनालाई क्यास गर्न खोजेको जस्तो देखिन्छ । तर, फिल्म हेर्दा त्यो अपेक्षाकृत खुराक नपाउँदा तीनै दर्शकको मन खल्लो हुन्छ ।

यस किसिमको फिल्मले न दर्शकको दायरा बढाउँछ, न रचनात्मक रुपमा नेपाली फिल्मलाई योगदान दिन्छ । बरु आशातित फिल्मकर्मीसँग दर्शक भड्कन सक्छन् ।

प्रकाशित : फाल्गुन ९, २०७६ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?