२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

३२ वर्षपछि ‘वासुदेव’

काठमाडौं — अभिनेता हरिहर शर्माले आफ्नो करिअरको सबभन्दा महत्त्वपूर्ण फिल्म ‘वासुदेव’ बनेको ३२ वर्षपछि आइतबार फेरि हेर्न पाए । चलचित्र समीक्षक समाज (फिक्सन) द्वारा अनामनगरको युनियन हाउसमा थालिएको साप्ताहिक फिल्म प्रदर्शनी तथा छलफल शृंखला ‘सन्डे सिनेमा’ मा फिल्म हेरेपछि उनले भने, ‘आफूले अभिनय गरेको भए पनि फिल्म हेर्ने मौका मिलेको थिएन ।’

३२ वर्षपछि ‘वासुदेव’

आख्यानकार डा. धु्रवचन्द्र गौतमको उपन्यास ‘कट्टेल सरको चोटपटक’ मा आधारित रहेर २०३९ सालमा सुटिङ सुरु भएको यो फिल्म २०४१ मा सार्वजनिक प्रदर्शनीमा आएको थियो । सन्डे सिनेमा शृंखलाको पहिलो फिल्मका रूपमा गरिएको ‘वासुदेव’ को प्रदर्शनीमा फिल्मका मुख्य अभिनेता शर्माका साथै निर्देशक नीर शाह र लेखक गौतम पनि उपस्थित थिए । 

राजधानीमा सन्डे सिनेमा

जबसम्म नेपालीले नै पटकथा लेख्दैनन् तबसम्म फिल्मको स्तरोन्नति हुँदैन भनेर चर्चित पुस्तकबाट फिल्म बनाउन थालेका थियौं ।
– नीर शाह

समाजमा अहिले वासुदेव सरको जस्तो आदर्श पनि छ तर पैसाकै पछि लाग्नेको उनीहरूमाथि बोलबाला छ ।
– हरिहर शर्मा

उपन्यास र फिल्मको तुलना हुन सक्दैन, तर त्यसबेला जेजस्तो फिल्म बन्यो त्यो निकै राम्रो थियो ।
– डा. ध्रुवचन्द्र गौतम

निर्देशक शाहले त्यस बेला फिल्म बनाउँदाका अनुभव सुनाएका थिए । ‘त्यस बेला धेरै झमेला भोगिएको थियो । हामीलाई सूचना विभागले ‘र स्टक’ मा धोका दिएर बिग्रिएको स्टक दिएको थियो । १६ मिलिमिटरमा पहिलोपटक खिचिएको फिल्म, बढाएर ३५ मिलिमिटर बनाउनुपर्ने । र, स्टक बिग्रिएको भएपछि टेक्निकली फिल्म सोचेजस्तो राम्रो बनाउन सकिएन,’ उनले भने ।

पञ्चायतकालमा बनेको यो फिल्मलाई त्यसबेला सेन्सरले पनि दु:ख दिएको उल्लेख गर्दै उनले थपे, ‘त्यसअघि नेपाली फिल्मका पटकथा मुम्बईमा भएका देवु सेनलगायतका मान्छेले लेख्थे । हामीले जबसम्म नेपालीले नै पटकथा लेख्दैनन् तबसम्म नेपाली फिल्मको स्तरोन्नति हुँदैन भनेर चर्चित पुस्तकबाट फिल्म बनाउन थालेका थियौं । तर, सेन्सरलाई के मन परेन परेन, साह्रै दु:ख दिइयो ।’
एउटा आदर्शवादी लेक्चरर वासुदेव कट्टेलले भोगेका पारिवारिक, आर्थिक र विश्वविद्यालयका दबाबहरूको शृंखलाबारे बुनिएको फिल्ममा आदर्श र पैसाको रबाफ बोकी हिँड्ने दुई पात्रको टक्कर छ । फिल्ममा दुई नम्बरी पनि गर्न पछि नपर्ने महत्त्वाकांक्षी व्यापारीको भूमिकामा निर्देशक शाह आफैं छन् । फिल्ममा उद्योगपति विनोद चौधरीले पनि लगानी गरेका थिए । ‘मैले उहाँलाई उपन्यास पढ्न दिएको थिएँ तर फिल्म आएपछि उहाँ उति प्रसन्नचाहिँ हुनुभएन,’ शाहले भने । 

अभिनेता शर्माले फिल्ममा दुई नम्बरी व्यापारी र स्मगलरहरू यो देशलाई आवश्यक नभएको बताइए पनि नेपाली समाजमा अहिले त्यस्तै मान्छेको बोलबाला बढिरहेको बताए । ‘समाजमा अहिले वासुदेव सरको जस्तो आदर्श पनि छ तर पैसाकै पछि लाग्नेको उनीहरूमाथि बोलबाला छ,’ शर्माले भने ।
उपन्यासकार तथा फिल्मका पटकथाकार डा. गौतमले त्यसबेला पनि आफू यो फिल्मबाट सन्तुष्ट भएको बताए । ‘उपन्यास र फिल्मको तुलना हुन सक्दैन । तर, त्यसबेला जेजस्तो फिल्म बन्यो त्यो निकै राम्रो थियो,’ उनले भने ।

फिक्सन अध्यक्ष यज्ञशले चलाएको छलफलमा निर्देशक शाहले भने फिल्म पुस्तकजति राम्रो बन्न नसकेको स्विकारे । उनले त्यस बेला बजारको दबाबका कारण कथामा दायाँबायाँ गर्नुपरेकोमा पछुतो मान्दै भने, ‘कृष्ण मल्ल, शर्मिला (शाह) मल्लका सिक्वेन्सहरू, केही गीत र फाइटको दृश्य हामीले फिल्मको व्यापारिक पक्षलाई ध्यान दिएर थप्नुपरेको थियो,’ उनले भने, ‘मैले दबाबमा नपरी बनाउन पाएको भए त्यसरी थप्ने थिइनँ ।’ 

‘वासुदेव’ आफूलाई प्रिय र अप्रिय दुइटै विगत सम्झाउने फिल्म रहेको खुलाउँदै उनले सुनाए, “महाकवि देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री...’ मुम्बईमा रेकर्ड गरेको दिन नै यहाँ मेरो छोरोको मृत्यु भएको थियो ।” विगत जेजस्तो भए आफू यो फिल्मलाई फेरि बनाउने तयारीमा रहेको पनि उनले बताए । 
उक्त फिल्ममा शकुन्तला शर्मा, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सूर्यमाला खनाल, जितेन्द्र महत अभिलाषीले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् । 

 

प्रकाशित : वैशाख ५, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?