काठमाडौँ — थुप्रै नेपाली फिल्ममा गीत गाएकी भारतीय गायिका आशा भोसले नेपाल आएकी छन् । बुधबार अपराह्न त्रिभुवन विमानस्थल उत्रेकी उनलाई नेपाली मौलिक भेषभूषामा सजिएका विभिन्न सांस्कृतिक समूहले स्वागत गरेका थिए । शनिबार होटल सोल्टीमा हुने ‘बृहत् सांगीतिक साँझ’ मा गीत प्रस्तुत गर्न उनलाई साधना कला केन्द्रले निम्त्याएको हो ।
फिल्म र आधुनिक संगीतका गरी सयभन्दा बढी नेपाली सिर्जना गाएकी यी ८६ वर्षीया भोसले पाँच दिन नेपाल रहनेछिन् । यस क्रममा विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणसमेत गर्ने साधनाका अध्यक्ष मिलन मोक्तानले जनाए ।
उनले गाएका थुप्रै नेपाली गीत सदावहार छन् । ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर माइतीघर...’, गैर्हीखेतको शिरै हान्यो...’, ‘एउटा मान्छे मनपर्छ...’, ‘म प्यार बेचिदिन्छु...’ देखि ‘मोहनी लाग्ला है...’, लगायत । सबैभन्दा धेरै संख्यामा गाउने गायिकाका रूपमा सन् २०११ मै गिनिज बुकमा नाम लेखाएकी भोसलेले नेपाली फिल्मका मात्रै पाँच दर्जन बढी गीत गाएकी छन् । नेपालमा उनले यो पहिलो सांगीतिक यात्रा हो । संगीतकार आरडी बर्मनसँग दोस्रो बिहे भएपछि सन् असीकै दशक उनी निजी भ्रमणमा काठमाडौं आएका थिए । तर, उक्त भ्रमण भने गोप्य थियो ।
नेपाली फिल्म ‘माइतीघर’ मा समावेश ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर...’ उनको पहिलो नेपाली गीत हो । किरण खरेलको शब्द तथा जयदेवको संगीत रहेको यो गीत अहिले पनि उत्तिकै चर्चित छ । त्यसपछि उनले रञ्जित गजमेरको संगीतमा ‘बाँसुरी’ फिल्मका लागि ‘झझल्को लिएर आएछ सावन...’ गाइन् । त्यसयता गजमेरको संगीतमा लगातार थुप्रै गीत गाइन् । भोसलेको दोस्रो पति चर्चित भारतीय संगीतकार आरडी बर्मनको ब्यान्डमा काम गर्ने क्रममा सन असीको दशकमा गजमेरको भेट भोसलेसित भएको थियो । यसपछि भोसलेले ‘के सोचें मैले...’, ‘नयाँ नयाँ सजाऔं है संसार...’, ‘दिलमा फोटो छ...’, ‘साउने झरीमा...’, ‘आज हाम्रो भेट भाको दिन...’, ‘यति धेरै माया दियौं...’, लगायतका चर्चित गीतहरू गाइन् । १० वर्षको उमेरमै उनले सन् १९४३ मा मराठी फिल्मको गीत ‘चला चला नव बाला’ बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी थिइन् ।
महाराष्ट्रको सांगीतिक घरानामा जन्मिएकी भोसलेले आफ्नो ६ दशक लामो करिअरमा विभिन्न भाषाका १० हजारभन्दा बढी गीत गाएकी छन् । शास्त्रीय गीत, गजल, भजन, पपदेखि लोक शैलीका गीतसम्म गाएकी उनलाई चार वर्षअघि बीबीसीले संसारकै सय प्रेरणादायी महिलाको सूचीमा राखेको थियो । उनका बुबा दीनानाथ मंगेश्कर चर्चित शास्त्रीय संगीतकार र रंगकर्मी थिए । आशा ९ वर्षको उमेर छँदा नै बुबाको निधन भएको थियो र यसपछि दिदी लता मंगेश्करका अभिभावकत्वमा उनी हुर्केकी थिइन् । सन् २००० मा भारतीय फिल्म क्षेत्रकै सबैभन्दा ठूलो ‘दादासाहेब फाल्के’ अवार्ड पाएकी उनी २००५ को ग्रामी अवार्डमा बेस्ट कन्टेम्पररी वर्ल्ड म्युजिक एल्बमका लागि मनोनयनमा परेकी थिइन् ।
भोसलेलाई स्वागत गर्दै गजमेरले ‘नेपाली माटो र नेपाललाई चिनाउन उनको योगदानको कदर गर्नुपर्ने’ बताए । त्यस्तै, फिल्म निर्देशक तथा कलाकार तुलसी घिमिरेले भोसलेको नेपाल भ्रमणले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने बताए । होटल सोल्टीमै आराम गरिरहेकी भोसलेले बिहीबार राष्ट्रपति विद्या भण्डारीसित भेट गर्ने र रेडियो नेपालको भ्रमण गर्ने कार्यक्रम रहेको छ । शुक्रबार पशुपति, स्वयम्भू र माइती नेपालको भ्रमणपछि भारतीय दूतावासमा रात्रिभोज हुने साधनाका मोक्तानले बताए । ‘शनिबारको कार्यक्रमपछि आइतबार लुम्बिनी र पोखराको भ्रमणमा जानुहुनेछ,’ सोल्टीमै आयोजित पत्रकार सम्मेलनमा मोक्तानले भने ।
रञ्जित गजमेरको एकल सांगीतिक प्रस्तुति रहने शनिबारको कार्यक्रममा भोसलेसँगै गायक प्रेमध्वज प्रधान, इन्द्रजित मिजार, रोविन शर्मा, रामकृष्ण ढकाल, उदय सोताङदेखि गायिका भारती घिमिरे, मनिला सोताङ, प्राश्ना शाक्य, बानिका प्रधान, तृशला गुरुङ, स्मिता दाहाल, सुजाता बर्मा, गायत्री त्रिपाठी, शिला विष्ट, एन्नी श्रेष्ठ, सम्झना वली, सृष्टि हिङमाङ, गायक मनोज राज, विवेक श्रेष्ठ, अजर जंगम, सञ्जय तुम्रोक, बुद्ध लामा, राज सागर, सुरेश लामा, निशान भट्टराई, सुमित पाठक, लेखराज गुरुङलगायतले पनि गाउनेछन् ।
