कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'कबड्डी कबड्डी कबड्डी' ले गर्‍यो नेपाली फिल्मको व्यावसायिक खडेरीको अन्त्य

काठमाडौँ — नेपाली फिल्मले लामो समयदेखि भोग्दै आएको व्यावसायिक खडेरीलाई शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले तोडेको छ । रामबाबु गुरुङ निर्देशित फिल्मले बम्पर ओपनिङ गर्दै दर्शकमाझ माहोल तताएको छ ।

'कबड्डी कबड्डी कबड्डी' ले गर्‍यो नेपाली फिल्मको व्यावसायिक खडेरीको अन्त्य

रिलिजको पूर्वसन्ध्यामा बिहीबार राजधानीको जय नेपाल हलमा यस फिल्मको भव्य प्रिमियर गरिएको थियो । प्रिमियरमा उपस्थित फिल्मकर्मीले कबड्डीको पछिल्लो सिरिजप्रति सुखद प्रतिक्रिया दिएका छन् ।


‘सिरिजकै सबैभन्दा राम्रो फिल्म लाग्यो मलाई,’ फिल्मबारे प्रतिक्रिया दिँदै निर्देशक हेमराज बीसीले कान्तिपुरसँग भने, ‘लेखन, निर्देशन र सबै पक्षबाट हेर्दा पनि तुलनात्मक रूपमा बढी परिपक्व र मनोरञ्जनात्मक लाग्यो ।’ उनले ‘कबड्डी’ को तुलनामा ‘कबड्डी कबड्डी’ केही फितलो लागेको भए पनि यसपटक परिपक्व भएको तर्क गरे । त्यसो त निर्देशक बीसीले त्यही कथालाई पनि अझै माझ्न सकिने ठाउँहरू आफूले देखेको बताए ।


निर्माताबाट निर्देशनमा हात हाल्न लागेका माधव वाग्लेले पनि ‘कबड्डी कबड्डी कबड्डी’ राम्रो लागेको प्रतिक्रिया दिए । भने, ‘सबै पक्ष राम्रो छ । अभिनय उत्तम लाग्यो । कास्टिङ राम्रो छ । मैले सोचेभन्दा राम्रो पाएँ ।’ उनले सिरिज भएकाले सुरुवातको जस्तो नयाँपन नपाइने भए पनि तेस्रो संस्करणसम्म आइपुग्दा निर्देशकको काम बढी मन परेको बताए । ‘तर यसैको पनि मध्यान्तरअघि फिल्म जति मज्जाले बगेको छ, मध्यान्तरपछि इमोसनल पार्टमा मलाई केही खड्कियो ।


त्यसलाई पनि अझ मजबुत बनाउन सकिन्थ्यो कि ?’ वाग्लेले थपे । मुस्ताङको थकाली थलोको कला, संस्कृति र रहनसहनमा कथा बुनेर निर्देशक गुरुङले पाँच वर्षअघि ‘कबड्डी’ पस्केका थिए । मौलिक कथा र आकर्षक हास्यशैलीमा वीरकाजी र मैयाको प्रेमवाचन गरेका निर्देशक गुरुङले मैयाले छोडेर गएपछि यसपटक वीरकाजीको प्रेमकथामा नयाँ सोल्टिनीको प्रवेश गराएर फिल्मलाई रोचक बनाएका छन् । दयाहाङ राई, उपासनासिंह ठकुरी, विल्सनविक्रम राई, कर्मा, विजय बराल, रिश्मा गुरुङ, बुद्धि तामाङ, लुनिभा तुलाधर, माओत्से गुरुङलगायतको अभिनय रहेको फिल्मलाई रामबाबुले उपेन्द्र सुब्बासँग मिलेर पटकथा तयार पारेका हुन् ।


फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ लाई अर्का निर्देशक दीपेन्द्र लामाले अनावश्यक मसला नथोपरिएको र परम्परागत संरचनाको ह्याङओभरबाट मुक्त रहेको टिप्पणी गरे । ‘यसको सिचुएसनल कमेडी पक्ष राम्रो छ । कलाकारको अभिनय र दृश्यभाषा परिपक्व भएको छ ।


सिनेमाटोग्राफी पनि तुलनात्मक रूपमा राम्रो लाग्यो,’ निर्देशक लामाले सिक्वेल भए पनि ‘कबड्डी’ शृंखला एउटै प्लटमा फरकफरक पात्र, चरित्र छिराएर रामबाबु गुरुङले आफ्नै प्याट्रन बनाउन सफल रहेको बताए । उनले थपे, ‘तैपनि मैले रामबाबु र कबड्डी ब्रान्डबाट अझ बढी अपेक्षा गरेको थिएँ । तैपनि समकालीन नेपाली फिल्महरूभन्दा राम्रो नै बनेको छ । धेरै उत्साहित हुने खालको फिल्म पनि हैन र हेर्नै नहुने खालको पनि छैन ।’


प्रिमियरमा उपस्थित अर्की निर्देशक दीपाश्री निरौलाले फिल्मले पूरा समय दर्शकलाई बाँधेर राख्ने बताइन् । उनले भनिन्, ‘ब्रान्ड भ्यालु बनाएको सिरिजले यत्तिको फिल्म बनाउँदा दर्शकले गाली गर्दैनन् ।’ अभिनेत्री वर्षा राउतले पनि आफूलाई फिल्म धेरै मनोरञ्जनात्मक लागेको संक्षिप्त प्रतिक्रिया दिइन् ।


हास्यकलाकार सीताराम कट्टेलले ‘कबड्डी कबड्डी कबड्डी’ दर्शक अपेक्षाअनुरूपको बनेको धारणा व्यक्त गर्दै भने, ‘फिल्म हेरुन्जेल राम्रो छ । कलाकारको प्रस्तुति, निर्देशकीय क्षमता र मौलिक फिल्मका रूपमा सबल छ ।’


प्रकाशित : आश्विन ६, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?