जुन गीतले चिनाए मुग्लिन

वैशाख १९, २०७४

विमल खतिवडा

मुग्लिन (चितवन) — राजधानी भित्रिनु वा बाहिरिनुपरे सबैको जम्का भेट हुने ठाउँ भनेकै मुग्लिन बजार हो । पूर्व ओहोरदोहोर गर्न अचेल सिन्धुली–बर्दिबास बाटो केही चल्तीमा भए पनि मुग्लिन महत्त्व कम भएको छैन । यो ठाउँले फिल्मी र ननफिल्मी गीतहरूमा पनि उत्तिकै ‘स्पेस’ पाएको छ ।

संयोग कस्तो छ भने, ‘मुग्लिन’ शब्द परेका गीतहरू हिट नै छन् । जनजिब्रोमा झुन्डिन सफल भएका छन् । जस्तो, फिल्म ‘ट्रक ड्राइभर’ को यो गीत : 

मुग्लिन झरे’सि
मज्जा आउला रेलीमाई टडक चढे’सि...

त्यो बेला मुग्लिन हुँदै पूर्व–पश्चिमका लागि यात्रु बसभन्दा बढी ट्रक छुट्थे । गाडी चढ्न समस्या नै झेल्नुपथ्र्यो । ट्रक चढ्न पाउने पनि भाग्यमानी नै मानिन्थे । विक्रमको ५० को दशकमा बनेको यो फिल्मले यात्रालाई जोड्न खोज्यो । गीतको भावअनुसार त्यो बेला मुग्लिन पुगेपछि ट्रक चढ्न पाउने उल्लेख छ । अशोक शर्मा निर्देशित उक्त फिल्मको यो गीतमा शिव श्रेष्ठ र करिश्मा मानन्धर नाचेका छन् । शिवका अनुसार, उक्त गीतको छायांकन भने धादिङको मलेखु बजारमा गरिएको थियो । गीत सुपर हिट भयो । 

यसपछि मुग्लिन शब्द राखेरै गाइएको ‘सजाय’ फिल्मको गीत पनि निकै रुचाइयो । २०५५ तिर गाइएको यो गीत अहिले पनि दर्शकश्रोतामाझ लोकप्रिय छ : 

म पनि जाउँला मुग्लिन बजार
ए माया पर्ख ल... 

कुन्दन खनालको यो गीत गायक/संगीतकार शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाले गाएका थिए । ‘यो गीतमा टिपिकल शब्दहरू प्रयोग गरिएका छन्,’ देविकाले भनिन्, ‘जुन गीतले चर्चित मुग्लिनलाई झनै चर्चित बनायो ।’ स्टेज कार्यक्रममा उनलाई दर्शकश्रोताले यो गीत नगाई बिदा हुनै दिँदैनन् रे । उनका अनुसार अहिले पनि यो गीत पहिलाजस्तै दर्शकश्रोताको रोजाइमा पर्ने गर्छ ।

‘त्यति बेला जताबाट जो आए पनि मानिस मुग्लिन बजार पुगेपछि खाना/खाजा नखाई, एक छिन बसेर रिफ्रेस नभई गन्तव्यतर्फ जाँदैनथे,’ उनले सम्झिन्, ‘त्यसैले सबैको प्यारो ठाउँ बन्यो मुग्लिन ।’ 

मुग्लिन पुग्दा उनलाई अहिले पनि स्याबासी मिल्छ । गीतमार्फत मुग्लिनलाई चिनाउन सहयोग गरेको भन्दै धेरैले प्रशंसा गर्छन् रे । 

गीतमा मायालुलाई फकाउँदै भेट हुने डेस्टिनेसन मुग्लिन बजार बनाइएका उदाहरण पनि छन् । लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने र लक्ष्मी न्यौपानेले गाएको एउटा गीतले भन्छ— 

आज मुग्लिन झरौं
भोलि त बसमा सरर
बुटवल हुँदै तुल्सीपुरैमा... 

२०६२ तिर आएको यो गीतले बजार ततायो । यसलाई दर्शकश्रोताले सुपरहिट बनाइदिए । यो गीत मुग्लिनमै बढी बज्थ्यो । प्राय: ट्रक, माइक्रो र यात्रु बसमा बजेको सुनिन्थ्यो । ‘त्यो बेला यो गीतको क्यासेट ६५ हजार प्रति बिक्री भयो,’ उक्त गीतका रचनाकार कृष्ण देवकोटाले भने, ‘१५ मिनेटमा लेखेको गीत सुपरहिट बन्यो ।’ कृष्णले उक्त गीत पोखराबाट काठमाडौंतर्फ जाँदा लेखेका थिए रे । मुग्लिन पुगेपछि उनलाई गीत फुरेछ ।

‘अहिले पनि यात्राको केन्द्रबिन्दु भनेकै मुग्लिन हो,’ पुरुषोत्तमले भने, ‘त्यो बेला ठाउँको नाम राखेर बढी गीत सिर्जना हुन्थे, त्यहीअनुसार क्यासेट पनि बढी बिक्री हुन्थ्यो ।’ 

लोकदोहोरी गायक/गायिका बिमाकुमारी दुरा, राजु परियार, ध्रुव ढकालको स्वर रहेको ‘मुग्लिन हुँदै आँबुखैरेनी ...’ ‘पापी रात’ फिल्मको ‘मुग्लिन बजारैमा, रोजेको मैले माया तिमीलाई हजारैमा...’ , ‘माया नमार’ फिल्मको ‘मुग्लिनपारि तरेर गण्डकी...’ ले पनि उत्तिकै चर्चा बटुले । ‘क्रोध’ फिल्मको ‘मुग्लिन बजार नघुमी भा’छैन सोल्टिनी...’ गीतले पछिल्लो समय बजार ततायो । 

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully