क्यानभासमा इतिहास

सुशीला तामा‌ङ

काठमाडौँ — आउँदो शुक्रबार काठमाडौं उपत्यकावासीले इन्द्रजात्रा मनाउँदै छन् । २ सय ५१ वर्षअघि यही जात्रा सकाएर राजा जयप्रकाश मल्ल आरामले सुतिरहेका थिए । मध्यरातमा पृथ्वीनारायण शाह र उनका सेनाले चारैतिरबाट घेरा हाली कान्तिपुर सहरमाथि बिनारक्तपात कब्जा जमाए ।

क्यानभासमा इतिहास

त्यति बेलाको क्षण कस्तो थियो होला ? गोर्खाली फौज कुन–कुन दिशाबाट घेरा हाली प्रवेश गरेका थिए ? यी दृश्यहरू भने बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालरीमा हेर्न सकिन्छ । इन्द्रजात्राकै छेको पारेर पाका चित्रकार हरिप्रसाद शर्माले यी र यस्तै ऐतिहासिक दृश्य समेटिएको चित्रहरूलाई प्रदर्शनीमा ल्याएका छन् ।


कान्तिपुरमाथि आक्रमणको सन्दर्भलाई उनले एउटा चित्रमा उतारेका छन् । वसन्तपुर दरबार र कुमारी घरको अगाडिको दृश्य प्रस्तुत गरिएको क्यानभासमा पृथ्वीनारायण शाह घोडामा सवार छन् भने उनका सेनाहरू टुँडिखेल, भिमसेनथान र नरदेवीतिरबाट घेरा हाली बसेका देखिन्छन् । दरबार क्षेत्रलाई नै उतारेको अर्को चित्रमा भने पृथ्वीनारायण शाह कुमारीघर अगाडि डबलीमा बसेर जीवित देवीका रूपमा मानिने कुमारीको हातबाट टीका ग्रहण गर्दै छन् ।


शर्माले कुमारीसँगै इन्द्रजात्राको बेला निकालिने गणेश र भैरवका रथहरू र जात्रामा देखिने बाजागाजा, नाचगान, तानाकिसी (हात्ती), परम्परागत भेषभूषासहित जात्राका सहभागी रैथाने नेवारहरूलाई दुरुस्तै देखाएका छन् । कान्तिपुरमाथि विजय हाँसिल गरेपछि पृथ्वीनारायणले राजाका रूपमा वैधानिकता पाएसँगै उपत्यकाको सांस्कृतिक पर्व र जात्रालाई पनि आत्मसात् गरेको सन्दर्भलाई उनले कलामार्फत् देखाउन खोजेको प्रदर्शनीमा नै भेटिएका चित्रकारका पुत्र प्रा. विष्णुप्रसाद शर्माले सुनाए ।


उमेरले हरिप्रसाद शर्मा ८२ वर्षमा टेकिसकेका छन् । उनका चित्र हेर्दा भने उनी तन्नेरी देखिन्छन् । तन्नेरी जोस–जाँगरसहित उनले कोरेका यथार्थवादी चित्रले यति बेला ग्यालरी भव्य बनेको छ । एक साताअघि सुरु भएको प्रदर्शनीको नाम दिएका छन् ‘नेपाल थ्रो द एज’ ।


प्रदर्शनीमा राखिएका ४५ वटा चित्रले बुद्धकालदेखि, लिच्छवि, मल्ल हुँदै राणाकालीन समयका ऐतिहासिक घटना, उपत्यकाभित्रका सांस्कृतिक, सामाजिक, ऐतिहासिक वास्तुकला र त्यतिखेरको जनजीवनलाई दुरुस्तै उतारेका छन् शर्माले । जल र तैल रंगको माध्यम अपनाइएका उनका चित्रहरूले नेपाली समाज र सभ्यताकै सचित्र इतिहासका कथा प्रस्तुत गर्छ ।


मुलुकका अमूल्य सांस्कृतिक सम्पदा अवलोकन, अनुसन्धान र विज्ञहरूसँग परामर्श गर्दै उनले चित्र कोरेका हुन् । ‘भावी पुस्ताका लागि ऐतिहासिक अभिलेख र दस्तावेजको रूपमा उहाँले काम गर्नुभएको हो,’ पुत्र विष्णुले भने ।


नेवार समुदायको घना बस्ती रहेको काठमाडौंको लगन टोलमा जन्मिएका शर्माले ५० को दशकदेखि कोरेका चित्रलाई संग्रह गर्दै प्रदर्शनी गरेका हुन् । पछिल्लो समय उनको कला सिर्जनाका लागि पुत्र विष्णुप्रसादले पनि विषयवस्तु छनोटदेखि सन्दर्भ सामग्रीको खोज तथा अनुसन्धान, रंग र आकृतिको संयोजनसम्म सघाउँदै आएका छन् ।


