कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

१३ वर्षपछि अशोक

काठमाडौँ — पछिल्लो पटक ‘यो मायाको सागर’ निर्देशन गरेर निर्माणमा मात्रै आफूलाई सीमित राखेका अशोक शर्मा झन्डै १३ वर्षपछि पुन: निर्देशनमा आएका छन् । खगेन्द्र लामिछानेको पटकथामा अशोकले बिहीबार फिल्म ‘जय भोले’ को निर्माण घोषणा गरेका छन् । दुई युवा साथीबीचको भावनात्मक मित्रता र प्रेम कथावस्तुलाई समेटिएको उक्त फिल्मको मुख्य भूमिकामा खगेन्द्र स्वयं र सौगात मल्ल रहने भएका छन् ।

१३ वर्षपछि अशोक

‘मेरो क्रिएटिभिटी पुन: चम्केर आउँछ भन्नेमा विश्वास लिएको छु,’ धेरैपछि निर्देशनसँगै निर्माण थाल्दै गर्दाको जोसिलो मुद्रामा देखिएका शर्माले भने, ‘मैले पहिले बनाइरहेकै जस्तो फिल्म फेरि पनि बनाउन सक्थें होला । तर यो फिल्म दुई धारबीचको फयुजन हो ।’ निर्देशक शर्माले ‘पशुपति प्रसाद’ फिल्म हेरेपछि नै आफू खगेन्द्रको लेखन र अभिनय दुवैबाट अति प्रभावित भएको र भोलिपल्टै भेटेको प्रसंग उप्काउँदै थपे, ‘खगेन्द्र भाइलाई भेटेरै अब मैले फिल्म गरें भने तपाईंलाई नै एक्टर लिएर तपाईंकै कथामा मात्रै गर्छु भनेको थिएँ र अहिले त्यस्तै भयो पनि ।’ उनले खगेन्द्रको पटकथामा मर्म र मनोरञ्जन दुवै पाइने तर्क गर्दै आफ्नो टिमले राम्रो फिल्म बनाउने प्रयास गर्ने बताए ।


अभिनेता खगेन्द्रले भने अशोक शर्माजस्तो पुरानो मेकरसँग काम गर्न पाउँदा सिक्ने अवसर भएको भनाइ राख्दै भने, ‘म फिल्म क्षेत्रमा आएको पाँच वर्ष भएको छैन । ३५ वर्षदेखि यसै क्षेत्रमा क्रियाशील अशोक दाइसँग काम गर्दा पुराना धेरै कुरा सुन्न र बुझ्न पाएको छु । यदि यो फिल्ममा आबद्ध हुन्थिनँ भने यी कुरा गुमाउने रहेछु ।’ खगेन्द्रलाई प्राय: आफ्नै पटकथामा मात्रै फिल्म खेल्ने गरेको आरोप पनि लाग्छ । तर उनी भने यसको खण्डन गर्दै कार्यक्रममा भने, ‘कथा राम्रो लिएर कसैले ल्याउँछ भने म लेख्दै छोडिदिन्छु । आफैंले लेख्दालेख्दा म आफैं आजित भएको छु । मलाई मन छुने कथा भयो भने जसको भए पनि खेल्न तयार नै छु ।’ फिल्मकी अर्की कलाकार स्वस्तिमा खड्काले भने आफूले खगेन्द्र र सौगातसँगबाट सिक्न पाउने अपेक्षा राखेको बताइन् ।


फागुन १ गते शिवरात्रिदेखि झापा, इलाममा ३५ दिन लगाएर छायांकन हुने भनिएको ‘जय भोले’ आगामी दसैंको फूलपातीमा रिलिज गरिने बताइएको छ । किरण शर्मा, कृति शर्मा र अंकित शर्मा निर्माण टिममा रहेको फिल्मको छायांकन पुरुषोत्तम प्रधान, सम्पादन राजु ढुंगाना, नृत्य वसन्त श्रेष्ठ र द्वन्द्व निर्देशन रोशनविक्रम भट्टराईको रहने बताइएको छ । कमेडी सोसल ड्रामामा बनाइने भनिएको फिल्ममा बुद्धि तामाङ, सलोन बस्नेत, जयनन्द लामा, राजाराम पौडेल, रामचन्द्र अधिकारी, शारदा गिरी, सुरेन्द्र केसी, किशोर भण्डारी र अशोक शर्मासमेत कलाकारका रूपमा रहेका छन् । निर्देशक शर्माले फिल्म धार्मिक विषयवस्तुमा आधारित भने नरहेको बताए ।

प्रकाशित : माघ २८, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?