कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

दोहोरी ब्याटल

युटयुब ट्रेन्डिङ 
कान्तिपुर संवाददाता

काठमाडौँ — र्‍याप ब्याटल त सुनिएकै कुरा हो । लाउरे, युनिक पोयट, एकलव्य, बालेन जस्ता र्‍यापरहरू ब्याटलमार्फत चिनिएका थिए । विदेशतिर धेरै र्‍याप ब्याटल हुन्छन् । दोहोरी ब्याटल चाहिँ नेपालीकै लागि पनि नौलो अवधारणा हो । गायक प्रकाश सपूत र प्रीति आलेको यो नयाँ कन्सेप्ट युट्युब ट्रेन्डिङमा छ । 

दोहोरी ब्याटल

सोमबार दिउँसो उक्त दोहोरी ब्याटल ट्रेन्डिङको चौथो नम्बरमा थियो । झन्डै बीस मिनेट लामो भिडियोमा गायक–गायिकालाई आधुनिक गेटअपमा देखिन्छ । आफूहरूको ब्याटल विशुद्ध लोक–दोहोरी नभई दोहोरीबाट प्रभावित भएको भन्दै उनीहरूले खण्डन लेखेका छन् । भिडियोमा साढे एक लाख भ्युज र झन्डै आठ सय कमेन्ट आएका छन् ।


‘लास्टको दृश्य नराम्रो भयो,’ सञ्जीव मोक्तान, सुशीला थापालगायत युट्युबरले लेखेका छन्, ‘त्यसो गर्नु हुँदैनथ्यो ।’ कतिपयले यसलाई मोडर्न दोहोरी भनेका छन् भने केहीले यस्तो पाराले लोक–दोहोरीको बेइज्जत नगर्न सुझाव दिएका छन् । ‘गीतमा नयाँपन छ,’ अजय सुदीपको प्रतिक्रिया, ‘तर, भिडियो भएन ।’ यसमा चुरोट, बियरको बोतल देखाएर समाजप्रति असंवेदनशील भएको भन्दै कुमाल शंकरले गुनासो व्यक्त गरेका छन् ।


सोमबारको ट्रेन्डिङ सूचीमा पहिलो नम्बरमा भने बलिउड एक्सन फिल्म ‘बाघी २’ को ट्रेलर देखियो । टाइगर श्राफ, दिशा पटानी, मनोज बाजपेयी, रणदीप हुडा लगायतको मुख्य अभिनय रहेको फिल्म अहमद खानले निर्देशन गरेका हुन् । दुई मिनेट ४५ सेकेन्डको ट्ेरलरमा ३ करोड ३७ लाखभन्दा माथि भ्युज थियो । सन् २०१६ मा प्रदर्शन भएको ‘वागी’ को यो सिक्वेल तेलुगु फिल्मबाट रिमेक गरिएको हो ।


युट्युब नेपाल ट्ेरन्डिङको दोस्रो नम्बरमा दीपेन केसी र सुमिनाको गीत ‘कहिले होला...’ को भिडियो परेको थियो । प्रवीण श्रेष्ठले निर्देशन गरेको भिडियोमा कार्टुन्ज क्रुलाई देख्न सकिन्छ । ११ लाख भ्युजसहित २ हजार कमेन्ट आएका छन् । ‘पण्डितजीले बेली डान्स गरेछन्,’ चुनु लिम्बू र पूर्वी रानाले लेखेका छन्, ‘साह्रै हाँस उठ्यो । पण्डित सही रैछन् ।’ कार्टुन्ज क्रुकी आश्मा विश्वकर्मालाई कुर्तामा क्युट देखिएको बताउनेहरू पनि भेटिए ।


हास्य टेलिशृंखला ‘भद्रगोल’ को पछिल्लो शृंखला सोमबार धेरैले हेरे । ट्रेन्डिङको तेस्रो स्थानमा रहेको आधा घण्टाको शृंखला हेरेर आँखा रसाएको प्रतिक्रिया सबैभन्दा बढी आएको पाइयो । ‘यसपालिको भद्रगोल साँच्चै राम्रो लाग्यो,’ तुलसीराम गैरे लेख्छन्, ‘आँसु नै आयो मेरो ।’ पोस्टरमा पाँडे, सिते बा, खुपिका बाउ, काकुहरू एउटै बाइकमा सवार देखाइए पनि भिडियोमा त्यो सिन नआएकोमा माङ्पाहाङ संसार नामक युट्युब प्रयोगकर्ताले आश्चर्य जनाएका छन् । ‘पर्खिंदापर्खिंदै कार्यक्रम सकियो ’ उनको भनाइ ।


चौथो स्थानमा दोहोरी ब्याटलपछि पाँचौंमा बलिउड अभिनेत्री श्रीदेवीको निधनबारे भिडियो थियो । तर, भिडियो अलि पुरानो र कमेन्ट डिसेबल गरिएकाले त्यो श्रीदेवीसम्बन्धी नै हो भनेर दाबी गर्न नसकिने खालको छ । अनुहार नदेखाइएको पार्थिव शरिरमा फूलमाला चढाउन आएका सेलेब्रिटी र पारिवारिक सदस्यहरू भिडियोमा देखिन्छन् । क्यामराले श्रीदेवीका पति बोनी कपुर, सौतेनी छोरा अर्जुन, देवर अनिल कपुरलगायतलाई फोकस गरेको छ । त्यसमा ६६ लाखभन्दा बढी भ्युज थियो ।

प्रकाशित : फाल्गुन १५, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?