शर्माका कलाकृति इतिहासको अभिलेखीकरणका लागि उत्तिकै उपयोगी हुने देखिन्छन् । विसं. १९०३ मा हनुमानढोका नजिकै कोतको पटाङगिनीमा भएको कोत पर्व (हत्याकाण्ड) मा गगन सिंहको हत्यापछि क्रूर भएकी रानी राज्यलक्ष्मीले जंगबहादुरलाई हत्यारा पत्ता लगाउन दिइएको आदेश र बीभत्स लासलाई प्रस्तुत गरिएको चित्र उत्तिकै अर्थपूर्ण लाग्छ ।


पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम समयमा विश्वासिला भाइभारदालाई राज्य सञ्चालनका लागि दिव्योपदेश दिएको दृश्य, सात सय वर्षअघि नेपालको वास्तुकलाबाट प्रभावित भएर चीनका बादशाहले नेपालका एक सय जना कालिगढ मगाएसँगै नेपालका युवा कलाकार बलबाहु अर्थात् अरनिको ८० जना कालिगढहरूको नेतृत्व गरेर चीन प्रस्थान गर्न लागेको दृश्यहरू निकै सजीव लाग्छन् ।


सम्राट् अशोकको लुम्बिनी तीर्थयात्रालाई देखाइएको चित्रले लुकेर बसेको ऐतिहासिक तथ्यलाई उजागर गर्ने पुत्र विष्णुप्रसादले बताए । उनका अनुसार उक्त चित्र कोर्नुअघि अशोक स्तम्भको तथ्य पत्ता लगाउनै चार वर्ष समय लगाएका थिए चित्रकार हरिप्रसादले । ‘तथ्य अध्ययनपछि चित्र कोर्न मात्रै बुबालाई ११ महिना समय लाग्यो,’ पुत्रले भने ।


सम्राट् अशोकले ईशापूर्व २४९ मा लुम्बिनी भ्रमण गरिएको दृश्य देखाउन तयार गरिएको उक्त दृश्यमा घोडालाई स्तम्भको शीर्ष स्थानमा राख्न प्रयास गरिरहेका कामदारहरू, सम्राट्सँगै रथमा आएका भारदारहरू, राजा–रजौटाहरू, त्यहाँका भिक्षुहरू, थारू युवतीहरूसमेतलाई क्यानभासमा प्रस्तुत गरिएका छन् ।


अशोक स्तम्भसँगै अरू दुइटा स्तम्भलाई पनि राँगाले तानेका काठका गाडामा ल्याइएको ऐतिहासिक क्षण रोचक लाग्छ । सुरुमा स्तम्भको सिरान भागमा घोडाको मूर्तिलाई प्रतिस्थापन गरिएको तथ्य अनुसन्धानबाट नै पत्ता लगाएर आफ्नो पिताले कलामा उतारेको पुत्र विष्णुप्रसादले दाबी गरे ।


शर्माको कलाकृतिहरूमा नेवारी बस्तीको सांस्कृतिक तथा सामाजिक प्रभावसमेत प्रत्यक्ष देखिन्छ । आफ्नैवरिपरि बाल्यकालदेखि देख्दै आएको नेवारी सांस्कृतिक गतिविधि, चालचलन, गरगहना, तिनको रुपरंग, आकारलाई शर्माले जस्ताको तस्तै चित्रमा देखाएका छन् ।


नेवार समुदायको संयुक्त परिवार, खर्पन संस्कृति, काठमाडौं उपत्यकाबाट तिब्बत जाने व्यापारीहरू, ज्यापू दम्पत्ति, उपत्यकामा हुने जुवा खालको रमिता, जैसीदेवलवरिपरिको मन्दिर, डबलीहरूमा ग्रामीण बस्तीबाट काठ तथा भर्‍याङसहित नुन, तेल किन्न आएका मानिसको चहलपहल, नेवारी शवयात्रा, बहाल तथा चोकमा नेवार समुदायको दिनचर्यालाई क्यानभासमा सुन्दर ढंगबाट प्रस्तुत गरिएका छन् ।


सुन्दर र कञ्चन वाग्मतीको दृश्य र पातलो बस्ती रहेको हराभरा उपत्यकाको दृश्यचित्रले मन लोभ्याउँछ । प्रसिद्ध लिच्छवि राजा मानदेवले चाँगुनारायण मन्दिरमा गरुड स्तम्भ स्थापना गर्दै गरेको ऐतिहासिक क्षण र बुद्धले घरगृहस्थी त्याग गरेको क्षणलाई समेत शर्माले उतारेका छन् । प्रदर्शनीमा नै शर्माको चित्रलाई समेटेर सारुक ताम्राकारको ‘इतिहास कोर्ने हातहरू’ शीर्षकमा लघु डकुमेन्ट्री पनि हेर्न सकिन्छ । प्रदर्शनी आगामी असोज ९ गतेसम्म जारी रहने छ ।

प्रकाशित : भाद्र २६, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?